राजनीतिलाई हेर्ने दृष्टिकोण: बस्नेत
बुद्धबहादुर बस्नेत
प्यूठान ।
समाज सेवाको उच्चतम रुप नै राजनीति हो। यहाँ मात्र सेवाभावले होमिने हो, न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबमा। सही गन्तव्य तय गरी गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल प्रदान गरिरहेको हुन्छ। त्यही नै राजनीतिज्ञको विजय हो। समाज रुपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक विकासका हरेक पक्षहरुलाई त्यो देशको नेतृत्व र चिन्तन शैलीले निरन्तर परिस्कृत गर्दै लागेको हुन्छ।
एउटा कुशल राजनीतिज्ञले आफ्नो व्यक्तिगत जीवन र भविष्यबारे कहिल्यै सोच्दैन अनि त्यतातिर कहिल्यै अलमलिँदैन। उ समग्र मुलुक र जनताको प्रगतिसंग आफ्नो प्रगति भएको महसुश गर्दछ। संसारमा जति पनि समृद्द मुलुकहरु छन्, त्यसको पछाडि इमान्दार अनि कुशल राजनैतिक नेतृत्वकै चर्चा हुने गर्छ।
अमेरिकाले अब्राहम लिंकन पायो, अफ्रिकाले नेल्सन मन्डेला, क्युवाले फिडेलक्वास्ट्रो, सिंगापुरले लि क्वान यू, चीनले माओत्सेतुङदेखि सि जिनफिङसम्म, मलेसियाले मोहम्मद महावीर, भारतले महात्मा गान्धी, भियतनामले हो छि मिन्ह, रुसले लेनिनदेखि पुटिनसम्म जस्ता महान राजनीतिज्ञ पाए। उनीहरू जस्ता राष्ट्रसेवकहरुले ती मुलुकहरुको कार्य दिसा, कार्यशैली र भावी मार्ग स्पष्ट रुपमा तय गरेका छन्।
माथि उल्लेखित केही उदाहरणीय राजनीतिज्ञहरुले आफ्नो सुख सुविधाको विषयमा चिन्तन गरेको भए के ती मुलुकहरु आज यो अवस्थामा पुग्न सम्भव थियो त? यसर्थ राजनीति वास्तवमै समाजसेवा र राष्ट्रिय हितको एउटा उच्चतम रुप हो। यो स्वयम् व्यक्तिलाई तत्काल प्रतिफल दिने व्यापारिक विषय किमार्थ हुन सक्दैन।
यदि राजनीतिलाई व्यापार र व्यापारीले राजनीति सोच्यो भने उसले व्यक्तिगत प्रतिफलको हिसाबकिताब गर्छ, नाफाघाटाको जोडघटाउ गर्छ। व्यक्तिगत पद प्रतिष्ठाको हिसाबकिताब गर्छ। ‘मैले यति धेरै लगानी गरेँ, मुलुकले मलाई के दियो’ भनि राज्यसंग प्रश्न गरिरहन्छ अनि मुलुकको भविष्यभन्दा पनि आफ्नो आर्थिक, पारिवारिक चिन्ताको साँघुरो घेराबाट मुलुकलाई बन्धक बनाइ रहन्छ र राजनैतिक धार परिवर्तन गरी आफ्नो पोल्टामा मात्र पार्ने कुचेष्ठा गरिरहन्छ।
नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्ने हो भने पृथ्वीनारायण शाहको मुलुक एकीकरणको अभियान पछिका राजनीतिज्ञभन्दा पनि वंश परम्परामा आधारित शासकहरुको शासन सत्ता स्थापित भयो। यो लामो समय चल्यो। जब जंगबहादुरको उदय भयो, शाह वंशीय राज कमजोर भयो। राणाहरु जनताप्रति क्रुर देखिए, जनताका अधिकार भन्ने केही रहेनन्। हुकुमी शासन चलिरह्यो।
त्यसभित्र पनि विभिन्न जालझेल, षड्यन्त्र, ठुला-ठुला काण्ड, नरसंहार, कोत पर्व जस्ता अमानवीय संहार मच्चाई सत्ता हातमा लिने, सत्ताको वागडोर सम्हाल्ने र मात्र राणाहरुको हित तथा समृद्धिका खातिर सिंगो राज्य स्रोतको दुरुपयोग भई रह्यो। यो प्रक्रिया १०४ वर्ष चल्यो। देश शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायका हिसाबले पुरै अन्धकारमा डुब्याे। २००७ सालमा राणाहरुको चरम दमनले आत्तिएका जनता र अधिकार कुण्ठित गरी अपमानित भएका राजा त्रिभुवनबीच राणा शासनको अन्त्य गर्ने योजना बन्यो र त्यो सफल भयो।
अब जनताको छोरो निर्वाचनका माध्यमबाट प्रधानमन्त्री हुने व्यवस्था सृजना भयो। तथापि शिशु प्रजातन्त्र माथि वैदेशिक हस्तक्षेप बढ्यो। विशेष गरी दक्षिणतर्फको छिमेकीले व्यवस्थाभित्र खेल्न सुरु गर्यो। आफ्नो स्वार्थ अनुरुप सरकार र राजाबीचको सम्बन्धमा भाजो सृजना गरी नेपालको अपार जलसम्पदामाथि गिद्दे दृष्टि राखियो। फलस्वरूप २०११ सालमा मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा कोशी समझौता भयो। त्यो नितान्त देशकाे हितविपरीत थियो। कोशी सुम्पनुको पछाडिको रहस्य कांग्रेसको कुर्सी मोह नै थियो। त्यो ठुलो राष्ट्रघात थियो। स्वार्थ र सत्ता केन्द्रित राजनीति फेरि २०१५ सालमा नेपालको अर्को ठुलो नदी गण्डकी विपी कोइरालाको भारत भ्रमणका बेला सुम्पियो। त्यस पछाडिका रहस्य पनि कुर्सी मोह नै थियो।
प्रजातान्त्रिक भनिएको पार्टी नेपाली कांग्रेसले भारतको दवावमा ठुलो राष्ट्रघात भयो। यस्ता राष्ट्रघाती राजनीतिज्ञहरुका कारण जनतामा फेरि राजनीतिप्रति वितृष्णा पैदा भयो। राजा महेन्द्रलाई गण्डकी सम्झौतामा फसाइएका कारण २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाए र पञ्चायती शासन व्यवस्था लागु गरियो। यो व्यवस्थामा राजा महेन्द्रले नेपालको उत्तर तर्फको छिमेकी राष्ट्रसंगको सम्बन्ध विस्तार भयो।
राजा महेन्द्रले चिनियाँ ‘कम्युनिस्ट पार्टीका महान हस्ती जनवादी गणतन्त्र चीनका राष्ट्रपति क. माओत्सेतुङसंग मित्रता बढाए। नेपालमा सडक पूर्वाधार र उद्योगहरु स्थापना भए। त्यसैगरी कम्युनिस्ट मुलुक रसियासंग पनि मित्रताको हात बढाइयो र महेन्द्र राजमार्गको झन्डै आधा हिस्सा सोभियत रुसको सहयोगमा निर्माण भयो। चीन, सोभियत रुस, डेनमार्क, बेलायत, अमेरिका जस्ता ठुला-ठुला मुलुकहरुले नेपाललाई सहयोग गरेको भारतलाई पटक्कै मन परेको थिएन।
यता, पञ्चायती शासकहरु जनतालाई न्याय दिने सवालमा अलि अनुदार थिए। तिनीहरु पनि राजालाई गुमराहमा पारेर राणा शैली अवलम्बन गर्ने गर्थे। जसको कारण भौतिक पूर्वाधार विकासमा तीव्रता देखिएतापनि जनतालाई राजनैतिक अधिकार नदिँदा पञ्चायती व्यवस्थाप्रति जनताको वितृष्णा स्वरूप २०४६ सालमा बहुदलीय व्यवस्था उदय भयो।
२०४६ सालको प्रजातन्त्रलाई पनि शिशु प्रजातन्त्र नै भनियो। २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्याे तर त्यो आपसी खिचातानी र निहित स्वार्थका कारण २ वर्ष पनि टिकेन। त्यो राजनीतिको महान अवसर कांग्रेसले आपसिक लहका कारण गुमायो। जनाधिकारका चासोभन्दा पनि सत्ता स्वार्थ बढी देखियो। त्यो राजनीति २०१७ सालमा खाएको ठक्करले पनि जनताको सेवामा समर्पित हुन सकेन। अस्थिर राजनीति र दलीय व्यवस्थाले देश दलदलमा फस्यो।
स्थानीय ठुला उद्योगहरु भारतीय चाहनाअनुरुप धमाधम बन्द हुन् पुगे, फेरि देश दुर्गतीको दुस्चक्रमा फस्यो। २०५० सालमा कांग्रेस र एमालेको मिलेमतोमा सत्ता टिकाउन भारतलाई अर्को ठुलो-ठुलो जलसम्पदा महाकाली सुम्पिए। देशले अपुरणीय क्षति बेहोर्नु पर्यो। त्यो श्रृंखलाबद्ध राष्ट्रघातले नेपाली मन छियाछिया भयो। सिंगो देश घाइते भयो। देशको शान र मानमा आँच आउने काम भयो। राजनीति र नेताहरुप्रति अविश्वास यसले पैदा गर्यो। यसरी सामन्ती र अर्धसामन्ती चेतनाका राजा र दलहरूले यो देश र जनताको हित गर्न सक्दैनन्।
राजनीति निकै नै दुषित भयो। देश-विदेशीहरुको क्रिडास्थल बन्यो। मुलुकको अर्थतन्त्र धरासायी बन्यो। उत्पादन र निर्यात ठप्प भयो। यही ठम्याइका कारण त्यो उच्च तहको समाज सेवाको रुप राजनीतिलाई पूर्ण रुपमा सुदृढ गर्नुपर्छ। सामन्ती र अर्धसामन्ती चेतका शासकहरुको समुल नष्ट गरी सामन्तवादलाई जरैदेखि उखेली नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुपर्छ। राजनीतिलाई पूर्ण रुपमा देश र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मुल आशयका साथ महान जनयुद्धकाे थालनी भयो। यसले सामन्ती सत्ताको जरो हल्लायो, साम्राज्यवादी र विस्तारवादीहरुको पनि होस् खुलायो।
जनता मुलुकको मुक्तिका लागि स्वतस्फूर्त जनयुद्धमा लामबद्द भए। हजारौँ हजारले आफ्नो ज्यान, परिवार, सम्पत्ति, सुख सुविधा केही कुराको प्रवाह नै नगरी मुलुक र जनताको मुक्तिका लागि बलिदानी पूर्ण संघर्षमा लामबद्ध भए। यसले नेपाली राजनीतिलाई तरंगित गर्यो, बिग्रिएकाहरुलाई सच्चिन बाध्य बनायो।
गणतन्त्र चाहिँदैन भन्नेहरुलाई चाहिन्छ भन्ने बनायो। साँच्चिकै राजनीतिले ठुलो फड्को मार्यो। जसको फलस्वरूप १० वर्षे जनयुद्धको जगमा २०६२ सालमा राजा ज्ञानेन्द्रको व्यवहारबाट दिक्दार भएका बहुदलप्रेमी सात दल र नेकपा माओवादीसंग १२ बुँदे समझदारी बन्यो। त्यही समझदारीमा टेकेर २०६२/०६३ मा १९ दिने जनान्दोलन भयो। राजतन्त्रको सदा सदाका लागि अन्त्य भयो। राजा दरबार छोडेर हिँडे।
अन्तरिम संविधान बन्यो र संविधान सभाको चुनाव भयो। २०७२ सालमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। यो संविधानले सामन्ती सत्ताले पछि पारेका दलित, मधेशी, जनजाति, मुस्लिम, महिला, अन्य अल्पसंख्यक जाति, भाषा, धर्म, क्षेत्र, लिंग सबैको समावेशी सिद्धान्तको आधारमा राज्यका सबै अंगमा सुनिश्चितता गर्यो। यही हो, राजनीति र समाजसेवाको उच्चतम रुप। २०७२ को संविधान जारी भैसकेपछि नेपालको राजनीतिप्रतिको आकर्षण एकाएक बढ्यो। चेतनशील युवाहरु राजनीतिमा अग्रसर भए, यसैका माध्यमबाट यही महान अवसरको उच्चतम प्रयोगबाट मात्र देशको चौतर्फी विकास गर्न सकिन्छ।
देश र जनताको सेवा गर्न सकिन्छ भन्ने ठम्याई २०७९ को आम चुनावसम्म आइपुग्दा पूर्ण रुपमा स्थापित हुन पुगेको छ। नेपालको बिग्रिएको राजनैतिक प्रणालीलाई सही मार्गमा ल्याई तमाम होनहार युवाहरुलाई राष्ट्र सेवामा लामबद्ध बनाउनु नै १० वर्षे महान जनयुद्धको महत्वपूर्ण उपलब्धि हो। आज नेपालको संसदमा देखिएको दृश्यले अझ माओवादी जनायुद्धलाई गर्विलो बनाएको छ।
महान जनायुद्ध र जनान्दोलनले लिएको उद्देश्यअनुरुप देश पूर्ण रुपमा संघीय संरचनामा गइसकेको छ। यसलाई एउटा राजनैतिक अवसरका रुपमा तमाम नेपालीले प्रयोग गर्न पाउने छन्। त्यही भावनाअनुसार जनयुद्ध र जनक्रान्तिका महानायक क. पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्नु मुलुकको लागि एउटा ऐतिहासिक अवसर हो।
प्रचण्डको आँखामा यो देश समृद्द पार्ने सुन्दर सपना छ। त्यो ३० वर्षको कलिलो उमेरमा हेडमास्टरको जागिर छोडी मुलुकको सुन्दर सपना देखेर राजनीतिमा होमिनुभएको थियो। त्यही सपना पूरा गर्ने यो महान अवसर खेर जाने छैन भन्ने पूर्ण विश्वास सिंगो देश र जनतालाई छ। यो देशको हित चाहने विश्व भूगोलका सबै राष्ट्रहरुको सपना पूरा गर्नुहोस्, यही शुभकामना व्यक्त गर्दछु।