समय : ०९:३० am | मङ्गलबार , भाद्र ९ गते २०८३

लुम्बिनी प्रदेशका नयाँ नियुक्त तीन मन्त्रीले आज शपथ लिँदै

लुम्बिनी प्रदेशमा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ८३ जना प्रदेश सभा सदस्य छन् ।

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८३

दाङ- लुम्बिनी प्रदेश सरकारमा नयाँ नियुक्त भएका तीन जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।

पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेकपासँग सत्ता साझेदारी अघि बढेको हो ।

लुम्बिनी प्रदेशमा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ८३ जना प्रदेश सभा सदस्य छन् ।

यो पनि पढ्नुहोस्