प्युठान।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. १ लाख बढी रकम सहयोग गर्ने भएको छ।
संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। साथै, संस्थाका सञ्चालक, समिति, उपसमिति तथा कर्मचारी उद्धार, राहत र पुनःस्थापनाका कार्यमा स्वयंसेवी रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
संस्थाले भदौ १० गते आएको बाढीबाट जनजीवन अस्तव्यस्त बनेको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाका सम्पूर्ण कर्मचारीको एक दिनको तलब, संचालक समितिको १ दिनको बैठक भत्ता र संस्थाको सहयोग बापत १ लाख ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष नेत्रमणि आचार्यले बताए।
त्यस्तै, स्थानीय तहमा हुन सक्ने उद्धार, राहत तथा स्वयंसेवी भूमिकामा संस्थाका सञ्चालक, सबै समिति तथा उपसमिति र कर्मचारी पूर्ण रूपमा सहभागी हुने प्रतिबद्धता जनाइएको छ।
संस्थाले राष्ट्रिय विपद्को यस कठिन अवस्थामा शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ–संस्था र निकायलाई समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा राहत कोषमा योगदान गर्न अपिल गरेको छ।








