समय : ०९:०४ am | शुक्रबार , मंसिर ११ गते २०८३

बालविवाह अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

स्वर्गद्वारी अपडेट | मंसिर ११ गते २०८३

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास आवश्यक रहेको बताएका छन्।

बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालविवाहमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन्।

बालविवाह बालअधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पार्ने सामाजिक समस्या भएको मुख्यमन्त्री आचार्यले उल्लेख गरेका छन्। बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, सम्मानजनक जीवन र उज्ज्वल भविष्य प्रदान गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

बालविवाहको अन्त्य सामाजिक चेतना, व्यवहार र सोचमा परिवर्तनसँग जोडिएको विषय भएकाले यसको उन्मूलनका लागि सरकार, परिवार, समुदाय, विद्यालय, नागरिक समाज र सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताए। कानुनी व्यवस्था र सामाजिक जागरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहलाई सामाजिक रूपमा अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनले उल्लेख गरे।

लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। चालु आर्थिक वर्षमा प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम केन्द्रित गरिएको उनले बताए।

स्थानीय तह, समुदाय र सरोकारवाला संस्थासँगको सहकार्यमा जनचेतना अभिवृद्धि, बालअधिकार संरक्षण, किशोरकिशोरीको सशक्तीकरण तथा बालविवाह रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गरिएको छ।

बालविवाहमुक्त प्रदेश निर्माण सरकारी प्रयासबाट मात्रै सम्भव नहुने भन्दै मुख्यमन्त्री आचार्यले हरेक घर, परिवार, समुदाय र संस्थाले बालबालिकाको अधिकार तथा भविष्यप्रति जिम्मेवार भएर सकारात्मक सामाजिक परिवर्तनको अभियानमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्।

नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा बालविवाह अन्त्य गर्दै बालबालिकाको अधिकार, सपना र भविष्य सुरक्षित गर्न सामूहिक संकल्प गर्न उनले आह्वान गरेका छन्।

यो पनि पढ्नुहोस्