समय : ०४:५९ pm | आइतबार , भाद्र २१ गते २०८३

लुम्बिनीका २ सय ४५ जना नागरिक सम्पर्कविहीन

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८३

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बाढी प्रभावित जिल्लामा पुगेका सयौँ नागरिक सम्पर्कविहीन अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । विभिन्न प्रयोजनमा बाढी प्रभावित जिल्लाहरूमा पुगेका प्रदेशका १२ जिल्लाका सयौँ नागरिकहरू सम्पर्कविहीन अवस्थामा रहेको प्रदेश सरकारले जनाएको हो । लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद् महाशाखाले भदौ १९ गते जारी गरेको तथ्यांकअनुसार भदौ १० गते रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षतिपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यो क्षेत्रमा पुगेका २ सय ४५ जना सम्पर्कविहीन छन् ।

विवरणअनुसार प्रदेशका १२ जिल्लाका २ सय ४५ जना अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । मन्त्रालयको विवरणअनुसार वेपत्ताको सूचीका सबैभन्दा धेरै बर्दियाका ७३ जना सम्पर्कविहीन छन् । त्यसपछि दाङका ५४ जना रहेका छन् । उनीहरूमध्ये रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, पर्यटन तथा अन्य क्षेत्रमा काम गर्नेहरू छन् । रोल्पाका २५, बाँकेका २३, रुपन्देहीका १८, नवलपरासी पश्चिमका नौ, पाल्पाका नौ, प्युठानका नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ तथा रुकुम पूर्वका चार जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

सूचीमा रहेका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, सुरक्षा निकाय तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका थिए । केही भने पर्यटकका रूपमा रसुवा पुगेका थिए। लुम्बिनीबाट रसुवा पुगेका नागरिकमध्ये धेरै जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत रहेको देखिएको मन्त्रालयले जनाएको छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि परिवारजनले सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि जनाइएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको जिल्लागत तथ्यांकले लुम्बिनीबाट मात्रै यति ठूलो सङ्ख्यामा मानिस रसुवामा रहेको देखाएको छ । प्रारम्भिक सूचीमा रहेका केही व्यक्ति पछि सम्पर्कमा आएका तथा केहीको शवसमेत पहिचान भइसकेको छ । हालसम्म लुम्बिनी प्रदेशमा २१२ शव भेटिएको छ तीमध्ये ८ वटाको मात्रै सनाखत भएको, १९९ शव व्यस्थापन भएको र ५ शव मात्रै अस्पतालमा रहेको छ । बाढीले बगाएर नारायणी नदीले गण्डक क्षेत्रमा ल्याएका शव र १८ वटा त्यहाँबाट पनि बगेर भारतमा भेटिएका हुन् । तर,यहाँ भेटिएका शव भने लुम्बिनीका भेटिएका छैनन्।

यो पनि पढ्नुहोस्