प्युठान।अझै पनि कतिपय समुदायले परम्परागत रुपमा चलि आएको सिलाई र आरन काम बालीघरे रुपमा गर्दै आएका छन् । बर्षभरी काम गरिदिए वापत खाद्यन्न पाउने हिसावमा उनीहरुले काम गर्ने प्रचलन रही आएको छ ।
करिब १५ वर्ष बालीघरे दमाइको रुपमा काम गरेका प्यूठान नगरपालिका ८ मानगाउँका शोभ बहादुर परियारले आफ्नै सिपलाई व्यवसायीक बनाएपछि अहिले जीवनशैली नै फेरिएको छ । पहिले मानगाउँमा बालीघरे सिलाई गर्दा खानलाउन धौ–धौ ले पुग्ने गरेको उनले बताए । ‘२०६२ सालमा खप्रेङखोला आएर घरभाडा तिरेर सिलाई व्यवसाय सुरु गरेको थिए ।’ शोभ बहादुरले भने–‘करिब १९ वर्षको समयमा घडेरी किनेर दुइ तले घर बनाइ अहिले घरमै व्यवसाय सञ्चालन गरेको छु । सिजनको सयममा मासिक ८०–९० हजार सम्म कमाइ हुने गरेको उनले बताए । श्रीमति चन्चला परियार र छोरीहरुको राम्रै सहयोगले गर्दा व्यवसायलाई विस्तार गर्न सफल भएको उनले बताए । ५ जनाहरुको पढाइलेखाइ, घरखर्च, औषधीमुलो सबै सिलाईबाट आएको रकमले धान्ने गरेको बताउदै २ जना छोरीको विवाह समेत गरिदिएको उनले बताए ।
सिलाई व्यवसायमा अहिलेसम्म २ लाख लगानी गरेको उनले बताए । अव थप सिप र मेसिनरी सामान मर्मतको लागि तालिमहरु आवश्यक भएको भन्दै स्थानिय सरकारलाई तालिमको व्यवस्था गरिदिन आग्रह समेत गरेका छन् । अहिले ३ जना छोरी र श्रीमतिले व्यवसायमा सहयोग गर्दै आएको उनको भनाइ छ ।