प्युठान। स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको तयारी भईरहेका क्याम्पसहरुमा बिबाद हुदा स्ववियु निर्वाचन अन्यौल बन्दै गईरहेको छ। निर्वाचनको मुखमा रहेको प्युठान क्याम्पस खलंगामा बिबाद उत्पन्न भएको छ।
नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु उम्मेदवार भएका रुद्रमणि भुसाललाई नेविसंघले अपहरण गरेको भन्दै एमालेले क्याम्पस प्रशासनमा निवेदन दिएका छन।
नेकपा एमाले प्युठान मल्लरानी गाउँपालिका अध्यक्ष नमराज पौडेलले क्याम्पस प्रशासनमा शरीर बन्धक तथा अपहरण भन्दै दिएको निवेदन प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएको डिएसपि दिपेश बस्यालले जानकारी दिए।
उनले भने,'निवेदन परेको थियो, हामिले अनुसन्धान गर्दै जादा परिवारको सम्पर्कमा रहेको जानकारी आयो, पछि भिडियो कलबाट पनि शुरक्षित रहेको र आफू उम्मेदवार नरहेको पत्र क्याम्पसमा बुझाएको बताउनुभएको थियो। अहिले छलफल हुँदै छ। केही ब्यवस्थापन होला । '
उनले सुरक्षा चुनौती नभएको बताउदै निर्वाचनको बाताबरणको लागि सुरक्षा निकायले सक्दो प्रयाश गर्ने जानकारी दिए।
आँखा जाँच गराउन काठमाडौ गएका अनेरास्ववियुबाट उम्मेदवारी दिएका रुद्रमणि भुसालले आफुले चुनावी प्रक्रियामा सहभागी हुन नसक्ने भएपछि आफुले वारेसनामा दिएको बताएका छन।
उनले पठाएको वारेशनामालाई सनाखत गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनले भने निर्वाचन प्रक्रिया अगाडि बढाउन नसक्ने सुचना निर्वाचन अधिकारी देविराम बैदिकले जारी गरेका छन।
क्याम्पस प्रमुख कल्पना खड्काले वारेसनामा कस्तो अवस्थामा दिइन्छ भन्ने कुराको कानुनी ज्ञान नराखी एकपक्षीय ब्यवहार गर्दा अहिलेको अवस्था सिर्जना भएको नेविसंघबाट स्ववियु उम्मेदवार प्रमोद ओलीले बताए। उनले भने,'वारेशनामा आफू उपस्थित हुन नसकेको अवस्थामा पाठाउने हो, यति कुरा क्याम्पस प्रमुखज्यूले बुझ्नुभएको छैन। एकोहोरो उहालाई साथ दिनुभएको छ। '
प्युठानमा पछिल्लो समय नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच टकराबहरु उत्पन्न हुँदै जान थालेका छन। प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य थापा, नेपाली काङ्ग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरु रोज राणा र नीमा गिरिले सार्वजनिक रुपमा दिने अभिव्यक्तिहरुले यो टकराबलाई बल पुर्याएको देखिन्छ।