समय : ०५:३२ pm | बुधबार , माघ २३ गते २०८१

बैंककाे ब्याजदर घटाउने विषयमा सरकार छलफलमा छ : प्रधानमन्त्री

स्वर्गद्वारी अपडेट | चैत्र २८ गते २०७९
स्वर्गद्वारी समचार अपडेट डेक्स । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनुभएको छ ।मङ्गलवार उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंककाे ब्याजदर कम गर्ने र राजस्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताउनुभयो । उहाँले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आउँदाे वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हामी बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा छौँ । अर्थतन्त्रको समस्या समाधान गर्नेबारेमा हामीले छलफल गरेका छौँ र सकारात्मक दिशा दिने पूरै प्रयास गरेका छौँ । योबीचमा गरिएका कामहरू केही राजनीतिक उत्तारचढावका कारण जति तीव्रताका साथ जानुपर्ने हो, त्यति जान सकेको छैन । अलि अप्ठेराे परेकै हो तर अब परिस्थिति फेरिएको छ । हामी बैंक ब्याजदर कम गर्ने र राजस्व सङ्कलनलाई बढाउनेबारेमा सरकारका सबै अङ्गसँग घनीभूत छलफलमा छौँ ।’ प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताउँदै अहिले देशसँग झन्डै ११ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकाे उल्लेख गर्नुभयाे ।प्रधानमन्त्रीले लगानीमैत्री एवम् व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताउनुभयो । उहाँले सरकार आउँदाे आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्