दाङ— आर्थिक वर्ष २०८२/०८३ का लागि दाङको बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनले आगामी वर्षका लागि नीति तथा योजना कार्यान्वयन गर्न उक्त बजेट पारित गरेको हो।
गाउँपालिकाले चालु खर्चतर्फ ३९ करोड २६ लाख रुपैयाँ (६२.६५%) र पुँजीगत खर्चतर्फ २३ करोड ४० लाख रुपैयाँ (३७.३५%) विनियोजन गरेको छ। उक्त बजेट नेपाल सरकारबाट प्राप्त अनुदान ४२ करोड ९ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ४ लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ५१ लाख, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ३ लाख, आन्तरिक आम्दानीबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट १ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको छ।
गाउँपालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, संस्थागत विकास तथा सुशासन, वातावरण तथा विपद् व्यवस्थापन, आर्थिक विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणजस्ता क्षेत्रलाई उच्च प्राथमिकता दिएर बजेट ल्याएको छ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष भक्तबहादुर जिसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।
यसैबीच गाउँपालिकाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम समेत पारित गरेको छ। “मानवीय विकास, भौतिक पूर्वाधार र उत्पादनमा लगानी, समृद्ध बंगलाचुलीको बिहानी” भन्ने मूल नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक, आर्थिक, पूर्वाधार, सुशासन र वातावरणीय क्षेत्रमा योजनाहरू अघि सारिएका छन्।
सभामा अध्यक्ष पुनले सम्बोधन गर्दै स्थानीय नागरिकको विकासप्रतिको चाहना, विज्ञहरूको सुझाव र जनभावनालाई आत्मसात गर्दै संघीयताको मर्मअनुरूप जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार पारिएको जानकारी दिए।