समय : ०४:०६ pm | शुक्रबार , असाेज ९ गते २०८३

माण्डवीमा सम्भावित बाढी तथा डुबान क्षेत्रको स्थलगत निरीक्षण

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०८३

प्युठान। सम्भावित बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोशन"ले स्थलगत निरीक्षण गरेका छन्।

वर्षायाममा नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै पालिकाका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले अध्यक्ष अधिकारीले जोखिमयुक्त क्षेत्रको अवस्था बुझ्न स्थलगत निरीक्षण गरेका हुन्।

अध्यक्ष अधिकारीले माण्डवी गाउँपालिका–१ अन्तर्गत सिमलचौर, बागेखोला र अरङखोला तथा वडा नम्बर ३ अन्तर्गत जस्पुर बजार र दारिमचौर क्षेत्रको निरीक्षण गरेका छन्। यस्तै, वडा नम्बर ५ अन्तर्गत एकचोट बस्तीको समेत स्थलगत निरीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

निरीक्षणका क्रममा अधिकारीले सम्भावित बाढी तथा डुबानबाट नागरिकलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा सम्बन्धित कर्मचारी र स्थानीयसँग जानकारी लिएका थिए।

उनले जोखिमयुक्त क्षेत्रमा पानीको निकास सहज बनाउने, अवरुद्ध नाला तथा कुलो सफा गर्ने लगायतका कामलाई प्राथमिकतामा राखिएको बताए। विपद्को अवस्था आउनुअघि नै आवश्यक व्यवस्थापन तथा तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको उनले बताए।

बाढी तथा डुबानको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष अधिकारीले विपद्को अवस्था आए नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार तथा राहतका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

अनुगमनका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनकुमार शाहीले समेत सम्भावित बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।

गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा जनशक्ति परिचालन गर्ने जनाएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई थप व्यवस्थित बनाउने गाउँपालिकाको भनाइ छ।

यो पनि पढ्नुहोस्