समय : ०७:२४ pm | मङ्गलबार , श्रावण १९ गते २०८३

जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर

स्वर्गद्वारी अपडेट | श्रावण १९ गते २०८३

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका– ५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। गंगादेव गाउँपालिका– १, भुर्तीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु.१ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना चालक गंगादेव गाउँपालिका– १ निवासी अन्दाजी २२ वर्षीय दिलकुमार वलीले जिप चलाइरहेका समयमा भएको हो।जिपमा चालकसहित १० जना सवार थिए । दुर्घटनापछि उद्धार गरिएका घाइतेहरूको स्वास्थ्य चौकी जुगार, रोल्पामा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि सबै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ पठाइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा गंगादेव गाउँपालिका– १ गोठीखोलाका अन्दाजी ४१ वर्षीय धर्मराज डाँगी, सोही स्थानकी ७७ वर्षीया सुपुरी डाँगी, गंगादेव– १ का २३ वर्षीय पलबहादुर घर्तीमगर रहेका छन्।

त्यस्तै, जिपका सहचालक गंगादेव गाउँपालिका– १ निवासी अन्दाजी २४ वर्षीय चित्रराम वलीको अवस्था गम्भीर रहेको छ। त्रिवेणी गाउँपालिका– ७ दर्बैकी अन्दाजी २८ वर्षीया मनिका डाँगी र उनका ४ वर्षीय छोरा प्रदीप डाँगी पनि घाइते भएका छन्।

अन्य घाइतेमा माडी गाउँपालिका– १, जबाङ दमुरीका अन्दाजी २५ वर्षीय पृथ्वी पुनमगर, झिनुवा रोल्पाका अन्दाजी २८ वर्षीय हरि वली र भारतको मोतीहारी जिल्ला निवासी अन्दाजी २५ वर्षीय सन्तोष सहनी रहेका छन्। दुर्घटनापछि जिपचालक दिलकुमार वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्