प्युठान।माण्डवी गाउँपालिकामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ।चिनियाँ नागरिकको लगानी रहेको छ्वाङ रन बायोटेक्नोलोजी प्रालि नामको कम्पनीले उक्त केन्द्र स्थापना गरेको हो।
माण्डवी गाउँपालिका – ३ जाबुनेमा २०८२ असोजमा स्थापना गरिएको प्रशोधन केन्द्र २० रोपनी क्षेत्रफलमा फैलिएको कम्पनीका व्यवस्थापक दोभाषे पवन पौडेलले बताए।‘प्रशोधन केन्द्रमा हाल ३ चिनियाँ र ५ नेपाली गरि ८ जना कर्मचारी नियमित रूपमा कार्यरत छन्।’ उनले भने, ‘कामको चाप बढेका बेला भने १५ देखि २० जनासम्म स्थानीय कामदार परिचालन गरिएको छ।’ दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई १२ सय देखि १४ सय रुपैयाँसम्म पारिश्रमिक प्रदान गरिने गरेको कम्पनीका व्यवस्थापक पौडेलले जानकारी दिए।यस केन्द्रमा मुख्य रूपमा गानेगुर्जो (गुर्जो) प्रशोधन गरिन्छ।जसको प्रयोग औषधिजन्य उत्पादनमा हुने गर्दछ।प्रशोधन केन्द्रका लागि आवश्यक कच्चा पदार्थ जाजरकोट, प्युठान र रोल्पा जिल्लाबाट संकलन गरिराखेको व्यवस्थापक पौडेलले भने।

५० लाख रुपैयाँको लगानी रहेको प्रशोधन केन्द्रमा हालसम्म करिब ६० टन गानेगुर्जो संकलन गरी प्रशोधन गरिसकेको कम्पनिका प्रोप्राइटर चिनियाँ नागरिक याङ वेनोलुङले बताए। ‘गुर्जो प्रशोधन गर्ने प्रक्रिया भने समय लाग्नेछ।’ उनले भने, ‘सुरुमा संकलित गुर्जोलाई स-साना टुक्रामा काटिन्छ।त्यसपछि ती टुक्रालाई ३० देखि ३५ दिनसम्म पानीमा भिजाएर खाडलमा राखिन्छ।’ यस प्रक्रियाबाट गुर्जो नरम बनाइन्छ र त्यसपछि केही रसायन मिसाएर यसको रस निकाल्ने गरिन्छ।सोही रसलाई प्रशोधन गरी निर्यातयोग्य बनाइने प्रोप्राइटर वेनोलुङले जानकारी दिए।प्रशोधन केन्द्र सञ्चालनका लागि ८ जनाको जमिन वार्षिक ३ लाख ५० हजार रुपैयाँका दरले ७ वर्षका लागि भाडामा लिएको समेत प्रोप्राइटर वेनोलुङले बताए।
प्रशोधित गरि छुट्याइएको गुर्जोको टुक्राहरुलाई फेरी कम्पोष्ट मलको रुपमा प्रयोगमा ल्याउने गरिन्छ।यस उद्योगबाट प्रशोधित गरिएको गुर्जो निर्यात गर्नुअघि जिल्ला बन कार्यालय प्युठानमा राजस्व दाखिला गरेपछि मात्र गुर्जो(कच्चापदार्थ) निकासी गरिने समेत उनले भने।वेनोलुङका अनुसार यसरी प्रशोधन गरिएको कच्चापदार्थ औषधिको रुपमा प्रयोग हुनुका साथै मुख्यतः चीनमा निर्यात हुने समेत बताए।
लालस्टोर जडीबुटी संकलन फर्म रोल्पाका व्यवसाय टेक बहादुर घर्ती मगरका अनुसार पछिल्लो तीन महिनाको अवधिमा करिब ३० टन गानेगुर्जो यस केन्द्रमा बिक्री गरेको बताए।‘रोल्पाबाट स्थानियहरुले संकलन गरेको गुर्जो खरिद गरि प्रतिकेजी ३५ रुपैयाँका दरले यस प्रशोधन केन्द्रमा बिक्री गरेको छु।’ उनले भने, ‘जिल्ला वन कार्यालय रोल्पाबाट गुर्जो निकासी गर्ने क्रममा प्रति केजी ७ रुपैयाका दरले राजश्व तिरेपछी निकासी गर्न पाइन्छ।’ प्यूठानमा यस प्रकारको प्रशोधन केन्द्र स्थापना हुदाँ जडीबुटी ब्यवसायीलाई मात्र फाइदा नभई यसबाट स्थानीय संकलनकर्ताहरूलाई समेत आम्दानीको स्रोत बढेको बताए।

यस उद्योगले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै जडीबुटीको व्यवसायिक उत्पादन र निर्यातमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको माण्डवी गाउँपालिका – ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।‘स्थानीय स्तरमा जडीबुटी संकलन र बिक्री गर्ने किसान र व्यापारीलाई यस प्रशोधन केन्द्रले आर्थिकस्तर उठाउन मद्दत गर्छ।’ उनले भने, ‘ चिनियाँ नागरिकद्वारा लगानी गरिएको यस उद्योगले पालिकाको आन्तरिक राजश्वमा वृद्धि गर्नुका साथै रोजगारी सिर्जना र जडीबुटीको व्यापारलाई व्यवस्थित बनाउन सहयोग पुग्ने देखिन्छ।’ अब स्थानीय तहले जडीबुटी संकलन र प्रशोधनमा दीगो व्यवस्थापन उचित नियमन र संरक्षणमा नीति निर्माण तर्फ ध्यान दिए ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष कार्कीको भनाई छ।







