समय : ०३:५९ pm | बुधबार , मंसिर २ गते २०८३

प्यूठानमा बिष्टको ‘रातोमाटोको कथा’ म्युजिक भिडियो छायाङ्कन

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८३

प्यूठान । साहित्यकार, गीतकार तथा सर्जक विकास बिष्टले आफ्नो नयाँ सिर्जनाका रूपमा ‘रातोमाटोको कथा’ म्युजिक भिडियोको प्यूठानमा छायाङ्कन गरेका छन्।

प्यूठान नगरपालिका–३, बिजयनगरमा जन्मिएर हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आएका बिष्टले गत हप्ता तिहारको अवसरमा जन्मभूमि प्यूठानको रातामाटा आएका बेला स्थानीय रहनसहन, परम्परा, ऐतिहासिक जीवनशैली र मौलिक संस्कृति झल्कने गरी म्युजिक भिडियोको छायाङ्कन गरेका हुन्।

तीन दशकदेखि कविता, गीत तथा साहित्यिक सिर्जनामा सक्रिय गीतकार, सर्जक तथा साहित्यकार बिष्टको शब्द सिर्जनामा तयार भएको यस गीतले जन्मभूमिप्रतिको आत्मीयता, माटोसँगको सम्बन्ध र गाउँघरको सम्झनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र सङ्गीतप्रति निरन्तर लगाव राख्दै आएका बिष्टले यस सिर्जनामार्फत मातृभूमिप्रतिको गहिरो माया र सामाजिक सरोकारलाई उजागर गर्ने प्रयास गरेका छन्।

बिष्टले यसअघि ‘मनमल्लिका’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका थिए। त्यस्तै, २०७१ सालमा ‘मनको बह’ गीत सङ्ग्रह प्रकाशित गरेका उनले ‘फेसबुकले के यस्तो गरायो’, ‘हाम्रो साक्षात्’, चलचित्र ‘नमेटिने घाउ’, ‘बुद्ध बर्न इन नेपाल’ लगायत दर्जनौँ गीत तथा म्युजिक भिडियोको सिर्जना र निर्माणमा योगदान पुर्‍याएका छन्।

‘रातोमाटोको कथा’ म्युजिक भिडियोको सिर्जनादेखि निर्माण र प्रस्तुतिसम्म प्यूठानसँग जोडिएका प्रतिभा, कलाकार तथा प्राविधिकहरूको सहभागिता रहेको छ। यसले जिल्लाको कला, संस्कृति र स्थानीय प्रतिभाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

म्युजिक भिडियोमा गीतकार विकास बिष्ट, गायक तथा सङ्गीतकार विनोद परियार र निर्देशक मुकेश नेपालीको संलग्नता रहेको छ। कोरियोग्राफी टोलीदेखि छायाङ्कनका लागि छनोट गरिएका स्थानसम्म स्थानीय परिवेश र प्रतिभालाई प्राथमिकता दिइएको छ। पुरुष मोडलका रूपमा प्यूठानकै कलाकारले अभिनय गरेका छन् भने महिला मोडलका रूपमा चर्चित मोडल जुनु बी.के.ले अभिनय गरेकी छन्। भिडियोमा प्यूठानका विभिन्न क्षेत्रका कलाकार तथा स्थानीय व्यक्तिहरूको समेत सहभागिता रहेको छ।

यस सिर्जनात्मक योजनालाई साकार पार्न गायक तथा सङ्गीतकार विनोद परियारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। त्यस्तै, निर्देशक मुकेश नेपाली, मोडल जुनु बी.के. तथा सम्पूर्ण प्राविधिक र कलाकार टोलीले देखाएको सद्भाव, सहकार्य र व्यावसायिक प्रतिबद्धताले म्युजिक भिडियो निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाएको निर्माता बिष्टले बताए।

म्युजिक भिडियोमार्फत प्यूठानको प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्नुका साथै जिल्लाभित्र रहेका कला, सङ्गीत, अभिनय र स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। विशेषगरी प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको माटो, भाषा, संस्कृति र पहिचानलाई सिर्जनामार्फत जोड्ने प्रयासका रूपमा यसलाई अर्थपूर्ण मानिएको छ।

गीतका केही पङ्क्तिले पनि प्यूठानको माटो, बाटो र प्रेमबीचको आत्मीय सम्बन्धलाई उजागर गरेका छन्—

“रातोमाटो, किटको बाटो बस्यो माया मुटुको चार पाटो”

त्यस्तै, ‘बार्दलीमा बतासी’ जस्ता भावपूर्ण शब्दले गीतलाई थप मौलिकता र सांस्कृतिक स्वाद प्रदान गरेका छन्।

समग्रमा ‘रातोमाटोको कथा’ एउटा म्युजिक भिडियोमा मात्र सीमित नभई प्यूठानको माटो, पहिचान, स्थानीय प्रतिभा, पारिवारिक आत्मीयता र सांस्कृतिक सम्पदालाई एउटै सिर्जनामा समेट्ने प्रयासका रूपमा हेरिएको छ।

प्यूठानको माटोमा जन्मिएको सिर्जना, स्थानीय प्रतिभाको सहभागिता र मौलिक परिवेशमा तयार पारिएको ‘रातोमाटोको कथा’ म्युजिक भिडियो निकट भविष्यमै दर्शकमाझ सार्वजनिक गर्ने तयारी भइरहेको सर्जक विकास बिष्टले जानकारी दिए।

यो पनि पढ्नुहोस्