समय : ०७:१५ am | शुक्रबार , मंसिर ७ गते २०८१

म असार १५ को किसान

स्वर्गद्वारी अपडेट | असार १८ गते २०८०

जब आकाश गड्गडाएर वर्षिन्छ झरझर, मेरो दिलको सपना बाली भई लहराउँछ’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको किसान कवितामा उद्धृत काव्यात्मक उक्तिले एकपटक फेरि मेरो चेतनाको ढोका ढक्ढकाएको छ। जब असार महिना सुरु हुन्छ, आकाशमा बादल मडारिन्छ अनि असार १५ नजिकिँदै जान्छ, तब मेरा मनमा विभिन्न विचारहरु, मस्तिष्कमा कालो बादल अनि सेतो हिमाल, हिमालबाट बग्ने कञ्चन नदीनालाहरुको चित्र एकैचोटी खेल्छन् अनि म द्वन्द्वमा फसे जस्तो हुन्छु।

तर म आकाशको बादलसंगै आउने असार १५ को किसान हुँ। मैले राखेको धानको बिउको ठिक माथि मडारिरहने त्यो बादलले मेरो असार १५ लाई बुझ्दैन होला। कतै त्यो बादल वर्षामा परिणत नभई हुरीले मेरो बिउभन्दा धेरै पर लगेर वर्षा विसर्जन त गर्दैन? प्रकृति न हो, मान्छेको बसमा कहाँ हुन्छ र?  छेउमै बग्ने नदीको पानी त मेरो आर्थिक अभावले हो या राज्यको अदुर दृष्टिका कारण मैले गाग्रोमा बोकी ल्याएर राखेको बिउलाई तलबाट टुलुटुलु हेर्दै दौडिरहन्छ।

असर १५ लाई २०६१ सालदेखि राज्यले धान दिवसको रुपमा निरन्तर मनाउँदै आइरहेको छ। उष्ण तराईका फाँटदेखि उच्च हिमाली भेग जुम्लासम्म विभिन्न जातका धान खेती हुने हाम्रो देश अत्यन्तै सुन्दर छ। मानो रोपी मुरी फलाउने दिनका रुपमा असार १५ परिचित छ। तर विश्व तापमानमा आएको परिवर्तनका कारण मनसुनको सुरुवातमा ठूलो परिवर्तन छ, असर छ। फेरि पनि हामीले त्यही असार १५ अर्थात् धान दिवस घोकेका छौँ।

बडो बिडम्बना, बडो विचित्र यो छ कि हामीले कहिल्यै आकाशतिर हेर्नै पर्दैन, यदि थोरै विवेक पुर्याइयो भने। यो वर्ष ठूलो खडेरी छ। तराईका ८० प्रतिशत भू-भागमा किसानले धानको बिउ राख्न पाएका छैनन्। तर १५ गते त धान रोप्नु छ। कति पीडा छ किसानलाई। तर धेरैलाई धान दिवसको शुभकामना लेख्न हतार भइरहेको छ।

फेसबुकका भित्ताहरुमा लेखिएका एक धर्के शुभकामनालाई बङ्गालको खाडीबाट उठ्ने त्यो बादलले बुझोस्, असार १५ अगावै आवश्यक मात्रामा वर्षात् होस्, मेरो पनि चाहना छ। तर एक धर्के शुभकामनाको ‌औपचारिकता अर्थहिन ठान्दछु म। तर यही असार १५ को अवसर पारेर नेपालका कृषिमन्त्रीलाई विशेष आग्रह गर्न चाहन्छु कि किसानले आगामी दिनमा आकाशतिर हेर्नै नपर्ने गरी धेरै सिँचाइका आयोजना उद्घाटन गर्नुहोस्, शुभारम्भ गर्नुहोस् मेरो शुभकानना।

मलाई थाहा छ, मेरो देशको माटो उर्वर छ तर यसलाई जलको अभाव छ। हाम्रो अपार जलसम्पदा खेर गइरहेको छ। यो जलसम्पदालाई पुँजीको रुपमा हामीले परिणत गर्न सक्यौँ भने सबै किसानले एकै दिन असार १५ मा धान रोपी सक्नेछन्।

मानिस, पशुपन्छी, चराचुरुङ्गीलगायत तमाम चराचर जगतलाई बाँच्नको लागि अन्न चाहिन्छ। अन्न बालीमा धान बालीलाई एउटा मेरुदण्डको रुपमा लिइन्छ र त्यो सत्य पनि हो। धानको पराल, भुस, चामल बहुउपयोगी वस्तु हुन्। सरसर्ती हेर्दा धान अरु बाली जस्तै सामान्य देखिए पनि उपयोगिताको हिसाबले यो नितान्त भिन्न छ। पृथ्वीमा धेरै स्वादका (प्रकार) धानहरु अस्तित्वमा छन्।

विकसित मुलुकहरु विशेष गरी जापानले धान बालीको अनुसन्धानमा ठूलो फड्को मारिसकेको छ। हामीले पनि उच्च गुणस्तरको चामल चाहिँदा अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ। हाम्रा रैथाने जातका जस्तै जुम्लाको मार्सी, दाङको तिल्की, कपिलवस्तुको काला नमक, बर्दियाको बासमती, प्यूठानको जडन धानहरु आज लोप हुने अवस्थामा किन पुगे त्यतातर्फ हाम्रो ध्यान जान जरुरी छ। यदि माथि उल्लेखित रैथाने जातका धान बाली संरक्षण गर्न सक्यौँ भने धान खेतीमा हामीले अर्को फड्को मार्ने छौँ।

असार १५ को २/४ दिनअघि पछि मात्र राज्यको ध्यान धानमा जानुले तराईका अधिकांश भू-भाग बाँझै छन्। ती फाँटहरुले धानको बेर्ना श्रावणको अन्तिमसम्म देख्न पाए भने पनि फाँटहरुले आफूलाई भाग्यमानी ठान्नेछन् भने असार १५ को किसानले करिब २ महिना ढिलै जन्मिए पनि जन्मेको महसुस भने पक्कै गर्नेछन्।

नुवाकोट जिल्लाका विशाल फाँटहरुले चैत्र १५ मै धान रोपे फेरि श्रावण १५ मा रोप्नको लागि अर्को बिउ तयार भैसक्यो। धादिङका टारी खेतहरुले पनि त्यो अवसर जुराइसके। तर यता त्यही नुवाकोट, धादिङ हुँदै आएको त्रिशुली नदी चितवन, नवलपरासीको बिचबाटै बाँझा र सुख्खा जमिनहरु नियाल्दै, रुँदै, कराउँदै, भक्कानिँदै, छटपटाउँदै सुस्तामा गएर एकछिन रोकिन्छ। अनि अमिलो मान्दै छुट्टिएर कसको कब्जामा परेछु बरै भनी भारी मन बनाएर आफ्नो वरिपरीका सबै फाँटहरुलाई न्याय दिन नसकेको महसुस गरी पासो थापे तर्फ लाग्छ।

सुस्तामा सप्तगण्डकी रोएको त्यहाँ पुग्ने जो कोहीले सहजै महसुस गर्न सक्छ। ठिक त्यसैगरी पूर्वमा सप्तकोशीले सुनसरी, सप्तरी, सिराहा, धनुषालगायतका जिल्लाका फाँटहरु काकाकुल जस्तै तड्पिएको महसुस हुँदा हँदै पनि बेचिएकी चेली जस्तै गरी लुरुलुरु आफ्नो मार्ग बदल्दा कोशी व्यारेज पुग्ने चेतनशील प्राणीले पक्कै पनि महसुस गर्दा हुन्।

म पूर्वी तराईको असार १५ को किसान हुँ, राष्ट्रिय योजना आयोगका विज्ञ र नेपाल सरकारका चेतनशील उच्च पदस्थहरुलाई यहीँबाट धुलोमा फल्ने धानको बिउ बोकेर आउन निमन्त्रणा पठाएको छु। तपाईंको निमित्त हिलो खेल्नको लागि छोराछोरीहरुलाई जर्किन र बोतलमा पानी ल्याएर एउटा सानो गरो हिलाई दिन भनेको छु।

तपाईंसँग आउने फोटो ग्राफरलाई टाढा टाढासम्मको फोटो नखिच्न भनी सिकाएर ल्याउनु होला। फेरि उसको क्यामेराले कोशी नदीको पानीको फोटो खिच्यो भने जनताले मलाई कोशीको पानी ल्याएर धान रोप्न नसक्ने अल्छी आकाशे किसान भन्लान्। फोटो खिच्नेहरुले मलाई सराप्लान्। त्यसैले त्यो क्यामेरामेनलाई पनि कुरो बुझाएर ल्याउनु होला। तिम्रो क्यामेराले हामीले सुटुक्क दिएको नहरको फोटो नखिच्नु, पछि साउनमा बाढी आउँछ कोशीले तटबन्ध नाघेर आफैँ हाम्रो खेतमा आइपुग्छ। त्यतिबेला मात्र तिम्रो क्यामेराले फोटो खिच्नुपर्छ भनी राम्रोसँग सम्झाएर आउनुहोला। नत्र फेरि त्यो छुचो क्यामेरामेनले बित्यास पार्ला।

हामी सबै किसान मिलेर अस्तिमात्र कोशी र गण्डकीका भ्यागुताहरुको विवाह गरिदिएका छौँ। असार १५ मा कसो पानी नआउला, अवश्य आउँछ। त्यति धेरै किसान जम्मा भएर पूरै विधि विधानका साथ विवाह सम्पन्न गराएका छौँ। त्यसै दिन आकाशमा कालो बादल पनि फाट्टफुट्ट देखापरेको थियो।

म असार १५ को बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तुको किसान पूरै तयारी अवस्थामा छु। राति अबेरसम्म आकाशमा बादल छ कि छैन भनी ड्युटी बसेको छु। असारको जुन मलाई प्यारो लाग्दैन, त्यो बादलले छेकिएकै राम्रो। हरेक असारका प्रत्येक बिहानीहरुमा पिपलको फेदमा जल चढाउन भुलेको छैन। तैपनि किन हो बादलले मेरो आकाश छोप्दैन। पात्रोमा पनि पानी आउँछु भनी लेखेको छ भन्नी सुनेर धानको बिउ उमारेको छु।

हाम्रा बाबु बाजेको पालामा त यस्तो खडेरी पर्दैन थियो रे। हामीले के पाप गरेका रहेछौँ कुन्नी पछिल्लो समय लामो खडेरी मात्र परिरहन्छ। सुनेको छु गण्डकीको पानी ल्याएर धान रोप्न मिल्दैन रे! किनकी ती त विवाह गरी अर्कैको घरमा गइसकेकी चेली हुन्, फेरि फर्काएर ल्याउन मिल्दैन रे भन्ने सुनेको छु। कसले बेचे होला मेरो गण्डकी, मेरो कोशी, मेरो महाकाली, म अलमलमा परेको छु। राजनीति म बुझ्दिनँ। मेरो धर्म धान फलाउनु मात्र हो। नदीनाला बेच्ने त ठूला मान्छे होला नि! ठूला मान्छेहरु मेरो नदी बेच्ने छन्, सायद त्यही पैसा होला अस्तिको चुनावमा एउटा विएर खानु भनेर दिएर गएका थिए। फेरि ५ वर्षपछि आउँछु भनेका छन्। खडेरीले मरिएन भने अवश्य भेट होला।

हो साँच्चिकै नेपाली किसानहरु भौतिक विकास, मानव विकास र सूचना प्रविधिको विकासले ठूलो फड्को मारिसक्दा पनि उही पुरानै हालतमा छन्। अब प्रश्न उठ्छ किन यस्तो भयो? राज्यको ध्यान नपुगेर हो कि, किसानको चाहना नभएर हो कि, राज्यसँग सिँचाइ सञ्जालको विकास र विस्तारको आवश्यकता बोध नभएर हो कि निरीह किसानलाई जे गरे पनि हुन्छ भन्ने साेचले त पक्कै होइन होला। के कति कारणले हाम्रा नदीनालाहरुमा बग्ने पानी आधुनिक नहर, कुलोमार्फत फाँटहरुमा पुग्न सकेका छैनन्। त्यो नै अहिलेको गम्भीर सवाल हो।

किसानको पहुँच राज्यसँग पुगेन कि किसान र राज्य जोड्ने पुल भएन? या कृषि मन्त्रालय, कृषि विभाग, जलस्रोत मन्त्रालय, सिँचाइ विभागले मुलुकको कृषि क्षेत्र र यसको आवश्यकताको विषयमा ध्यान जान सकेन। यसका कारण आज हाम्रा जमिनहरु बाँझा छन्। किन हाम्रा नदी खोलामा बग्ने पानी वर्षौँदेखि खेर गएको छ। एकपटक आत्म समीक्षा गर्न म सबैमा आग्रह गर्दछु।

यसको दीर्घकालीन समाधान र दीगो सिँचाइ व्यवस्थापनका लागि नेपाली किसान र तिनका प्रतिनिधि संस्था, सरोकारवाला, राज्यका निकाय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त विज्ञहरुको सम्मेलन राज्यको तर्फबाट आयोजना गरी एउटा ठोस र दूर्त गतिमा सम्पन्न गर्ने सिँचाइ आयोजना छनोट गरी हामी संसारको जलस्रोतको दोस्रो धनी देश, संसारको धानको धनी देश, गहुँको धनी देश, आलुको धनी देश, प्याजको धनी देशको रुपमा परिचित गराउन सम्भव छ। त्यसका लागि पहाडी जिल्लाहरुमा बग्ने साना तथा ठूला नदीखोलाहरुबाट, पाइपको माध्यमबाट दिगो सिँचाइ आयोजनालाई उच्च प्राथमिकता राखी अघि बढ्न सके अहिले भइरहेको जनशक्तिको पलायन स्वत रोकिने थियो र कृषिमा बहुआयामिक विकास हुने थियो।

ठिक त्यसैगरी तराईका सबै जिल्लाहरु पूर्वदेखि पश्चिमसम्म ठूला नदीहरुबाट विशाल नहरहरु निर्माण गरी सिँचाइ र जलमार्गको रुपमा प्रयोगमा ल्याउन सकिन्छ र त्यो सम्भव छ। तसर्थ, यसतर्फ राज्यको ध्यान जान जरुरी छ। जसले गर्दा विकास निर्माणका क्रममा ठूलो भलुममा रोजगारी सिर्जना भइ व्यवसायिक कृषिमा सहजता र सरलता सिर्जना हुन्छ। दक्ष जनशक्तिले स्वदेशमै आफ्नो भविष्य देख्नेछन् र बर्सेनि पलायन भैरहेको मानवीय पुँजी रोकिने छ। मुलुक कृषि उपजमा पूर्णरुपमा आत्मनिर्भर हुनेछ। त्यसका लागि फेरि पनि सिँचाइमै जोड दिनसके असार १५ पूर्णरुपमा सार्थक हुनेछ भन्ने तमाम नेपाली निर्दोश किसानहरुको तर्फबाट विश्वास राख्दछु। सधैँ किसानले आकाशको भरमा असार १५ मनाउन नपरोस् भनी सम्बन्धित निकायको ध्यानकर्षण गर्दै जमिन र जलको फ्यूजनका निमित्त राज्यसंग जोडदार माग गर्दछु। धान दिवस अर्थात् असार १५ को सबैमा शुभकामना !!

(लेखक अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उप महासचिव हुन्।)

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्