समय : ०३:१० pm | आइतबार , भाद्र ७ गते २०८३

प्युठानमा नयाँ स्वादको ‘पिर्का थकाली’ सञ्चालनमा

यो व्यवसायले प्युठानको स्थानीय बजारमा नयाँ स्वाद र रोजगारीको अवसर थप्ने अपेक्षा गरिएको छ।

लव कुमार अधिकारी | भाद्र ७ गते २०८३

प्युठान। प्युठानमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नयाँ स्वादका थकाली परिकार उपलब्ध गराउने उद्देश्यले 'पिर्का थकाली' रेस्टुरेन्ट सञ्चालनमा आएको छ।प्युठान नगरपालिका–८ बाग्दुलास्थित टिकुरी बसपार्क जाने बाटो नजिकै स्थापना गरिएको रेस्टुरेन्ट आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

चार जना युवाको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको लगानीकर्ता गणेश पाण्डेले बताए। उनका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकलाई फरक स्वाद र गुणस्तरीय परिकार उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरिएको हो।

रेस्टुरेन्टमा स्थानीय खसी, कुखुरा तथा विभिन्न रैथाने बालीबाट तयार गरिएका विशेष परिकार उपलब्ध हुने अर्का लगानीकर्ता प्रेम खड्काले बताए। उनका अनुसार पारिवारिक जमघट तथा भेटघाटका लागि समेत उपयुक्त वातावरणको व्यवस्था गरिएको छ।

युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै सामूहिक लगानीमार्फत व्यवसाय सुरु गरिएको लगानीकर्ता राजीव जिसीले बताए।आफ्नै ठाउँमा व्यवसाय गरेर सफल उद्यमी बन्ने उद्देश्यसहित आफूहरू व्यवसायमा लागेको उनको भनाइ छ।

पिर्का थकालीमा गणेश पाण्डे, राजीव जिसी, प्रेम खड्का र गोविन्द खड्काको संयुक्त लगानी रहेको छ।युवाहरुको सामूहिक लगानीमा स्थानीय उत्पादन र मौलिक परिकारलाई केन्द्रमा राखेर सुरु गरिएको यो व्यवसायले प्युठानको स्थानीय बजारमा नयाँ स्वाद र रोजगारीको अवसर थप्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्