समय : ०२:२३ pm | शनिबार , श्रावण १२ गते २०८१

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो

सन्तोष सुनार | असाेज २४ गते २०८०

असोज २४ गते बुधबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।

जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३ सय ४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो ।

पाकिस्तानको जितमा ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानले शतक बनाए । रिजवान १ सय ३१ रनमा अविजित रहे । त्यस्तै, शफिकले १ सय १३ रन जोडे । यसअघि विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य सन् २०११ मा इङ्ल्यान्डले दिएको ३ सय २८ रन आयरल्यान्डले पूरा गरेको थियो ।

विश्वकप इतिहासमा पहिलो पटक चार शतक बनेका छन् । श्रीलङ्काले पनि दुई शतक बनाएको थियो । श्रीलङ्काका दिलशान मदुशानकाले दुई, महेष थिक्सना र मथिसा पाथिरानाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । श्रीलङ्काका कुशल मेन्डिसले १ सय २२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ६५ बलमा शतक हानेका थिए । उनी श्रीलङ्काबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् ।

सदिरा समराविक्रमाले १ सय ८ रन जोडे । पाकिस्तानका हसन अलीले ४ विकेट लिए । हरिस रौफले २ विकेट लिए । पाकिस्तानको यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो ।

हिजो भएको अर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हरायो । आज भारत र अफगानिस्तानबीच दिल्लीमा खेल हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page