समय : ०६:०६ pm | बुधबार , असाेज २ गते २०८१

भूमिहीनहरुको समस्या कसरी समाधान गर्ने ?

सन्तोष सुनार | श्रावण १३ गते २०८०

नेपालको इतिहासमा व्यवस्था परिवर्तनका लागि जनताले ठूला ठूला संघर्षहरु गरेका छन् । सामन्ती राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भएता पनि नवसामन्ती राज्यसत्ताको पुनः उदय भयो । लामो समय थला परेको राजतन्त्र पुनः मौलायो । नाम मात्रको प्रजातन्त्रको विसं २०१७ सालमा विधिवत अन्त्य भयो र फेरि जनताले आफ्ना आधारभूत हक अधिकारका लागि आन्दोलनको बाटो रोज्न पर्यो । २०४६ सालको बहुदलीय व्यवस्थाबाट पनि जनताले न्याय महसुस गरेनन् । त्यसपश्चात विसं २०५२ सालदेखि नेकपा (माओवादी)को नेतृत्वमा महान जनयुद्धको घोषणा भयो ।

जनयुद्धका कारण पुरानो व्यवस्था अलग थलग भयो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुशशैलीका कारण तत्कालिन संसदवादी दलहरु समेत राजतन्त्रविरुद्घ आन्दोलित हुन पुगे । २०६२–२०६३ मा आइपुग्दा जनयुद्ध र जनआन्दोलनको फ्युजन भयो । जसको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । नयाँ संविधान बन्यो । जनताको मौलिक हक र रोजगारीका विषयहरु संविधानमा ज्ञारेन्टी गरियो ।

राजतन्त्र ढलेपछि धेरै सरकारहरु फेरिएका छन् तर जनअपेक्षा अनुसार जनताको अवस्था फेरिन सकेको छैन । भूमिहीन जनसमुदायको पीडा अहिले पनि पूर्णरुपमा समाधान हुनसकेको छैन । संविधानको कार्यान्वयनमा ढिलाई हुनुको कारण पनि यो समस्या रहिरहेको छ ।

मानिसहरु कसरी भूमिहीन हुन पुगे ? किन आज यो अवस्था सृजना भयो ? भनि बुझ्दा कहिँ जातीय विभेदमा परेर मानिसहरुले आफ्नो ठाँउ थलो छोडे कतै, बाढी पहिरोको चपेटामा परेर बस्ति छाड्नु पर्यो, कतै सामाजिक विभेद त कतै दुई छाक टार्न नपुग्ने भिरालो जमिनको कारण अवसरको खोजिमा शहरका छेउछाउ तराईका जंगलको छेउछाउ कतै नदीका किनारका छेउछाउ आफ्ना बालबच्चा बोकेर बसाई सराई गरी सुकुम्वासीको रुपमा केहि पनि सुविधा नभएको ठाँउमा सामूहिक रुपमा बसोबास गर्नु पर्ने बाध्यता सृजना भयो ।

यसरी भूमिहीनहरु लामो समय कतै खोला किनार त कतै जंगल छेउछाउ गर्दै ठूला दुःख कष्टका साथ बिसौं वर्ष बिताइरहेको अवस्था छ । के यहि अवस्थामा ती भूमिहीनहरुका पुस्ताले यस्तै काहानी लाग्दो जीवन बिताउनु पर्ने हो त ? अवश्य होइन, किनकि नेपालमा जनताको राज्यसत्ता स्थापना भैसकेको छ । ती सबै नेपाली नागरिक हुन् । सबैले देशको निमित्त आ–आफुनो हिसाबले त्याग, तपस्या र बलिदान दिइसकेका छन् । त्यसैले त्यो भूमिहीनहरुको समस्यालाई स–सम्मान समाधान गर्नुपर्छ । लामो समय जनतालाई त्यो कठिन अवस्थामा राख्नु राज्यले अपराध गरे सरह हुन्छ । तसर्थ राज्यले जो नागरिक भूमिहीन छन् । उनीहरुप्रति न्याय दिने विषयमा कहिँ कतै कञ्जुस्याँई गर्नु हुँदैन ।

नेपाल कृषिप्रधान देश भएको हुँदा जनताको सम्पत्ति नै जमिन हो । यो औद्योगिक मुलुक होइन । त्यसैले भूमिहीनलाई तुरुन्त रोजगारी दिइहाल्छु भन्ने राज्यको अवस्था छैन । ‘जनता सम्पन्न भए मुलुक सम्पन्न हुन्छ’ भन्ने मुल मान्यताका साथ राज्यसँग भएको जमिन प्राकृतिक न्यायको सिद्धान्तको आधारमा भूमिहीनलाई अविलम्व वितरण गर्नुपर्छ । सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले जग्गा वितरण गर्न बनाएको मापदण्ड दिगो समाधान दिने खालको छैन । तसर्थ एक परिवारलाई न्युनतम् १० कठ्ठा र परिवार संख्याको आधारमा थपप्रति व्यक्ति ३ कठ्ठाका दरले जमिन उपलब्ध गराउनु पर्छ ।

जसले गर्दा उक्त परिवार कृषि, पशुपालन, साना र मझौला उद्योग स्थापना गरी स्वरोजगार बन्न सक्षम हुनेछन् । र मुलुकको समृद्धिको ढोका खोल्ने छ । लामो समयदेखि राज्यले दिएको आश्वासन जहाँ बसोबास छ त्यहिँ त्यति नै जमिन दिए पुग्ने विषयले दिर्घकालीन रुपमा यो समस्या हल हुँदैन । परिवारलाई खान पुग्ने गरी जमिन दिइएन भने फेरी केहि समयपछि यो समस्या दोहोरिने खतरा हुन्छ । यहाँ जंगली जनवार संरक्षणका निमित्त राष्ट्रिय निकुञ्ज निर्माण गरिन्छ । खेल मैदानका निमित्त जंगल फँडानी गरिन्छ ।

हवाइ मैदान निर्माणको निमित्त जंगल उपलब्ध गराइन्छ भने राज्यले आफ्ना नागरिकको सुरक्षाको लागि जमिन छुट्याउन नसकिने भन्ने हुँदैन । यहाँ बंदेलहरुले प्रसस्त जमिन पाउँदा मानिसहरुको हैसियत बंदेलको जति पनि नभएको देखियो । यो सबैको कारण शासकहरुमा देखिएको अकर्मन्यता नै हो । तसर्थ ढिला नगरिकन खान पुग्ने गरी जमिनको व्यवस्था गर्नु र नागरिकको संरक्षण तथा सम्मान गर्नु राज्यको दायित्व हुन्छ ।

त्यसो भयो भने देशप्रतिको माया र मुलुकप्रतिको गौरवको उचाइ बढ्ने छ । जनता खुशी हुनेछन् । राज्यले आफूसँग जे छ जनतालाई त्यहि दिने हो भने जनसंख्या र खेतियोग्य जमिनको अनुपातको तुलना गर्ने हो भने एक पटक फेरि किसानलाई राज्यले जमिन दिनैपर्ने हुन्छ । यहाँ धेरै जमिन बाँझो अवस्थामा रहेका छन् । तिनको सदुपयोग नै समृद्धिको मूल आधार हुनेछ ।
(लेखक : अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका उपमहासचिव हुनुहुन्छ ।)

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्