समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

पाँचथरमा बाढीमा बेपत्ता पाँच जनाकाे परिचय खुल्याे

स्वर्गद्वारी अपडेट | असार ३ गते २०८०

पाँचथर - पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै, फिदिम –४ र हिलिहाङ–७ को सिमाना माँझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ । 

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार अहिलेसम्म बाढीले हेवाखोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा सडक पुल, तमोर करिडोर एउटा  पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा त्यही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । याे ठाउँबाट जलविद्युत् आयोजनाको एउटा ‘एक्स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ । 

वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका प्रायजसाे जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।

गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हेवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ सालमा बनेको यो पुल बाढीका कारण अहिलेसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।

यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारमा रहेकाे बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्