समय : ०२:५२ pm | सोमबार , फागुन ४ गते २०८२

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने

स्वर्गद्वारी अपडेट | फागुन ४ गते २०८२

काठमाडौ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो चुनाव सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार आजदेखि १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् । दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्नेछन् । चुनाव प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

निर्वाचन आयोगले प्रचार प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न आयोगले सचेत गराएको हो । आयोगले चुनावी प्रचारप्रसारमा हिंसा, धम्की, लोभ लालच र सामाजिक बहिष्कार जस्ता गतिविधिमा कडाइका साथ रोक लगाएको छ ।

आयोगले खर्चको सीमा पालना गर्न, मतपत्र दुरुपयोग नगर्न र आचारसंहिताको पालना गर्न सबै दलहरूलाई अनुरोध गरेको छ । निर्देशन उल्लंघन गरेमा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता पालना गर्नु दलहरूको कानूनी र नैतिक दायित्व रहेको भन्दै यो दायित्व पूरा गरी कारवाहीको झमेलामा नपर्न आग्रह गर्नुभयो ।

कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवम् संगठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्