प्यूठान । प्यूठान नगरपालिका जिल्लाकै उर्वर खेतीयोग्य जमिन भएको पालिका हो । झिमरुक फाँटले खेतीयोग्य भुमिको ठुलो हिस्सा ओगटेको छ । नगरक्षेत्र भित्रको केही ठाउँहरुमा कृषकले व्यवसायीक रुपमा तरकारी खेती, फलफुल खेती, माछा पालन, कुखुरा पालन, मौरी पालन, अन्डा उत्पादन, दुध उत्पादन गर्दै आएका छन् । झिमरुक नदीको किनारका अधिकांश क्षेत्रहरुमा निर्वाहमुखी खेती धान र गहुं मात्र उत्पादन हुदैं आएको छ । विस्तार जग्गामा भाडा लिएर व्यवसाय खेती गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
प्यूठान नगरपालिका ८ खप्रेङखोला निवासी विपना के.सी.ले लामो समयदेखि मौसमी तथा वेमौसमी सबै जातका तरकारी उत्पादन गरी तरकारी व्यवसायमा रमाउदै आएकी छिन् । सुरुमा होटल व्यवसाय गरेकी उनले सोही ठाउँका केही कृषकहरु तरकारी उत्पादन गरेको देखेपछि तरकारी व्यवसाय रोजाइमा परेको उनी बताउछिन् । ‘२०७२ सालदेखि साढे दुइ रोपनी जग्गा भाडामा लिएर तरकारी व्यवसाय सुरु गरेकी थिए ।’ कृषक विपनाले भनिन्– ‘आफ्नो हिसावले समय मिलाएर काम गर्न सकिने हुदां तरकारी खेती स्वतन्त्र पेशा हो ।’ होटल व्यवसाय गर्दा ग्राहक कुर्नु पर्ने, बनाएर राखेका खानेकुरा विग्री नहुंदा घाटा हुने, ग्राहक आएपछि मात्र आफुव्यस्त हुनु पर्ने थियो । अहिले मन लगाएर बिहान साझँ फर्ममा काम गरेर दिउसो आराम गर्ने गर्दछु । आफ्नो अनुकुल मिलाएर काम गरेपनि हुने हुंदा तरकारी खेती राम्रो लागेपछि व्यवसायीक रुपमा तरकारी उत्पादन थालेको उनी बताउछिन् । कृषक के.सी.ले टमाटर, काक्रा, सिमी, ब्रो काउली, बन्दा, घिरौला, खुर्सानी, लौका, करेली, भान्टा, सिम्लामिर्च लगायतका मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्दै आएको बताइन।
२०७७ सालमा थप विस्तार गर्दै साढे सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको बताउछिन् । कोरोनाकै समयमा २०७८ सालमा विपना कृषि फर्म दर्ता थप व्यवस्थित गर्दै तरकारी उत्पादनलाई बढाउदै लगेको उनको भनाइ छ । बार्षिक ६० हजार जग्गा भाडा तिर्दै आएको उनले बताइन । विउपल तथा बेर्ना जमाउदा, रोप्दा, गोडमेल गर्दा आंशिक कामदार लगाउने गरेको कृषक विपनाले बताइन । विपना दम्पती र कक्षा ९ मा अध्ययन गर्ने छोरा अभिषेकको खर्च व्यवस्थापन गर्ने मुख्य आयस्रोत नै तरकारी व्यवसाय हो । उनले फर्मबाट बार्षिक ३ लाख ५० हजारको कारोवार गर्ने र २ लाख ५० हजार आम्दानी गर्दै आएको बताउछिन् । सुरुमा साना किसान कृषि सहकारीबाट ऋण लिइ करिब १ लाख लगानीमा तरकारी व्यवसाय सुरु गरेको उनको भनाई छ ।
तरकारीले बजार पाउने तर, मुल्य नपाउने
ठुलो लगानी गरेर कृषि फर्म सञ्चालन गरेका कृषकहरुको मुख्य समस्या भनेको उत्पादन लागत अनुसार तरकारीले मुल्य नपाउनु हो । उत्पादन गरेको तरकारीले बजारै पाएन भन्ने गुनासो नभएपनि तराइबाट आउने तरकारी सस्तो हुंने हुंदा हामीले उत्पादन गरेको तरकारीले बजार पाए पनि मुल्य नपाएको के.सी.ले सुनाइन । ‘तराइको तरकारीमा उत्पादनमा लगानी पनि कम लाग्ने र प्रशस्तै विषदी प्रयोग गरी कम लागतमा धेरै उत्पादन गरिएको हुन्छ ।’ उनले भनिन्–‘हामीले कम विषादी र बढि प्रांगारिक मोलको प्रयोग गर्दा कम तरकारी फल्ने गर्दछ त्यस कारण मौसमी तरकारीले खासै मुल्य पाउदैन ।’ यससंगै दर्ता नगरी थोर थोरै तरकारी खेती गर्ने कृषकहरुको संख्या धेरै भएपनि व्यवसाय रुपमै तरकारी पेशामा लागेका कृषक खासै नभएको उनले बताइछिन् । तरकारी खेती गर्दा सबै कृषकले एउटै उत्पादन गर्नु भन्दा फरक फरक खालका तरकारी उत्पादन गरी एकीकृत रुपमा बजारीकरण गरेमा राम्रो मुल्य पाउनुका साथै बजार पनि पाउने कृषक के.सी.ले बताइन् ।
त्यसैगरी सोही निवासी माधवा गिरी पनि विगत लामो समयदेखि तरकारी खेती गर्दै आएकी छिन् । टमाटर उत्पादनलाई मुख्य र अन्य मौसमी तथा बेमौसमी तरकारीहरु फलाउदै आएको उनले बताए । अभिशेष कृषि तथा पशुंपक्षी फर्म दर्ता गरी करिब ५ रोपनी जग्गामा तरकारी खेती गरी आम्दानी गर्दै आएको उनको भनाइ छ ।