समय : ०२:४३ pm | सोमबार , श्रावण १८ गते २०८३

जुम्रीमा लघु व्यवसाय खेल तालिम सुरु

स्वर्गद्वारी अपडेट | श्रावण १८ गते २०८३

प्यूठान।लघु व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा व्यवसायलाई थप सफल बनाउन सहयोग पुर्‍याउने उद्देश्यले प्यूठानको जुम्रीमा तीनदिने लघु व्यवसाय खेल तालिम मंगलबारदेखि सुरु भएको छ।

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्यूठानको आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

संस्थाका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाकी उपाध्यक्ष राधा पुलामीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले जिल्लामै पहिलो पटक उद्यमी व्यवसायीहरूका लागि नवीन र व्यवहारिक तालिम आयोजना गरिएकोमा आयोजक संस्था र नेफ्स्कुनप्रति धन्यवाद व्यक्त गरे। उनले व्यवसाय विकास र सीपमूलक उद्यम प्रवर्द्धनका कार्यक्रमहरूमा प्यूठान नगरपालिका सधैं सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

श्रेष्ठले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सदस्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका गतिविधि वडा, नगरपालिका र जिल्लाकै लागि उदाहरणीय रहेको उल्लेख गरे।

तालिमको सहजीकरण नेफ्स्कुनका वरिष्ठ अधिकृत कोमलराज अधिकारी र अधिकृत रविन्द्र श्रेष्ठले गरिरहेका छन्। तालिममा संस्थाका कर्मचारी तथा लघु व्यवसायी सदस्य गरी २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा खेलको माध्यमबाट व्यावसायिक सोचको विकास, आय–व्यय तथा आर्थिक अभिलेख व्यवस्थापन, बिक्री पूर्वानुमान, लागत गणना, व्यवसायमा देखिन सक्ने चुनौतीहरूको पहिचान, जोखिम व्यवस्थापनलगायत विषयमा सहभागीलाई व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

यो पनि पढ्नुहोस्