रोल्पा।रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’ अर्थात् तालिम प्रशिक्षकहरूले अस्पतालसम्म पुग्ने गरी कुटपिट गरेको घटना बाहिरिएको छ। गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ ।
प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् । जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको उपचारमा संलग्न रोल्पा अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए । उनका अनुसार तीनजनाको एक्सरे गरिएको थियो भने धेरैजसोको ढाडमा र एकजनाको पुट्ठामा नीलडाम बसेको थियो । लाठी प्रहारको क्रममा केहीको मोबाइल फुटेको नाम नबताउने सर्तमा एक निर्वाचन प्रहरीले बताए ।
के भएको थियो घटना ?
सोमबार बेलुकी करिब ६ बजेतिर लिबाङको साततलेमा अवस्थित सहिद प्रतिष्ठानको भवनमा खाना खाएर निर्वाचन प्रहरी बस्दै आएको कभर्ड हलतिर उनीहरू लाइनबद्ध फर्किरहेका थिए ।
सरिकोट पोलिटेक्निकअगाडि साँघुरो र घुमाउरो सडकमा दुईजना ‘गुरुबा’हरू मोटरसाइकलमा हुइँकिँदै आए । ती ‘गुरुबा’हरू थिए– प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्तीमगर । एक्कासि आएको मोटरसाइकलको आवाजले केही तर्सिए । तर्सिएको देखेर पछिल्लोतिरका केही निर्वाचन प्रहरी गिज्याएजस्तो गरी हाँसे ।
एक निर्वाचन प्रहरीका अनुसार गुडिरहेका उनीहरूले बेइज्जत महसुस गरे र खाना खाएर फर्किरहेका सबै निर्वाचन प्रहरीलाई मेस सञ्चालन भइरहेकै ठाउँ सहिद प्रतिष्ठानमा फर्किन आदेश दिए । त्यहाँ पुगेलगत्तै ‘हाँस्ने को–को हो रु’ भन्दै आरके खड्का कड्किए । निर्वाचन प्रहरी समूहमा कोही बोलेनन् । त्यसपछि आरकेले उनीहरूमाथि लाइनमै लाठी बजार्न सुरु गरे । लाठी हान्न अर्का जवान तिलक घर्तीमगरले पनि सघाइरहेको निर्वाचन प्रहरी बताउँछन् । त्यहाँ एक–अर्काबिच कुरा पनि गर्न नदिई लाइनबद्ध वासस्थान टुँडिखेल नजिकको कभर्डहलमा ल्याइयो । कुटिनेमा ५२–५२ जनाको दुई समूह थिए ।
हल प्रवेशपछि निर्वाचन प्रहरीहरूबिच बल्ल एक–आपसमा कुराकानीको वातावरण बन्यो र उनीहरूले उक्त ज्यादतीको विरोध गर्ने निधो गरे । हलमा विरोधको आवाज बढ्न थाल्यो । त्यहाँ प्रहरी सहायक निरीक्षक चित्रबहादुर घर्तीमगर थिए । उनले आन्दोलित निर्वाचन प्रहरीलाई सम्झाइबुझाई गरेको बताइएको छ ।
विषय गुपचुपमा साम्य भएजस्तो देखिए पनि समस्या समाधान भने भइसकेको छैन । निर्वाचन प्रहरीका अनुसार कुटपिटमा संलग्न प्रहरी जवानहरूलाई विभागीय कारबाही गर्ने मौखिक आश्वासन मात्र पाएको, तर कारबाही भए–नभएकोबारे निर्वाचन प्रहरीहरू शंका व्यक्त गर्छन् । यसबारे रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले पनि घटना भएको स्वीकार गरे । ‘निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरिएको देखियो,’ प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले भने, ‘अलि कडा गर्न खोज्दा केही गुनासो आएका होलान्, धेरै ठुलो विषय होइन ।’ उनले उक्त कार्यमा संलग्न प्रहरी जवानहरूलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।
केही नजानेको निर्वाचन प्रहरीलाई नियमित प्रहरीकै जस्तो गर्न खोज्दा गुनासो आएको हुन सक्ने उनको भनाइ छ । यसबारेमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कुटपिटको घटनालाई कतिपयले मानव अधिकार उल्लंघनका रूपमा पनि लिएका छन् । मालाश्री खबरबाट








