समय : १०:२१ pm | मङ्गलबार , असाेज ६ गते २०८३

प्यूठान काँग्रेसमा देउवा पक्ष कमजोर

लव कुमार अधिकारी | असाेज ६ गते २०८३

प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा 'रोज राणा', जिल्ला उपसभापतिद्वय देवेन्द्र वर्मा र ईश्वरसिंह विष्ट, सहसचिव प्रमोद पोख्रेल, प्यूठान नगर सभापति नेत्रबहादुर केसी तथा १४ औँ महाधिवेशनका प्रतिनिधि देविराम पुनलगायत केही नेता असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी भएनन्।

प्यूठान। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा सम्पन्न वडा अधिवेशनले जिल्लाको आन्तरिक शक्ति समीकरणमा नयाँ संकेत देखाएको छ।आईतबार जिल्लाका ६४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको विवाद तथा दूरीसमेत सतहमा आएको छ।

कांग्रेस प्यूठानका अनुसार असोज ३ गते ५४ वटा र असोज ४ गते बाँकी १० वटा वडामा अधिवेशन सम्पन्न भएको हो।वडा अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै करिब १ हजार ४ सय ५० क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।जिल्ला निर्वाचन अधिकृत रेसमराज गिरीले वडा तहको निर्वाचन प्रक्रिया सम्पन्न भएको जानकारी दिएका छन्।

तर, वडा अधिवेशनकै क्रममा जिल्लामा कांग्रेसको संस्थापन पक्षभित्र देखिएको असन्तुष्टि थप स्पष्ट भएको छ।संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका भनिएका लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद सरोज थापा (रोज राणा), जिल्ला उपसभापतिद्वय देवेन्द्र वर्मा र ईश्वरसिंह विष्ट, सहसचिव प्रमोद पोख्रेल, प्यूठान नगर सभापति नेत्रबहादुर केसी तथा १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि देविराम पुनलगायत केही नेता असोज ३ र ४ गतेको आधिकारिक वडा अधिवेशनमा सहभागी नभएको बताइएको छ।

त्यसैगरी, वडा तथा क्षेत्रको क्रियाशील सदस्यता शुल्कसम्बन्धी विषयमा प्यूठान क्षेत्र नम्बर १(२) का सभापति सरोज थापा (रोज राणा)लाई कांग्रेस केन्द्रीय कार्यालयले रकम जम्मा गर्न अल्टिमेटम दिएको विषयसमेत सार्वजनिक भएको थियो।तर राणाले अल्टिमेटम दिएको समय सिमा भित्र नै सदस्यता शुल्क बुझाएको काँग्रेस प्युठानले जनाएको छ।उता भने प्युठान नगरपालिका नगर सभापति रहेका नेत्र बहादुर केसीले नगर भित्रका १० वडाका क्रियाशील सदस्यता शुल्क हालसम्म पार्टीमा नबुझाएको पार्टी श्रोतले बताएको छ।

प्यूठानमा वडा अधिवेशनबाट करिब १ हजार ४ सय ५० क्षेत्रीय प्रतिनिधि चयन हुनु आगामी नेतृत्वका लागि महत्वपूर्ण आधार हो।यही प्रतिनिधि संरचनाले गाउँ–नगरदेखि प्रदेश र केन्द्रीय महाधिवेशनसम्मको नेतृत्व चयनमा प्रभाव पार्ने भएकाले वडा तहको परिणामलाई जिल्लाको शक्ति समीकरणको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।

पूर्व जिल्ला सभापति सुवास केसी प्यूठान नगरपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।त्यस्तै अमरप्रसाद भण्डारी प्यूठान नगरपालिका–६ बाट क्षेत्रीय प्रतिनिधि बनेका छन्।

यता, आधिकारिक अधिवेशन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको भनिएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ।उक्त पक्षले असोज १५ गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका अघि सारेको बताइएको छ।

यसले प्यूठान कांग्रेसमा विवाद केवल नेतृत्वको प्रतिस्पर्धामा सीमित नरही वडा तहको प्रतिनिधित्व र संगठनात्मक वैधताको प्रश्नसम्म पुगेको देखाएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा जिल्ला कार्यसमितिको निर्वाचन केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी रहेको जिल्ला निर्वाचन अधिकृत रेशम राज गिरीले बताएका छन्।

तर दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रका कार्यसमिति, प्रदेश महाधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि असोज १० गते अधिवेशन गर्ने कार्यतालिका छ। त्यसका लागि असोज ९ गते मनोनयन दर्ता हुने र असोज ७ गते गाउँ तथा नगरपालिका कार्यसमितिको अधिवेशन गर्ने तयारी छ।

केन्द्रीय निर्वाचन समितिले पनि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।

वडा अधिवेशनमा एउटा पक्षको सहभागिता र अर्को पक्षको बहिष्कार तथा समानान्तर कार्यक्रमले प्यूठान कांग्रेसभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ। विशेषगरी आगामी प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनमा कुन समूहको प्रभाव कति रहन्छ भन्ने विषय अबको मुख्य राजनीतिक गणित बन्ने देखिन्छ।

हालै सम्पन्न वडा अधिवेशनले संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको दूरी सार्वजनिक रूपमा देखाइदिए पनि अन्तिम शक्ति समीकरण भने प्रदेशसभा क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि चयन र त्यसपछिका नेतृत्व निर्वाचनबाट मात्र स्पष्ट हुने अवस्था छ।

यसबीच कांग्रेसको आधिकारिक निर्वाचन प्रक्रियामा सहभागी भएका प्रतिनिधि र समानान्तर प्रक्रिया अघि बढाउने पक्षबीचको विवाद कसरी टुंगिन्छ भन्ने विषय प्यूठान कांग्रेसको आगामी अधिवेशनको मुख्य चुनौती बनेको छ।

यो पनि पढ्नुहोस्