समय : ०२:५८ pm | मङ्गलबार , श्रावण १९ गते २०८३

जनशक्ति अभावबीच अपराध नियन्त्रणमा सक्रिय प्यूठान प्रहरी

पाँच वर्षयता मुद्दा दर्ता उच्च, आत्महत्या बढ्दो, अनुसन्धान, फैसला कार्यान्वयन र साइबर अपराध नियन्त्रणमा प्रगति।

लव कुमार अधिकारी | श्रावण १९ गते २०८३

प्यूठान।जिल्ला प्रहरी कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।आइतबार प्रहरी कार्यालय स्थित पत्रकार सम्मेलन गर्दै सीमित जनशक्तिका बाबजुद शान्ति सुरक्षा, अपराध अनुसन्धान, फैसला कार्यान्वयन, साइबर अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताइएको हो।पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको विवरणमा जिल्लामा अपराध दर्ता र आत्महत्याका घटना बढ्दो देखिए पनि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, राजस्व संकलन तथा सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल भएको जानकारी दिइएको छ।

एक प्रहरीको जिम्मामा ६ सय ८१ नागरिक

जिल्लाको कुल जनसंख्या २ लाख ३२ हजार १ सय ९१ रहेको प्यूठानमा ट्राफिक प्रहरीबाहेक ३ सय ४१ जना प्रहरी कर्मचारी कार्यरत छन्।ट्राफिकतर्फ १५ जना तथा प्रहरी कार्यालय सहयोगीसहित कुल ३५६ जनशक्ति परिचालित रहेको प्रहरीले जनाएको छ।यसअनुसार एक जना प्रहरी कर्मचारीले औसत ६ सय ८१ जना नागरिकको सुरक्षा जिम्मेवारी बहन गरिरहेका छन् भने १ हजार ३०९ वर्ग किलोमिटर क्षेत्रफल रहेको जिल्लामा एक प्रहरीको औसत जिम्मेवारी क्षेत्र ३.८४ वर्ग किलोमिटर रहेको छ।

पाँच वर्षयता सबैभन्दा बढी मुद्दा दर्ता

आर्थिक वर्ष २०७८/०७९ मा २१२, २०७९/०८० मा १७४, २०८०/०८१ मा २०६, २०८१/०८२ मा २२० र आर्थिक वर्ष २०८२/०८३ मा २७२ वटा मुद्दा दर्ता भएका छन्। पछिल्लो वर्ष दर्ता भएका २ सय ७२ मुद्दामध्ये १ सय ४९ वटा फर्छ्योट भएका छन् भने १ सय २३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्।

दर्ता भएका मुद्दामध्ये अन्य प्रकृतिका ५७ आत्महत्यासम्बन्धी ५१ भवितव्य ज्यानका ४६ फुटकर ज्यानका १८ सवारी ज्यानका १७ जबर्जस्ती करणीका १४ बैंकिङ कसुरका १२ कर्तव्य ज्यानका ८ ज्यान मार्ने उद्योगका ७ तथा जबर्जस्ती करणी उद्योगका २ वटा मुद्दा रहेका छन्।

आत्महत्याका घटना बढ्दो

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर ९१ जनाले आत्महत्या गरेका छन्।अघिल्लो दुई वर्षमा क्रमशः ७९ र ७८ जनाले आत्महत्या गरेका थिए।

स्थानीय तहअनुसार प्यूठान नगरपालिकामा १९ स्वर्गद्वारी नगरपालिकामा १५ मल्लरानी गाउँपालिकामा १५ झिमरुकमा ९ नौबहिनीमा ९ सरुमारानीमा ८ ऐरावतीमा ७ गौमुखीमा ५ तथा माण्डवी गाउँपालिकामा ४ वटा आत्महत्याका घटना भएका छन्।

आत्महत्या गर्नेमध्ये ८५ जनाले झुन्डिएर ४ जनाले विष सेवन गरेर १ जनाले हाम फालेर र १ जनाले आगो लगाएर ज्यान गुमाएका छन्।

अपराध अनुसन्धानमा उच्च सफलता

गत आर्थिक वर्ष दर्ता भएका मुद्दामा १ सय ६१ जना प्रतिवादी रहेकामा १ सय ५३ जना पक्राउ परेका छन् भने ८ जना फरार छन्।अनुसन्धानका क्रममा २ सय ४७ जनालाई २४ घण्टा हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादी पक्राउ र फैसला कार्यान्वयन

आर्थिक वर्ष २०८२/०८३ मा ६० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ६ लाख २७ हजार १६७ रुपैयाँ ४० पैसा जरिवाना असुल गरिएको छ भने २२ वर्ष २ महिना २६ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ।

यसैगरी जनआन्दोलनका क्रममा कारागारबाट फरार भई प्यूठान स्थायी ठेगाना भएका १८ प्रतिवादीमध्ये ९ जना पक्राउ परिसकेका छन् भने बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

साइबर अपराधमा २९ लाखभन्दा बढी ठगी

विद्युतीय अपराधसम्बन्धी ४३ वटा निवेदन दर्ता भएकामध्ये १७ वटा फर्छ्योट गरिएको छ। साइबर ठगीमार्फत २९ लाख ३९ हजार २७० रुपैयाँ ठगी भएकोमध्ये ११ लाख ११ हजार ४८० रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ भने १७ लाख २७ हजार ७९० रुपैयाँ फिर्ता हुन बाँकी रहेको छ।

फेसबुक ह्याकका १७ तथा टिकटक ह्याकका ५ वटा निवेदन प्राप्त भएकामा सबै आईडी बन्द गराइएको प्रहरीले जनाएको छ। हराएका ४० मोबाइलसम्बन्धी निवेदनमध्ये १७ वटा मोबाइल फेला पारिएको छ।

अवैध हतियार बरामद र महिलाबालबालिका उजुरी फर्छ्योट

आर्थिक वर्षभर ८० थान भरुवा बन्दुक (६२ साभुत र १८ बेरुवा) तथा ३ थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।

महिला तथा बालबालिकासम्बन्धी ३४ वटा उजुरी सबै मिलापत्रमार्फत टुंग्याइएको छ।हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १ सय २४ उजुरीमध्ये १ सय २३ जनालाई फेला पारिएको छ भने एक जनाको खोजी जारी रहेको कार्यालयले जनाएको छ।

४४ लाखभन्दा बढी राजस्व संकलन

प्रहरीले ट्राफिक कारबाही, अवैध ओसारपसार, नदीजन्य पदार्थको अवैध उत्खनन, कर छली तथा अवैध वन पैदावार नियन्त्रणलगायतका कारबाहीबाट आर्थिक वर्षभर ४४ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

यस अवधिमा ३ हजार ९ सय ६१ वटा ट्राफिक कारबाही गरिएको छ।अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न २२ वटा सवारी नियन्त्रणमा लिई २ लाख ६ हजार रुपैयाँ तथा अवैध काठ, कपडा लगायतका सामग्री नियन्त्रणबाट ८ लाख ६० हजार १२२ रुपैयाँ राजस्व संकलन गरिएको छ।

८ सय ७३ सचेतनामूलक कार्यक्रम सञ्चालन

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण, साइबर अपराध, लैङ्गिक हिंसा, आत्महत्या न्यूनीकरण तथा नागरिक सुनुवाइसम्बन्धी ८७३ कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।ती कार्यक्रमबाट २१ हजार १२० जना प्रत्यक्ष लाभान्वित भएका छन्।

भौतिक पूर्वाधार र सुरक्षा प्रविधिमा विस्तार

गत वर्ष जिल्ला प्रहरी कार्यालय परिसरस्थित भैरव मन्दिर पुनर्निर्माण, मेस तथा ब्यारेक भवन मर्मत, कम्पाउन्ड पर्खाल पुनर्निर्माण, अस्थायी प्रहरी पोष्ट बाग्दुलाको भवन मर्मत, आवश्यक फर्निचर खरिद तथा जिल्लाका विभिन्न स्थानमा ६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ।

पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालयले सीमित जनशक्तिका बाबजुद नागरिक सुरक्षा, अपराध नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्न निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री प्रहरी सेवा, सामुदायिक सहकार्य र अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाइने जनाएको छ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख नरहरी अधिकारी हुन।

यो पनि पढ्नुहोस्