समय : १२:०० am | शुक्रबार , मंसिर ६ गते २०८१

श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०७९

२८ वैशाख, काठमाडौं । श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन ।
उनीहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायर गरेका थिए ।
प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ । श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएका बीबीसीले जनाएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरुले उनको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्