प्यूठान । ऐरावती गाउँपालिका–२ बरौंलामा रहेको सेभेन स्टार विकास केन्द्रको आयोजनामा जिल्ला स्तरीय खुला क्रिकेट प्रतियोगिता ‘बरौंला प्रिमिएर लिग–सिजन–२’ आगामी असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने भएको छ।
वडा दशैंको पूर्वसन्ध्यामा ऐरावती गाउँपालिका–५ झिवाङस्थित ऐरावती खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ४ हजार ४ सय ४४ रुपैयाँ, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत ट्रफी प्रदान गरिनेछ।
चिठ्ठा प्रणालीबाट सञ्चालन हुने प्रतियोगिताका सबै खेल १५ ओभरका हुनेछन्। प्रत्येक टोलीमा जिल्ला बाहिरका बढीमा चार जना खेलाडी गरी १५ जना खेलाडी सहभागी गराउन पाइनेछ। टोली दर्ताका लागि ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
खेलमा LBW बाहेक ICC का नियम लागू हुने आयोजकले जनाएको छ।
सेभेन स्टार विकास केन्द्रले २०८१ सालमा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो। पहिलो संस्करणमा २६ टोली सहभागी भएका थिए। जसमा झिवाङ ‘ए’ समूह विजेता र आयोजक ‘ए’ समूह उपविजेता बनेका थिए।
आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।








