काठमाडौँ – देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ।
मौसमविद् रोजन लामिछानेले भने, ‘अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।’
आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ। यो वर्षा भारी हो।
हाल काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी गण्डकी प्रदेशका, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथास्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।








