समय : ०२:०५ am | सोमबार , पौष २७ गते २०८२

स्वर्गद्वारीले सिसिटिभीमा १४ लाख खर्च, तर मोटरसाइकल चोर्ने देखिएन

पालिकाले १३ लाख ९७ हजार १९१ रुपैंयामा ५१ वटा सिसिटिभी क्यामेरामा खरिद गरेको थियो।

स्वर्गद्वारी अपडेट | पौष २७ गते २०८२

प्युठान।स्वर्गद्वारी नगरपालिकालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन नगरपालिकाको प्रशासकीय भवनमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेको  छ।नगरपालिकाले  दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले बजार क्षेत्रमा समेत सिसिटिभी क्यामरा जडानमा लाखौ रकम खर्च गरेको छ।

पालिकाले २०८० असार ४ गते नेप्लिज कम्युटर सेन्टर मार्फत ९ लाख ९९ हजार ९३४ रुपैयाको सिसिटिभी क्यामेरा सोझै खरिद गरि जडान गरेको थियो।पुनः २०८० चैत्र ४ गते बि एस इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक्स मार्फत ३ लाख ९७ हजार २५७ मा खरिद गरेको थियो।जस अन्तर्गत पालिकाले १३ लाख ९७ हजार १९१ रुपैंयामा ५१ वटा सिसिटिभी क्यामेरामा खरिद गरेको थियो।प्रशासकीय भवनमा मात्र ३६ वटा क्यामेरा जडान गरेको छ।

तर प्रशासकीय भवन छेउमै रहेको पार्किङ स्थलबाट हराएको मोटरसाइकल १० दिनसम्म कसले लग्यो अत्तोपत्तो छैन। ति १४ लाखको क्यामेरामा रेकर्ड नै छैन।कर्मचारी स्रोतको अनुसार पौष १८(शुक्रबार) हराएको मोटरसाइकल ३ दिन पछी माडी खोलामा डुबेको अवस्थामा भेटिएको बताएका छन्।

यसरि सार्वजनिक सम्पतिको स्थानीय सरकारले सुरक्षा दिन नसकेको भन्दै निस्पक्ष छानबिनको माग गर्ने स्थानीयको भनाइ छ।

पालिकाले यस विषयमा छानबिन गरिरहेको बताए पनि नतिजा अझै बाहिर ल्याएको छैन।

यो पनि पढ्नुहोस्