प्यार अलि खान।लामो समयपछि प्युठान जिल्लाभित्रका आन्तरिक रुटमा चल्ने सार्वजनिक सवारी साधनहरुको नयाँ भाडादर तोकिएको छ। जिल्ला समन्वय समिति प्रमुख एंव जिल्ला भाडादर निर्धारण समितिका संयोजक धरम बहादुर जिसीले सरोकारवालाहरुको बैठकबाट जिल्लाका ग्रामीण सडकको नयाँ सवारी भाडादर निर्धारण गरिएको जानकारी दिएका छन्।
नयाँ भाडादर आजैदेखि लागू हुने उनले बताए उनले कच्ची, ग्रावेल र पक्की सडकको मापदण्ड बनाएर नयाँ भाडादर कायम गरिएको बताए। समायोजन गरिएको नयाँ भाडादर अनुसार साना सवारी साधनलाई पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपियाँ, ग्रावेल ११ रुपियाँ र कच्ची सडकमा १४ रुपियाँ भाडादर तोकिएको छ। यस्तै, ठूला सवारीसाधनले कच्ची सडकमा प्रति कि.मी १० रुपियाँ, ग्रावेलमा ८ रुपियाँ र पक्की सडकमा ६ रुपियाँ भाडादर लिने पाउनेछन्।
समायोजन गरिएको नयाँ भाडादर कार्यान्वयनमा लैजाने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ। तोकिएको भाडादर भन्दा बढी उठाएमा कानुनी कारवाही हुने प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) ले जानकारी गराईन्। 'सवारी साधनमा भाडादर सूची देखिने गरी टाँस्न लगाउँछौ।' उनले भनिन्। बाग्दुला - मच्छी सडकमा १२ किमी सडकमा १ सय ३० रुपियाँ भाडा लिँदै आएकोमा अब ९६ रुपैयाँ भाडा कायम गरिएको छ।
बाग्दुला - स्याउलीवाङ ३४ किमी सडकखण्डमा साना सवारीसाधनले ७ सय २० देखि ८ सय रुपियाँ भाडा लिँदै आएकोमा अब नयाँ भाडादर अनुसार ४ सय २८ रुपियाँ कायम गरिएको छ। पहिलेको तुलनामा स्थानीय रुटमा चल्ने सवारी साधनहरुको भाडादर घटेको स्वर्गद्वारी गौमुखी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए