समय : १२:१७ pm | सोमबार , चैत्र २३ गते २०८२

प्युठान नगरपालिकाले सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकता

योजनाबद्ध लगानी र कार्यान्वयनले आगामी वर्षहरूमा प्युठान नगरपालिकालाई जिल्लाकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

लव कुमार अधिकारी | चैत्र २३ गते २०८२

केही वर्षअघिसम्म वर्षात् लाग्नासाथ हिलाम्मे हुने र सुक्खायाममा धुलाम्मे सडकका कारण हैरान हुँदै आएका प्युठान नगरपालिका अहिले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेको छ।विकासको मेरुदण्डका रूपमा सडक सञ्जाललाई अघि सार्दै नगरपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाएको छ।२०७९ को निर्वाचनपछि नयाँ जनप्रतिनिधि आएलगत्तै सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको थियो, जसको परिणामस्वरूप अहिले विभिन्न वडामा सडक स्तरोन्नति, ढलान र कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेका छन्।

एक वडा एक कालोपत्रे

नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिका अनुसार प्रत्येक वडामा सडकको पहुँच विस्तार गर्ने र कृषिलाई सडकसँग जोड्ने स्पष्ट उद्देश्यका साथ योजना अघि बढाइएको हो।‘एक वडा एक कालोपत्रे अन्तर्गत’ यस वर्षदेखि प्रत्येक वडा कार्यालयबाट नगरपालिकाको केन्द्रसम्म एक घण्टाभित्र पुग्न सकिने गरी सडक सञ्जाल विस्तार गरिदैछ,’ नगर प्रमुख योगीले बताए।उनका अनुसार सडक विस्तारले केवल आवागमन सहज बनाउने मात्र होइन, कृषि उत्पादनलाई बजारसम्म पु¥याउन र मल–बिउजस्ता सामग्री समयमै गाउँमा उपलब्ध गराउन समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ।ग्रामीण क्षेत्रमा सेवा प्रवाहलाई छरितो बनाउने, स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउने र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यसहित सडक पूर्वाधार सुदृढीकरणमा जोड दिइएको छ।‘एक वडा एक कालोपत्रे अन्तर्गत’ ५.१ सडक कालोपत्रे कि.मी सम्पन्न,१.६५१ कि.मी सडक ढलान,१५ कि.मी सडक ग्राभेल,१०.६०० नयाँ ट्रयाक बिस्तार,२१ कि.मी सडक स्तरउन्नोती र नगरपालिका भित्र हालसम्म पक्क्की सडक ३९.३३५ कि.मी रहेको नगर प्रमुख योगीले जानकारी दिए।

खानेपानी अन्तर्गत ३ सय १८ घरधुरीमा धारा जडान गरि पानि सुचारु  भएको छ।पक्कि सिचाई नाला ३.९ किमी सम्पन्न भएको छ।नगरपालिकाले शिक्षा क्षेत्रमा १० वटा २८ कोठे भवन निर्माण गरि संचालनमा आएको छ।अन्य सार्वजनिक  भवन ८ वटा निर्माण सम्पन्न भएको छ।नदिनियन्त्रण (तटबन्धन) तर्फ ४ सय ५० मिटर सम्पन्न गरिसकेको छ। पार्क १  र पदमार्ग १  निर्माण गरि सम्पन्न गरेको छ।झोलुंगे पुल ५ वटा निर्माण गरि संचालनमा  रहेको नगर प्रमुख योगीले बताए।            

महत्वपूर्ण सडक आयोजनामा ठूलो लगानी

नगरपालिकाले केही प्रमुख सडक आयोजनामा उल्लेख्य बजेट सुनिश्चित गरेको छ।हरिखोला देखी साढेखोलासम्म सडक बिस्तारको लागि करिब ३  करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने संघीय सरकार अन्तर्गत वेलुवा –हरिखोलासम्म सडकका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।नगरपालिकाको ३ करोड बजेट अन्तर्गत ४४० मिटर सडक कालोपत्रे, वाल, नाला, सडक पेटी र सडक बत्ती सहित सम्पन्न हुनेछ।संघीय सरकारको ४ करोड अन्तर्गत वाल,ग्राभेलर नाला हुनेछ।मुख्य सडक भएकाले यी सडक सम्पन्न भएपछि नगरपालिकाले आन्तरिक तथा बाह्य सम्पर्क थप मजबुत हुने अपेक्षा गरिएको छ। एक वडा एक कालोपत्रे अन्तर्गत प्युठान नगरपालिका वडा नं. १ चेरनेटा–सालघारी कालोपत्रे सडक निर्माणमाधीन अवस्थामा रहेको छ।वडा नम्बर–४ बिजुवार थापडाडा खलंगा सडकलाई नगरपालिकाले ५५ लाख बजेट विनियोजन गरि पिच गरि यसै वर्ष देखि संचालनमा ल्याएको छ।

नगर प्रमुख योगीका अनुसार आफूहरू पदमा आउँदा अधिकांश सडकको अवस्था जर्जर रहेको स्मरण गर्दै अहिले योजनाबद्ध ढंगले स्तरोन्नति कार्य भइरहेको बताए।

कृषिमा पूर्वाधार र बजार सुनिश्चितता

नगरपालिकाले सडकसँगै कृषि पूर्वाधार निर्माणमा पनि उल्लेख्य पहल गरिरहेको छ।कृषकलाई आवश्यक पर्ने संरचना निर्माण, उत्पादन संकलन तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिइएको कृषि शाखा प्रमुख सृजना सेढाईले बताइन्।सेढाईका अनुसार कृषकले उत्पादन गरेको कृषि उपजहरु बजारीकरण गर्नलाई नगरपालिकाले ढुवानीमा सहयोग गरेको छ।‘बेमौसमी खेतीमा केही समस्या देखिए पनि सिजनल तरकारी र फलफूलले नगरपालिका भित्र नै ८० प्रतिशत जति खपत हुन्छ,जसले गर्दा बजार नपाउने अवस्था हुन दिएका छैनौँ।’ उनले भनिन्।पालिकामा ६ वटा कृषि प्राविधिक रहेका छन् कृषकहरुको समस्या आउनासाथ वडावडामा पुगेर कृषकहरुको गुनासोरहित बनाउने प्रयास जारी रहेको बताइन्।   

नगरपालिका ९–१० वडाको उपल्लो भेगमा सुन्तला र कमला प्रशस्त मात्रमा उत्पादन हुन्छ भने तल्लो भेगमा खाद्यान्न र बेमौसमी हुनेछ।उपल्लो भेगमा उत्पादन भएको सुन्तला र कमलाले स्थानीय बजारमा पाएका छन्।

नगरपालिका वडाको तल्लो भेग तर्फ ड्रागन, आँप, लिची, केरा र अम्बालाई  व्यवसायिक रुपमा खेति गर्दै आएका छन्।नगरपालिका–७ मा रहेको ड्रागन खेति प्युठानकै ठुलो ड्रागन कृषि फर्म रहेको छ।फर्मबाट उत्पादन भएको ड्रागन भारत सम्म बिक्रि बितरण गरेको शाखा प्रमुख सेढाईले बताईन।       

किसान पेन्सन कार्यक्रमको सबै चरण पुरा गरि कार्वान्वयनको अवस्थामा  रहेको छ।उत्पादनमा आधारिक अनुदान अन्तर्गत किसानलाई दुधमा प्रतिलिटर १० रुपैयाँ दिएको छ। तरकारीलाई प्रति केजी ५ रुपैयाको दरले दिएको  छ।कृषकलाई रासायनिक मल, मलखाद, टनेल, गहुँको बिउ, विषादी वार्षिक कार्यक्रम गरि बितरण गरिएको छ। संघीय ससर्त  अनुदान अन्तर्गत मकै बिउ उत्पादन र नगरपालिकाले धानको बिउ खरिद गरि कृषकलाई वितरण समेत  गर्दै आईरहेको छ।भकारो सुधार कार्यक्रम, साना सिचाई योजना सुचारु अवस्थामा रहेको उनले बताईन।

स्वास्थ्य, शिक्षा र पर्यटनमा प्रगति

शिक्षा क्षेत्रमा विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) भवन निर्माण, माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण जस्ता कार्य निरन्तर भइरहेका छन्।नगरपालिकाले शिक्षा क्षेत्रमा १० वटा २८ कोठे भवन निर्माण गरि संचालनमा आएको छ।आर्थिक वर्ष ०७६/०७७ मा कोरोनाले गर्दा सामुदायिक बिद्यालयहरुको नजिता खस्केको नगरपालिका शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले बताए।‘त्यो बेला तिन बिषयमा कम अंक ल्याएका बिद्यार्थीलाई पास गरेका थियौ।’ उनले भने,‘ आर्थीक वर्ष ०८१/०८२ र ०८२/०८३ मा बिद्यार्थीहरुलाई अतिरिक्त कक्षा संचालन गरेका छौ।’ कक्षा संचालन गर्दा  हाल बिद्यार्थीको नजिता सुधार भएको र कुनै पनि बिद्यार्थीलाई बिषय नलागेको समेत प्रमुख पण्डितले बताए।पालिकाको १२ वटा मावि बिद्यालयहरुमा आई.सि.टी जडान गरेका छौ।१५ वटा बिद्यालयहरुमा ईन्टरनेट जडान गरिएको छ।२८ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आवासीय सहित नि:शुल्क शिक्षा दिईरहेको समेत पण्डितले जानकारी गराए।         

जिल्लाको ऐतिहासिक रुपमा परिचित  भित्रिकोट दरबारमा  आर्थीक वर्ष २०८०/०८१ मा दरबार व्यवस्थापन सहित सिढी निर्माणमा नगरपालिकाले ३ करोड बजेट बिनियोजन गरेको थियो।सोहि  आर्थिक वर्षमा भवन निर्माणको लागि पुरातत्व बिभागले नयाँ भवन दरबार निर्माण गर्नका लागि ४५ लाख बजेट समेत छुट्याइएको थियो।पर्यटकीय सम्भावना बोकेको खैराकोटजाने  क्षेत्रमा पदमार्ग निर्माण गरिसकेको छ।

त्यस्तै स्वास्थ्य तर्फ नगरपालिकाले पालिका भित्र रहेका नागरिकलाई जिल्ला अस्पताल प्युठानमा नि:शुल्क ओपिडी टिकट लागु गरेको स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए। ‘पालिका भित्र रहेका गर्भवती महिलाहरुलाई घर देखि अस्पतालसम्म नि:शुल्क एम्बुलेन्स सेवा दिदै आइरहेका छौ।’ उनले भने,‘गर्भवतीमहिलाहरुको लागि नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा दिदै आइरहेका शाखा प्रमुख घिमिरेले बताए।६८ वर्ष माथिका जेस्ठ नागरिकहरुलाई नि:शुल्क  आँखा उपचार सेवा, ३०-५९ वर्ष सम्मका महिलाहरुलाई नि:शुल्क स्क्रिनिङ्ग सेवा(भी आई ए) सेवा, ७० वर्ष माथिका जेस्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा परामर्श र सेवा दिंदै आइरहको छौ। वडा-१ र ९ लाई पूर्ण संस्थागत सुत्केरी सेवायुक्त घोषणा गरेका छौ।नगरपालिकामा उत्कृष्ट काम गर्ने महिल स्वयंसेविकालाई सम्मान गर्नुका साथै मासिक १६ सयका दरले उत्प्रेणातथा खाजा खर्च वाफत रकम प्रदान गरेको समेत स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए। नगरपालिका भित्र स्वास्थ्य चौकी ६ वटा, अस्थायी स्वास्थ्य सेवा केन्द्र ४ वटा, शहरी स्वास्थ्य केन्द्र २ वटा, गाउँघार क्लिनिक २३ वटा, खोप क्लिनिक ४२ वटा, महिला स्वयंसेविका ६९ जना, स्वास्थ्य आमा समूह ६९ जना, वार्थिङ्ग सेन्टर ६ वटा, क्षयरोग उपचार केन्द्र ६ वटा रहेको छ।                        

समृद्धितर्फको यात्रा

प्युठान नगरपालिकाले सडक सञ्जाल विस्तारलाई केन्द्रमा राखेर विकासको बहुआयामिक यात्रा अघि बढाएको देखिन्छ। सडक, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा समानान्तर रूपमा भइरहेका प्रयासले नगरपालिकालाई समृद्धितर्फ उन्मुख गराउने विश्वास स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।

पूर्वाधार विकासले नागरिकको दैनिकी सहज बनाउनुका साथै आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ।योजनाबद्ध लगानी र कार्यान्वयनले आगामी वर्षहरूमा प्युठान नगरपालिकालाई जिल्लाकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

यो पनि पढ्नुहोस्