समय : ११:०५ am | मङ्गलबार , श्रावण १९ गते २०८३

मनसुन सक्रिय: देशभर वर्षा, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

स्वर्गद्वारी अपडेट | श्रावण १९ गते २०८३

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

पहाडी क्षेत्रका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकीका हिमाली–पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि मौसम बदली रहने र विभिन्न प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।

यो पनि पढ्नुहोस्