समय : ०५:५१ am | शनिबार , श्रावण १२ गते २०८१

आँखा पाक्ने बढ्दो क्रम हुदा सल्यानका विद्यालय बन्द हुँदै

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०८०

,सल्यान । आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी संस्थागत विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका हुन।

विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिनुभयो।केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु परेको उहाँको भनाई छ। भिडभाडमा यस प्रकारको संक्रमण छिटो फैलिने भएकाले यसको नियन्त्रणका लागि विद्यालय बन्द गर्नु परेको उनले बताए।

शारदा नगरपालिकाका मोर्डन तुल्सीसँगै ब्राइट रोजल्याण्ड र मित्र प्याराडाइज बोर्डिङ स्कुल पनि बन्द भएका छन्।जिल्लामा पछिल्लो समय आँखा पाक्ने रोग फैलिएको शितलपाटी आँखा अस्पतालले जनाएको छ। पहिले ४० देखि ४५ जनासम्म आँखाका विरामी आउने गरेकोमा आजभोलि १ सय ५० सम्म पुग्ने गरेको शिलतपाटी आँखा उपचार केन्द्रकी इन्चार्ज नवीना चौधरीले बताउनुभयो ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिने इन्चार्ज चौधरीको भनाई रहेको छ।बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने उहाँले बताउनुभयो ।उहाँका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ। तर कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ। त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जान उहाँको सुझाव रहेको छ।

संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुने‚ विरामीले प्रयोग गरेका तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिन नहुने बताउनुभयो ।रोग लागिहाले चिसो पानीले समय समयमा आँखा सफा गर्ने, तातो चिजले नसेकाउने, घरेलु औषधी प्रयोग गर्नुहुदैन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page