प्यूठान।प्यूठान जिल्ला भौगोलिक हिसावले हिमाल, पहाड र तराइसम्मको भुभाग समेटिएर बनेको छ।नौ स्थानिय तह रहेको प्यूठान जिल्ला पर्यटकीय हिसावले प्रचुर सम्भावना बोकेको जिल्ला हो।यि नौवटै स्थानिय तहहरुको बेग्लै–बेग्लै पहिचान छ।त्यसले गर्दा यहाँ रहेका सम्भावनालाई ठोस् योजना बनाइ अगाडि बढ्ने हो भने पर्यटन क्षेत्रको गतिलो आयाम बन्न सक्छ।भौगोलिक विभिदता, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक सम्पदाका आफ्नो पालिका भित्र अवस्थित गन्तव्यहरुको प्रवद्धनका लागि धेरै अभ्यासहरु भइसकेका छन्।सातधाम मध्येको एकधाम स्वर्गद्धारी, प्यूठानको राजधानी भित्रिकोट, सहिद पार्क, उदयपुरकोट दरबार, विजुलीकोट, रानीकुवा, धार्मिक तिर्थस्थल गौमुखी, झाक्रिस्थान, झिमरुक माडीको संगमस्थल युद्ध पर्यटन क्षेत्र लिस्ने लेक, उत्तरी प्यूठानको वाइसमुल झरना, कोठी हिमाल, नांगी लेख, नौबहिनी झरना, रंक गार्डेन, स्नानथान, ओखरकोट विभिन्न थरिका रंग भर्दै फुल्ने लालीगुँराका वन जस्ता पर्यटन क्षेत्रले प्यूठानलाई स्वर्गभुमीको रुप दिएको छ । पर्यटकीय क्षेत्रमा गरिएको लागनीले राम्रो प्रतिफल दिने उदेश्यका साथ पर्यटन विकासतर्फ उन्मुख रहेको स्थानिय सरकार ति ठाउँको पहिचान र प्रवद्र्धन तर्फ होमिएको देखिन्छ ।
पर्यटकीय गन्तव्य बन्यो उदयपुरकोट दरबार

स्थानिय सरकार सञ्चालनमा आइसकेपछि प्यूठानका विभिन्न ऐतिहासिक ठाउँहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै आएका छन् । नेपालको ऐतिहासिक पृष्ठभूमि पल्टाएर हेर्ने हो भने लगभग अधिराज्यभर नै शाह, चन्द, मल्ल जस्ता राजकीय परिवारले राज्य गरेको तथ्य भेटिने गर्छ । तर, नेपाल कै एकमात्र ठाउँ हो उदयपुरकोट दरबार । जहाँ बाहुन जातिले राज्य सञ्चालन गरेर आफ्नो अस्थित्य अहिलेसम्म बचाइ राखेका छन् । प्यूठानको माण्डवी गाउँपालिका वडा नं. ४ मा पर्ने उदयपुरकोट राजदरबार पछिल्लो समय पर्यटकीय ठाउँको रुपमा विकास भइ सकेको पाइन्छ । दरबारमा हालसम्म अवसेषको रुपमा रहेको मन्दिर संरक्षण, क्षेत्र भित्र तारबार गरिएको छ । साथै २ वटा वटरफाउन्टेन, ३ वटा मन्दिर, वरिपरी पर्खाल तथा सिढीहरु निर्माण गरिएको माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी (रोशन) ले जानकारी दिए । केन्द्र सरकार र स्थानिय सरकारको गरी हालसम्म २ करोड ५८ लाख लगानीमा गरिसकेको उनले बताए ।
दाङको वंगलाचुली गाउँपालिकासंग सिमाक्षेत्र जोडिएको ठुली लेखलाई पनि उत्तिकै चासो दिएको अध्यक्ष अधिकारीले बताए । ‘हामीले पर्यटकीय क्षेत्र बनाउन लगानी गर्दै आए ठाउँहरु परापुर्वकाल देखि नै परिचित छन् ।’ पालिका अध्यक्ष अधिकारीले भने–‘स्थानिय सरकार आइसकेपछि अलि बढि चासो दिएर आवश्यक भौतिक संरचनाहरु निर्माण र संरक्षण गरेको मात्रै हो ।’ ठुली लेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हालसम्म २ करोड ७३ लाख खर्च भइसकेको समेत उनले बताए । यससंगै त्रिबेणी धाम, थामका डाँडा लगायतका क्षेत्रलाई पालिकाले पर्यटकीय क्षेत्रको रुपमा संरचना निमार्ण गर्दै पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रवद्धनमा जुटिरहेको अध्यक्ष अधिकारीले बताए ।
दरबार नजिकै रहको राजाले पुजाआजा गर्ने मन्दिरमा राजाले प्रयोग गरेका तरवार समेत राखिएको छ ।
पर्यकटकीयस्थल बन्यो मल्लरानी र बुकीडाँडा

मल्लरानी गाउँपालिकाको मल्लरानीसंगै बुकिडाँडाले पछिल्लो समय निकै पर्यटकीय गन्तव्य बनेको छ । मल्लरानी गाउँपालिका ४ मा रहेको महत्वपूर्ण स्थान मल्लरानीबाट जिल्लाको चौतर्फी भुु–भाग अबलोकन गर्न सकिन्छ । विगत ३ वर्ष यता मल्लरानीमा नयाँ वर्षको अवसर पारी खाना महोत्सव समेत सञ्चालन हुंदै आएको छ । मल्लरानीमा चिल्ड्रेन पार्क बनाउने, बसपार्क बनाउने योजनामा रहेको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सिजुवालले बताए । गाउँपालिकाले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर करिब एक सय रोपनी जमिन भाडामा लिएर कृषि नर्सरी सुरुवात गरेको बताउदै कृषि र पर्यटनलाई संगसंगै अगाडि बढाउने उनले सुनाए । ‘वडा नं. ५ को सरङकोट प्याज र वडा नंं. ३ को धनवास र जेविडाँडामा आलुपकेट क्षेत्र बनाएर उत्पादन थालिएको छ ।’ प्रमुख सेजुवालले भने–‘कृषिवाली जंगली जनावरले निकै नष्ट गरिदिने हुंदा कृषकहरुले मन लगाएर कृषि गर्न छोडिसेका छन् । पालिकाको मुख्य उत्पादन धन र मकै रहेको समेत उनले बताए ।
मल्लरानी गाउँपालिका ३ मा अवस्थित बुकीडाँडा प्राकृतिक रुपमा निकै सुन्दर ठाउँ छ । दैनिक जसो पर्यटकहरु मनोरम दृष्यका लागि बुकिडाडा पुग्ने गरेका वडा नं. ३ का वडाअध्यक्ष नोमराज पौडेलले बताए ।
त्यस्तै सिधुरे लेक, गरुपुरे धुरी, चुँजाकोट जस्ता ठाउँको प्राकृतिक रुपमा सुन्दर भएतापनि पर्यटकले अझै पहिचान गर्न नसकेको प्रमुख सेजुवालले बताए । पालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्धन तथा संरक्षणका लागि संघ प्रदेश र स्थानिय सरकार, पर्यटन बोर्ड गरी हालसम्म करिब ५ करोड रकम पर्यटन क्षेत्रमा लगानी भएको उनको भनाइ छ ।
मागेको पुग्ने झाक्रिस्थान

धार्मिक पर्यटकीय स्थल झाक्रिस्थान जिल्लाको प्रख्यात ठाउँ हो । मल्लरानी गाउँपालिकामा पर्ने झाक्रिस्थान पर्यटकीय तथा धार्मिक हिसाबले परिचित नाम हो । यहाँ दैनिक भक्तजनहरु पुजाँआजासंगै बली चडाउन जाने गर्दछन् । सदरमुकामदेखि करिब ३ किलोमिटर हिडेपछि झाक्रिस्थान पुगिन्छ । धेरै लामो समय अघि देखि नै यो ठाउँ परिचित मानिने गरेको खंलगाका स्थानिय बिजयकुमार श्रेष्ठले बताए । उनले भने,–‘धेरै पुस्ता अघिबाट नै यहाँ दर्शनार्थी जाने गर्ने गरेको सुनेको हुँ ।’
दुःख पाएका व्यक्तिहरु समस्या लिएर झाक्रिस्थान पुग्ने गर्दछन् । यो स्थानमा पुगेर मागेको कुरा पुग्ने विश्वासका साथ दर्शनार्थी झाक्रिस्थानमा पुगेको दर्शनार्थीहरु बताउछन् । मुख्य गरि झाक्रिस्थानमा बोका, कुखुरा, रागो, हाँस र परेवा गरी पञ्च बली चढाइनुका साथै चामलको पिठोबाट बनाईएको बाक्लो रोटी चढाउने श्रेष्ठले जानकारी दिए ।
झाक्रिस्थानमा पुग्ने दर्शनार्थीले चिच्चाएर आफुले चाहेको कुरा माग्ने गर्दछन् । वुढापुरानासंगै नयाँपुस्तामा पनि झाक्रिस्थानको मोह निकै वढ्दो क्रममा रहेको र देशव्यापी रुपमा तिर्थयात्रीहरु आउने गरेको गाउँपालिका अध्यक्ष कृष्ण खड्काले बताए । ‘यस वर्ष ११ लाख बजेट विनियोजन गरेर झांक्रिस्थानमा काम गरिरहेका छौं ।’ अध्यक्ष खड्काले भने–‘त्यो बजेटले मन्दिर परिसर फराकिलो हुनुका साथै पर्यटकहरु बस्नेठाउँ बन्दैछ ।’
झाक्रिस्थानमा दर्शन गर्न प्युठान जिल्ला संगै जिल्ला बाहिरबााट (रोल्पा, अर्खाघाची) दर्शनार्थीहरु पनि आउने गरेको उनले बताए । मंगलबार र शनिवार पनि यो ठाउँमा दर्शन गर्ने दर्शनार्थीको भिड लाग्ने गर्दछ । सिजनको समयमा हजारौ दर्शनार्थीहरु झाक्रिस्थान मन्दिरमा जाने गरेको उनले बताए ।
सहित पार्क गाँजुरीमा पर्यटकको चहलपहच बढ्दै

प्यूठान नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन र व्यवस्थापनमा प्यूठान नगरपालिकाले निरन्तर काम गरिरहेको छ । संघिय सरकारको शहरी विकास भवन निर्माण योजना अन्तरगत बजेट व्यवस्थापन गरेर सहित पार्कका विभिन्न संरचना निर्माण गरेको प्यूठान नगपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताए । ‘पर्यटक पूर्वाधार संग जोडिएका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिएका छौं ।’ नगरप्रमुख योगीले भने–‘अहिले नगरक्षेत्रका महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरुलाई थप व्यवस्थापन गर्ने तर्फ हामी सबै केन्द्रित भएका छौ ।’
प्यूठान नगरपालिका वडा नं. ४ र ७ मा रहेको सहित पार्क गाँजुरीमा पर्यटकहरुको चहलपहल बढदो रुपमा देखिन्छ । पार्कमा वाटर फाउन्टेन, ४ जना सहितको मुर्ति, गौतम बुद्धको मुर्ति, चिडिया खाना, पिक्निकका लागि सभाहल, बालबालिकाहरुका लागी फन पार्क, प्रेम जोडीका लागि लभ पार्क, रेष्टुरेण्ट, चिडियाखाना, पुलपुलेसाहरु, भ्यू–टावर, जिम खाना, योगास्थल, लगाएतका संरचनाहरु बनिसकेको नगरप्रमुख योगीले बताए ।
कतिपय संरचनाहरु अझै निर्माणधिन अवस्थामा रहेपनि धेरै संरचनाहरु बनिसकेकोले पर्यटकहरुको चहलपहल बढ्दै गएको उनको भनाइ छ ।
भित्रिकोट दरबार हुलाक टिकटमा

बाइसे चौबीसे राज्य अन्तर्गत चौबीसे राज्य भित्रपर्ने प्युठानको राजधानी मानिने ऐतिहासिक भित्रीकोट दरबार प्युठान जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा रहेको छ ।
प्यूठान जिल्लाको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोट .दरबारको तस्बिर हुलाक टिकटमा राखिएको छ । ऐतिहासिक दरबारको सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यहि फागुनमा टिकटमा टाँचा लगाई प्रचलनमा ल्याएका थिए । फागुन ५ देखि लागु हुने गरि हुलाक सेवा विभागको १० रुपियाँ मूल्य रहेको उक्त टिकट प्रकाशनमा ल्याईएको छ ।
प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले हुलाक टिकटको प्रकाशनले भित्रीकोट दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न मद्दत पु¥याउने बताए । ‘प्युठान नगरपालिको महत्वपूर्ण ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको प्रचारका लागि थप सहयोग पुगेको छ ।’ प्रमुख योगीले भने– ‘हाम्रो ऐतिहासिक सम्पदालाई देशभर चिनाउनको लागि राम्रो अवसर प्राप्त भएको छ ।’ यसैसंगै प्युठान नगरपालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलको प्रबद्र्धनको लागि चासो साथ हेरिएको उनले बताए ।
यससंगै मरन्ठानाको बाइसधारा, बासँखोलाको पिकटिक पार्क, झुलेनी, युद्ध पर्यटकीय स्थल लिस्नेलेख, लभ डाडाँ, ड्याम साइड लगायत विभिन्न स्थानमा निर्माण भएका मन मन्दिरहरुको संरक्षण तथा प्रवद्धनका लागि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख योगीको भनाइ छ । प्यूठान नगरपालिकाले सन् २०२१ लाई ‘घुम्न जाऔं भित्रीकोट’ अभियान समेत घोषणा गरेको थियो भने प्रथम भित्रिकोट महोत्सव २०८१ पनि सञ्चालन भएको थियो ।
आन्तरिक पर्यटकसंगै बाह्य पर्यटक पनि भित्र्याउने उदेश्यका साथ स्थानिय सरकार आइसकेपछि भित्रिकोटलाई विशेष चासो दिएर सडक सञ्जाल, भौतिक संरचनाहरु निर्माण गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २३ लाख, २०७७÷०७८ मा १४ लाख ७२ हजार र २०७८÷०७९ मा ४ लाख ८५ हजार बजेट विनियोजन गरी भौतिक संरचना निर्माण, सडक, गेट, पर्खाल लगायतका संरचनाहरु बनाएको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए । यससंगै सहित स्मृति पार्कमा २०७६÷७७ मा ७ लाख २० हजार, २०७७÷७८ मा ४४ लाख ७९ हजार र २०८०÷८१ मा ४ लाख ९८ हजार खर्च भएको उनले जानकारी दिए ।
प्यूठानको मुख्य सडक बिजुवार क्षेत्रबाट ५ किलोमिटर उत्तरी पश्चिममा भित्रिकोट दरबार अवस्थित छ । यहाँ पुग्नका लागि टिकुरी–गुरुङगाउँ–भित्रिकोट, हल्दीखोला–भित्रिकोट, पुण्यखोला–भित्रिकोट, खलीगाउँ–लम्छ्याङ सडकहरुले जोडिएका छन् । चारैतिरबाट यहाँ पुग्नका लागि सडक निर्माण गरिएता पनि स्तरीय सड़क निर्माण भएको छैन । कच्ची सडकको भरमा निजि सवारी साधन मात्र यहाँ आन्तरिक पर्यटकहरुले लैजाने गरेका छन् । जिल्लाको मध्य क्षेत्रबाट यहाँ पुग्नका लागि सहजै छ । यदि सार्वजनिक यात्रुबाहक सवारी चल्न थालेमा भित्रिकोटमा पर्यटकको घुइचो लाग्ने अनुमान गरिएको छ ।
सडक सुविधा भए आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाई समेत ल्याउन सकिने प्यूठान नगरपाकिला ६ का वडा अध्यक्ष एनपि मगरले बताए । ‘भित्रीकोट दरवार हेर्न आउनेलाई झुलेनी र झुलेनी आउनेहरुलाई भित्रीकोट सम्म ल्याउन सक्नुपर्छ’, उनले भने–‘अब खानेपानी, सडक पूर्वाधार र भौतिक पूर्वाधार निर्माणमा जोडदिनु छ ।’
ऐरावती पार्कमा आन्तरिक पर्यटक रमाउदै

पर्यटकीय स्थल ऐरावती पिकनिक पार्कमा हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । वरिपरि जंगलले घेरिएको पार्कमा दैनिक जसो पर्यटकहरु आउने गरेका छन् । ऐरावती गाउँपालिकाको–५ पाकलाको पपिलनेटामा पर्ने पिकनिक पार्कको अहिले रुप पनि फेरिँदै गएको हो ।
स्थानीय तहको दोस्रो निर्वाचन पछी ऐरावती गाउँपालिकाले यस ठाउँलाई विशेष महत्वका साथ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्दै गएको छ । हाल उक्त ठाउँमा अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज खान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको पार्क हेरालु गोपाल कुमार कुमालले बताउछन् । ‘१ वर्ष जति भो यस पार्क हेरालुको रुपमा बसेको ।’ उनले भने– ‘एक जना बराबर ५ रुपियाँ शुल्क लिने र पिकनिक मनाउन आउनेहरुको लागी ३ सय शुल्क लिने गरेका छौं ।’ करिव गत आर्थिक वर्षमा ३ हजार भन्दा बढी पर्यटक अवलोकन गर्न आएको हेरालु कुमालले जानकारी दिए । पर्यटकहरुबाट उठाएको शुल्क मर्मत सम्भारमा लगाउनुका साथै आफुलाई ३० प्रतिशत पारिश्रमिक दिने गरेको उनले बताए ।
ऐरावती पिकनिक पार्क पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न गाउँपालिकाले २०७६ साल देखी हालसम्म करिव ३ करोड खर्च गरिसकेको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताए । ऐरावतीलाई पिकनिक पार्कमा सभाहल, चिप्लेटी, वाटर फाउनटेन, गोलघर मन्दिर, रेलिंङ र बस्ने बेन्च लगायतका थुप्रै पूर्वाधार निर्माण गरिएको बताउदै पिउने पानी र शौचालयको व्यवस्था रहेको उनले बताए ।
सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐरावती पिकनिक पार्क पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताउँछन् । उनले भने– ‘ हाम्रो गाउँपालिका भित्र धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् त्यो मध्ये यो पिकनिक पार्क मुख्य हो । यस ठाउँ आकर्षक गन्तव्य देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।’ धार्मिक पर्यटनको रुपमा निकै स्थापित ऐरावती धाम पालिकाको मुख्य चिनारीको रुपमा रहेको उनी बताउछन् ।
ऐरावती पिकनिक पार्क प्युठानको मात्र नभई लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।’ अध्यक्ष शाहले भने– ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’
ऐरावती पिकनिक पार्क पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न गाउँपालिकाले २०७६ साल देखी हालसम्म करिव ३ करोड खर्च गरिसकेको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताए । ऐरावतीलाई पिकनिक पार्कमा सभाहल, चिप्लेटी, वाटर फाउनटेन, गोलघर मन्दिर, रेलिंङ र बस्ने बेन्च लगायतका थुप्रै पूर्वाधार निर्माण गरिएको बताउदै पिउने पानी र शौचालयको व्यवस्था रहेको उनले बताए ।
भालुवाङ–प्युठान सडक खण्ड चेरनेटा बाट करिव १५ किलो मिटरमा रहेको पार्क रहेको छ ।
पर्यटकको नजर नपुगेको गन्तव्य
ऐरावती गाउपलिकाको भित्र रहेका सन्दुर तथा मनोरम पर्यटकीय स्थलहरुमा पर्यटकको नजर पुग्न नसक्दा ओझेलमा परेका छन् । ऐरावती गाउँपलिका ३ कमिरे लेखको सुपाडाडामा भ्यु टावर निर्माण गरिएको अध्यक्ष शाहले बताए । सेत्याम्य फुलेका हिमशृखला, विभिन्न आकृतिमा सजिएका टापु, पहाडका चुचुरासंगै विजुलीकोट, बरौलाकोट, लिपिकोट जस्ता पालिकाकै महत्वपूर्ण ठाउँहरु भ्यु टावरबाट देख्न सकिने उनले बताए । कमिरे लेकमा भ्यु टावर निर्माणको लागि ६० लाख बजेट खर्च भएको उनले जानकारी दिए । यि विभिन्न कोटहरु संगै प्राकृतिक सौन्दर्ताले भरिपुर्ण जावुने दह कुटी लेक जस्ता ठाउँहरु अझै प्रचारमा नआएको गुनासो समेत गरे । पालिका भित्र रहेका पर्यटकीय ठाउँहरु एक पटक पुगेको पर्यटक त्यसपछि स्वत ति ठाउँले तानेर लैजाने गरेको समेत उनले बताए ।
धार्मिक पर्यटकीय स्थल ऐरावती
झिमरुक र माडी नदीको संगम स्थल ऐरावती धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्य हो । सरुमारानी गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको संग जोडिएको गाउँपालिकाको नामाकरण समेत ऐरावती नै राखिको छ । जुन गाउँपालिका मुख्य धार्मिक पर्यटकीय स्थल हो । किवदन्ती अनुसार स्वर्ग बाट अप्सराहरु ऐरावत हात्तिमा सवार गरि पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि सोही हात्तिमा प्युठानको स्वर्गद्धारीको बाटो हुदै स्वर्ग प्रस्थान गर्ने स्थान भनेर चिनाइएको जानकारहरु बताउछन् । सोही अनुसार स्वर्गद्धारी र ऐरावतीको नजीकको सम्बन्ध रहेको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए ।
उक्त ठाउँ अर्घाखाँचीबाट एक व्यक्ति मोक्ष प्राप्तिका लागि आफ्ना सम्पूर्ण परिवार त्यागेर ऐरावती स्थलमा कुटी निमार्ण गरि बसेको इतिहास बुढापाकाहरुबाट सुनेको बताउछन् । दुई नदीको संगम स्थाल ऐरावती राप्ती नदिमा पणिरत भएको छ । उक्त स्थानमा मृत्युवरण भएको खण्ड सिद्धि प्राप्ती हुने विश्वासका साथ ति व्यक्ति नदिको एक्लै बसेरे नदि उर्लिएर आएको बेला ‘नदी आउ मलाई बगाउ’ भन्दा समेत उर्लीएको नदिले उनलाई नछोएको किबदन्ती छ ।
धार्मिक पर्यटकीय स्थल ऐतरावतीमा माघीको दिन मेला लाग्ने गरेको बताउदैं पुष मसान्तमा मेला भर्न आएका भक्तजनहरुले नुहाएर फर्किने गरेको अध्यक्ष शाहले बताए । सोरठी नाच, भैलो, लोकगित, भजनक्रितन गाउने गरेको उनको भनाइ छ । सोही दिन ऐरावती नदीमा स्नान गरेमा पाप कट्टी हुने जनविश्वास रही आएको छ ।
त्यस्तै विजुलीकोटको महत्व तथा परम्परा यहाँस्थित पुजारीले हातमा लिएर देउता नचाउने प्रचलन रहेको छ । यहाँका देउता पुजारीको हातबाट आफै दायाँबायाँ घुम्ने र नाच्ने गर्दछ ।
परम्पराकाल देखि नै बिजुलीकोटमा मूल पुजारी मगर जातिका व्यक्ति रहने गरेका छन् । दसैँ टीकाको भोलिपल्ट एकादसीका दिनमा बाजागाजासहित परम्पराकालका तरवार लगायतका हतियार हातमा लिएर सरायँ खेल्ने प्रचलन रहेको छ ।
नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहि आएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तु लगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका अध्यक्ष शाहले बताउछन् ।
पालिका भित्र रहेको ऐरावती पार्क, ऐरावती मन्दिर, विजुलीकोट, बरौलाकोट, जाबुने दह, लिपिकोट, कुटी लेख जस्ता पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रर्वद्धनका र विकासका लागि हालसम्म पालिकाले करिब ४ करोड बजेट खर्चिएको छ ।
स्याउलीवाङलाई कृषि पर्यटनसंग जोड्दै नौबहिनी
नौबिहिनी गाउँपालिकाले स्याउलिवाङ क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्न थालेको छ ।
जिल्लाका स्वर्गद्धारी, गौमुखी, ऐरावती, झाक्रिस्थान पछिको महत्वपूर्ण पर्यटकीय तिर्थस्थल नौवहिनीको काख रहेको स्याउलिवाङको उत्पादनले जिल्लाकै ध्यानकेन्द्रित गर्ने गर्दछ । नौवहिनी गाउँपालिका वडा नंम्बर १ मा अवस्थित धार्मिक पर्यटकीय स्थल नौबहिनी झरना पनि स्याउलिबाङ्ग गाउँको नजिकै रहेको छ । धार्मिक पर्यटकीय स्थल नौबहिनी र कोठिभिर आउने पर्यटकहरुलाई स्याउलिवाङको स्थानिय उत्पादनलाई कोशेली स्वरुप पर्यटकलाई विक्रि गर्ने योजना रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए । कोदो, मकैको परिकार, रातोसाग, आलु, सिमी लगायतका स्थानिय उत्पादनको स्वाद चाख्ने व्यवस्था मिलाउदै उक्त क्षेत्रको कृषिसंगै पर्यटन क्षेत्रको विकास गर्ने अध्यक्ष थापाको भनाइ छ ।
पर्यटकीय दृष्टिकोणले स्याउलीवाङ क्षेत्र निकै सुन्दर ठाउँ मानिन्छ । यतिवेला बाहानेबाट स्याउलिवाङ जाने बाटो स्थरउन्नती भइरहेको हुंदा स्याउलिवाङ जाने पर्यटकहरुलाई थप सहज हुने उनले बताए । ‘खेलेसीवाङ देखि स्याउलीवाङसम्म पर्यटकहरुलाई पद यात्राको लागि गोरेटो बाटो निर्माण भएको छ ।’ अध्यक्ष थापाले भने–‘सबै भन्दा बढि लगानी नौबहिनी र स्याउलिवाङमा भएको छ ।’ कृषि पर्यटनको रुपमा विकास गर्न हामीले त्यस क्षेत्रलाई प्राथामिकतामा राखेका छौ ।
पर्यटकलाई पर्खिएको नौबहिनी

पर्यटकीय स्थल नौवहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौवहिनी राखिएको छ । रोल्पा र बाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने यो क्षेत्रले पर्यटकहरुलाई पर्खिरहेको छ ।
जिल्लाकै दुर्गम क्षेत्रमा अवस्थित नौवहिनीका विषयमा धेरै चर्चा गरेको पाईन्छ । नौवहिनीको किवदन्ती नै फरक छ । यस क्षेत्रमा नौवहिनीहरु संगै बसेको भन्ने सुन्न सकिन्छ । नौवहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौवहिनी नुहाउने पधेरो देख्न सकिन्छ । नौवटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौवहिनी राखिएको भन्ने किवदन्ती पाईन्छ ।
नौ बहिनी क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाको प्रवद्धनका लागि काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । मुख्य गरी नौबहिनी, खलेसीवाङ, कोठीभिर, स्याउलिवाङ, झुलेनी, त्रिकुटा मन्दिर, बाहुनपोले शिवमन्दिर र माक्रे मन्दिरलाई प्राथमिकतामा राखेको प्रमुख पौडेलले बताए । ‘अहिलेसम्म पालिकाले पर्यटन क्षेत्रमा गरेको लगानीबाट आर्थिक रुपमा प्रतिफल आएको छैन ।’ उनले भने–‘स्थानिय तहले कृषि पर्यटनलाई जोड्दै आर्थिक विकासमा टेवा पुग्नेगरी लगानी गर्नु पर्छ ।’ कुनैपनि जाति विशेषका ऐतिहासिक कुलघरहरुमा लगानी गर्न उचित नहुने उनले बताए ।
हालसम्म पालिकाले पर्यटन क्षेत्रमा करिब २ करोड बजेट लगानी गरेको समेत जानकारी दिए ।
गौमुखीको थप पर्यटन विकास गर्न डिपिआर तयार
धार्मिक पर्यटकीय स्थल गौमुखी क्षेत्रको पर्यटन विकासमा लागि गौमुखी पर्यटन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । गौमुखी गाउँपालिकालाई ग्रामीण पर्यटन विकासमा जोड दिंदै १३ करोडको डिपिआर तयार गरेको छ । पालिकाको पर्या पर्यटन, सांस्कृति पर्यटन, जगंल सफारी र सात प्रकारका लागिगुरांस फुल्ने नांङ्गीक्षेत्रमा पदयात्रा लगायतका क्षेत्रलाई मुख्य रुपमा विकास गर्न थालिएको पालिकाका उपाध्यक्ष महाविर रानाले बताए । ‘हाम्रो पालिकाले पर्यटन क्षेत्रको विकासका लागि राम्रै लगानी गरेको छ ।’ उपाध्यक्ष रानाले भने–‘अर्खा र रजवारालाई जोड्नका लागि ३ सय ६५ मिटर लामो र १ सय ८० मिटर अग्लो झोलुङ्गे पुल निर्माणधिन अवस्थामा रहेको छ ।’ पल निर्माणभए संगै गाउँका सर्वसाधारणलाई आवत जावत गर्न सहज हुनुका साथै पर्यटन प्रबद्र्धनमा राम्रो टेवा पुग्ने उनले बताए ।
दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो आयोजना २०८२ मंसिरसम्म पूरा हुने जनाइएको छ । ०८१ जेठमा सम्झौता भएको यो पुल निर्माण गर्न अधिकारी÷अपर तामाकोसी जेभीले ठेक्का पाएको उनले जानकारी दिए ।
पर्यटकको सुविधाका लागि होमस्टे

प्रशिद्ध धार्मिक पर्यटकीय तिर्थस्थल गौमुखी दर्शन गर्न आउने पर्यटकको लागि सुविधायुक्त सामुदयीक होमस्टे सञ्चालनमा आएको उपाध्यक्ष रानाले बताए । गौमुखी गाउँपालिका वडा नं. २ अर्खा, किनाममा गौमुखी सामुदायीक होमस्टे सञ्चालन भएको छ । गौमुखी तिर्थ गर्न आउने पर्यटकहरु बढ्दै गएकाले बसोवास र खानपानका लागि सहज होस् भन्ने उदेश्यले होमस्टे सञ्चालन गरिएको उपाध्यक्ष रानाले बताए । ‘चालु आर्थिक वर्षभित्र सडक सञ्जालले जोड्दै छ ।’ उपाध्यक्ष रानाले भने–‘सडक पुगेपछि पर्यटकको संख्या झनै बढ्ने छ । पर्यटकलाई खाली हात नफर्काउन त्यस क्षेत्रलाई किवि पकेट क्षेत्रको रुपमा विकास गर्दैछौं ।’ पहिलेको तुलनामा पर्यटकहरु बढ्दोक्रममा रहेकोले स्थानिय उत्पादनलाई बजारीकरण गर्न होमस्टेले थप सहयोग पुग्ने उनले बताए । गौमुखी क्षेत्र, वाइसमुल झरना र झाक्रिढुंगा घुम्न आउने सबै पर्यटकहरुलाई किवि खुवाउनका चालु आर्थिक वर्षमा १३ लाख बजेट विनियोजन किविको विरुवा लगाउने काम सुरु गरिएको उपाध्यक्ष रानाले बताए ।
गाउँपालिकाको नाममा जग्गा लिइ लुम्विनी प्रदेश सरकारको ४० लाख बजेटमा होमस्टेको संरचना निर्माण भएको रानाले जानकारी दिए । होमस्टे २ वटा शौचालय सहितको कोठा, एउटा हल कोठा र एउटा सादा कोठाको संरचना बनाइएको छ ।
होमस्टे सञ्चालनमा आएपछि अर्खा, ठुलाचौर र किनामवासी जनसमुदायले अत्यन्तै खुसी व्यक्ति गरेका छन् । गौमुखी क्षेत्रमा तारबार गर्नुपर्ने, पर्यटकको सरसामान सुरक्षाका लागि गेट बनाएर साँचो लगाउने व्यवस्था हुनुपर्ने र दैनिक छोटो समयमा लागि भएपनि पुजारी राख्नु पर्ने स्थानियवासी खड्ग घर्ती मगरले बताए । त्यस्तै सोही निवासी झुमाकुमारी बुढाले गौमुखी क्षेत्रको सरसरफाई गर्न र महिला पुरुषका लागि छुट्टाछुट्टै नुहाउने ठाउँ बनाउन गाउँपालिकालाई आग्रह गरेकी छिन् ।
होमस्टे संरचना निर्माणका लागि स्थानियवासी दुजमान घर्तीमगर, गणेश बहादुर पुन, इक बहादुर घर्ती, झुमा कुमारी बुढा र खड्ग घर्ती मगरले जग्गा दान गरेका थिए । बाटो पुग्नासाथ पार्किङका लागि जग्गा निशुल्क उपलब्ध गराउनका लागि स्थानियवासी तयार रहेको गणेश पुन मगरले बताए । बैदेशिक राजेगारी छोडेर गाउँमै काम गर्ने उदेश्यका साथ होमस्टेको सम्पूर्ण जिम्मा लिएको होमस्टे सञ्चालक जीवन घर्तीमगरले बताए ।
स्थानिय सरकार आइसकेपछि पालिकाले विशेष गरी झाक्रिढुङ्गा, तामाखानी, बाइसमुल झरना, धार्मिक स्थल गौमुखी क्षेत्र, गोद्रेचौर, होमस्टे सञ्चालन, नारीकोट देउराली, खुङ्गटोप्र गुफा, नाङ्गीलेख, तामाङ बौद्ध गुम्बा, लुम्बिनी प्रदेशको सवै भन्दा अग्लो शिवको मुक्ति (तामेश्वर शिवालय), दहबसे र रानीतालमा लगानी गरेको उपाध्यक्ष रानाले बताए । गौमुखी गाउँपालिका क्षेत्रको पर्यटन विकासका लागि हालसम्म करिब ४ करोड रकम खर्च भइसकेको उपाध्यक्ष रानाले जानकारी दिए ।
आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्दै रक गार्डेन

झिमरुक गाँउपालिकामा अवस्थित रक गार्डेन (ढुगें बगैचा) पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ ।
झिमरुक गाउँपालिका वडा नं. ५ को ढाँड बजार नजिकै रहेको ढुंगैढुंगाको आकृति देखिने ढाँड रक गार्डेन ७० रोपनी जग्गामा फैलिन छ । नेपालको १०० गन्तव्य मध्येको एक रहेको ढाँड रक गार्डेनमा हालसम्म डेढ करोड लगानी गरी सकेको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतराले बताए । यस ढुंगे बगैचा प्राकृतिक रुपमा निर्माण भएका बिशाल चट्टानहरु र ति चट्टानका अनौठो आकार प्रकारका हेर्न सकिने उनले बताए ।
मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले पर्यटकहरुको मनै लोभ्याउछ । सडक पूवार्धार निर्माण व्यवस्थित नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । पिउने पानी, शैचालय, बेन्च, चौपारी, सिढी लगायतका भौतिक संरचनाहरु निर्माण गरिएपछि अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको अध्यक्ष महतराले बताए ।
ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै झिमरुक फाँट अवलोकन गर्दै पुग्न सकिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आय आर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।
ऐतिहासिक गन्तव्य बाँदीकोट–ओखरकोटको स्वरुप फेरियो

ऐतिहासिक धार्मिक पर्यटकीय स्थल वाँदीकोट–ओखरकोटको स्वरुप फेरिदै गएको छ । वाँदीकोट–ओखरकोटको कोटमा पुग्न बनाईएको सिंडीलाई मिनि ग्रेटवालले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।
वडा नं. ३ र ५ को सिमानामा पर्ने उक्त धार्मिक तथा पर्यटकीय स्थलमा पालिका भित्रको मुख्य स्थलको रुपमा हेरिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतराले बताए । ‘धार्मिक पर्यटनका साथै घुम्नको लागि मनोरम प्राकृतिक टापु र प्राकृतिक छटाहरुको दृष्यावलोकन प्रमुख विशेषता हुन् ।’ अध्यक्ष महतराले भने–‘ वादीकोट–ओखरकोट खड्ग मन्दिर प्रवद्र्धनका लागि पौने दुइ करोड लगानी भैसकेको छ ।’ गाँउपालिकाले पर्यटन प्रवद्र्धनका लागि बाँदीकोट– ओखरकोटको कोट र ढाँड रक गार्डेनमा ठुलो लगानी गरेको समेत उनले बताए ।
सिंढी निर्माण भएसंगै जिल्लाका आन्तरिक पर्यटकहरु घुम्न आउन थालेको स्थानिय अईन्द्र वि.क.ले बताए । ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको कोटमा तात्कालिन मगर राजा परस घर्तिले राज्य चलाएको स्थानियहरु बताउँछन् । कोटमा अवशेषका रुपमा दरबारका भौतिक संरचनाहरु अहिले पनि देख्न सकिन्छ ।
करिब ६ सय मिटर लम्बाई रहेको सिंढीमा स्थानिय ढुङ्गा प्रयोग गरिएको छ भने सिंडिको दाँया–बाँया तर्फ जेआईपाइपको रेलिङ्ग बनाईएको छ ।
एक वडा एक पर्यटकीय गन्तव्य
आफु निर्वाचित भइसकेपछि प्रत्येक वडामा एउटा आन्तरिक पर्यटकीय गन्तव्य बनाउने योजना बनाइ ति स्थलहरुमा लगानी भैरहेको पालिका अध्यक्ष महतराले बताए । ब्राहथान, गढीआलम देवी मन्दिर, बाँदीकोट–ओखरकोट खड्ग मन्दिर, भुल्के महादेव मन्दिर, ढाँड रक गार्डेन, भेडिराख्ने चौर, तुषाराकोट र स्नानकोट लाई आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने योजनाका साथ पालिकाले लगानी गरिरहेको उनको भनाइ छ । यि गन्तव्यहरु आन्तरिक पर्यटक भित्र्याउने र आवस्यक भौतिक पूर्वाधार विकास गरि आन्तरिक स्रोतसंग जोडन सकिने समेत अध्यक्ष महतराले बताए । चालु आर्थिक वर्षमा ८२ लाख खर्च भइ रहेको समेत उनले जानकारी दिए ।
सिंढी निर्माण भएसंगै जिल्लाका आन्तरिक पर्यटकहरु घुम्न आउन थालेको स्थानिय अईन्द्र वि.क.ले बताए । ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको कोटमा तात्कालिन मगर राजा परस घर्तिले राज्य चलाएको स्थानियहरु बताउँछन् । कोटमा भग्नाअवशेषका रुपमा दरबारका भौतिक संरचनाहरु अहिले पनि देख्न सकिन्छ ।
करिब ६ सय मिटर लम्बाई रहेको सिंढीमा स्थानिय ढुङ्गा प्रयोग गरिएको छ भने सिंडिको दाँया–बाँया तर्फ जेआईपाइपको रेलिङ्ग बनाईएको छ । तत्कालिन संघिय सांसद दुर्गा पौडेलको सांसद विकास कोष मार्फत एक लाख बजेट विनियोजन गरी सिंडी निर्माण कार्य सम्पन्न गरिएको थियो ।
कृषि र पर्यटन प्रमुख रुपमा विकास गरी बैदेशीक रोजगारमा जाने युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ काम गरिरहको अध्यक्ष महतराको भनाइ छ । पालिकाले हालसम्म पर्यटन प्रवद्र्धनमा करिब ४ करोड रकम खर्च गरेको छ ।
पार्कै पार्कले भरिएको स्वर्गद्धारी

स्वर्गद्धारी नगरपालिका भित्र ठुल्ठुला ४ वटा पार्कहरु निर्माण भएका छन् । स्थानिय तह आएपछि अन्य संरचनाको विकाससंगै पर्यटन क्षेत्रमा महत्वपूर्ण रुपमा अघि बढाइएको छ । स्वर्गद्धारी नगरपालिका सबैभन्दा बढि रकम खर्चिएर बनाएको स्वर्गद्धारी नगरपालिका ८ स्थित शान्ति पार्क हालसम्म ५ करोड ८८ लाख खर्च गरी संरचनाहरु निर्माण गरिएको छ । त्यस्तै स्वर्गद्धारी नगरपालिका ३ चिरावारी स्थित चिल्ड्रेन पार्क पनि ठुलै रकम खचिएर निर्माण भएको छ । चिल्ड्रेन पार्क निर्माणका लागि नगरपालिकाले ५ करोड लगानी गरिसकेको स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले जानकारी दिए । स्वर्गद्धारी नगरपालिका–४ जिमुरपाटा स्थित सुचना तथा प्रविधि पार्कमा नगरपालिकाले २ करोड ३८ लाख ९ हजार खर्च गरिसकेको छ भने स्वर्गद्धारी नगरपालिका ५ सारीमा रहेको भुवनोटमा पार्क निर्माणका लागि ८ लाख बजेट विनियोजन गरी संरचना निर्माण गरिएको प्रमुख रिजालले बताए ।
यि पर्यटकीय स्थलहरुलाई संरक्षण गर्दै निकट भविष्यमा आन्तरिक आयस्रोतसंग जोडन सकिने स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीले बताए । ‘स्वर्गद्धारी मन्दिर दर्शनका लागि आउने पर्यटकहरुलाई नगरक्षेत्रका पार्कहरुमा अवलोकन गर्ने व्यवस्था मिलाउन साथ पालिकालाई प्रतिफल आउन थाल्छ ।’ नगरप्रमुख भण्डारीले भने–‘यसले स्थानिय सरकारको आर्थिक स्रोत बढाउने विश्वासका साथ लगानी गरेका छौं ।’ नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षणमा लागेको समेत उनले बताए ।
नेपालको सात धाम मध्यको एक स्वर्गद्धारी

स्वर्गद्धारी नगरपालिका २ मा अस्थित स्वर्गद्धारी नेपालको सात धाम मध्यको एक हो । पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा मुलुकभरका दर्शनार्थीसंगै भारतको विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्दछन् । प्यूठान जिल्लालाई चिनाउने स्वर्गद्धारी समग्र जिल्लाको आशाको केन्द्र समेत मानिन्छ ।
स्वर्गद्धारी दर्शन गर्न भारतीय नागरिकहरुको संख्या बढदैक्रममा रहेको स्वर्गद्धारीका पुजारी नारायण न्यौपानले बताए । ‘तिर्थयात्रीको इश्चा अनुसार जाप, रुद्री, बन्तबन्ध, विवाह, चौरासी पुजाँ लगायतका जुनैसकै पुजापनि गरिदिने गरेका छौं ।’ पुजारी न्यौपानेले भने–‘मन्दिर व्यवस्थापन समितिले तोके अनुसार हरेक प्रकारको पुजाको फरक फरक शुल्क लाग्ने गर्दछ ।’ जुनसुकै ठाउँबाट आएका दर्शनार्थी भएपनि उहाँहरुले इच्छाएको खण्डमा पुजापाठ गरिदिदै आएको उनले बताए ।
प्रहरी पोष्ट स्वर्गद्धारीका अनुसार ‘पछिल्ला वर्षहरुमा स्वर्गद्धारीमा दर्शनार्थीहरु देश व्यापी रुपमा र छिमेकी देश भारतबाट आउनेको संख्या ह्वात्तै वढेको छ ।’ विशेष गरी भरतका तिर्थयात्रीहरु माघ १५ देखि फागनु १ गतेसम्म र साउन महिना भर दर्शनका घुइचो लाग्ने गरेको समेत प्रहरी स्रोतले जनाएको छ ।
पर्यटक पर्खाइमा सरुमारानीको किमिचौर दह

प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका–६ स्थित कुटिचौर गाउँको शिरमा रहेको पर्यटकीय गन्तव्य ‘किमिचौर दह’ ले पर्यटकलाई पर्खिरहेको छ । किमिचौर दह वरिपरि सल्लेरी वनले घेरिएको ठुलो जंगलको विचमा चारैतिर डाँडै डाँडाले ढाकेको छ । हेर्दा अचम्म लाग्ने अदभुत सुन्दरताले भरिएको दह बस्तीको शिरमा अग्लो डाडाँको काखमा प्राकृतिक रुपमै बनेकोले निकै सुन्दर देखिने गर्दछ ।
किमिचौर दहलाई गाउँपालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा विकास गरिएको हो । स्थानिय सरकार सञ्चालनमा नआउदै दह संरक्षण लागि तत्कालिन जिविसले ३ लाख र तिराम गाविसले ४ लाख बजेट खर्च गरेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । ‘स्थानिय तह आइसकेपछि दहसम्म पुग्ने मोटरबाटो निर्माण गरेका छांै ।’ अध्यक्ष विश्वकर्माले भने–‘पहिले अधुरो रहेको दह वरिपरि पर्खाल निर्माण, प्रतिक्षालय, बराह मन्दिरसम्म पुग्नका लागि सिढी समेत बनाएका छौं ।’ दहमा दुइवटा सिपी समेत राखिएको अध्यक्ष विश्वकर्माले बताए । पर्यटकीय ठाउँको विकास नभएसम्म सुन्दर पालिका बनाउन नसकिने उनले बताए । ‘गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र सरुमारानी लेक, किमिचौर दह र रानीकुवा (गढी) हुन,’उनले भने, ‘पालिका भित्रका पर्यटकिय क्षेत्रको संरक्षणसंगै संरचना निर्माण गरी निकट भविष्यमा आन्तरिक आम्दानीको स्रोतसंग जोड्न सकिन्छ ।’ किमिचौर दहको वरीपरी तारवार गरी संरक्षण गरेको बताउदै दहमा पानी कम हुन थालेको उनले बताए ।
पर्यटकहरुले ददेरी स्थित दुर्गा भगवती मन्दिर, फोर्साबाङको मदन आश्रीत पार्क, बड्डडाडाँको गढी दरवार, रानिकुवा अवलोकन गर्न सकिन्छ । पदमार्ग हुँदै पुठाखोला दरवार, सिद्धलेक र सरुमारानीको चुली छिचोल्दै दहपुग्न सकिने अध्यक्ष विश्वकर्माले बताए । पालिकामा अवस्थित सम्पदाहरुको एकिकृत रुपमा प्रचार प्रसार र पूर्वाधार निर्माण तर्फ विशेष ध्यान दिएको उनले सुनाए ।
स्थानिय तह सञ्चालन भएपछि सरुमारानी गाउँपालिकाले पर्यटकीय ठाउँको विकासका लागि १ करोड ४५ लाख ५२ हजार रकम खर्च गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए । पर्यटन क्षेत्रमा ठुलो लगानी भइसकेको बताउदै अहिलेसम्म प्रतिफल नआएको बताए । ‘एक डेढ करोड खर्च गरेर बनाएका ठुला पार्क तथा पर्यटकीय स्थलहरुमा वर्षभरी सय जना पर्यटक पनि घुम्न जादैनन् भने त्यसको औचित्य भएन ।’ प्रमुख पाठकले भने–‘कम्तिमा त्यसलाई सञ्चालन गर्ने खर्च त्यहीबाटै आउद कि आउदैन ? भन्ने कुरा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।’ पर्यटन प्रर्वद्धन भन्दै ठुलो रकम खर्च भइसकेको छ, अब पर्यटकीय क्षेत्रमा लगानी गर्दा प्रतिफल के हुन्छ भन्ने कुराको राम्रो अध्ययन गरेर मात्र बजेट खर्च गर्नुपर्ने उनले बताए ।
जिल्ला स्तरको धार्मिक तथा पर्यटकीय स्थललाइ अलि बढि महत्व दिने र स्थानिय तहले पालिका स्तरको एउटा ठाउँलाई मात्र राम्रो पर्यटकीय गन्तव्य बनाउनु पर्ने उनको भनाइ छ ।