समय : ०४:१२ am | शनिबार , भाद्र १३ गते २०८२

हरितालिका तीज : मौलिकता र विकृतिको दोबाटो

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८२

शान्ति सुनार

तीज : नेपाली नारीको मुख्य पर्व

हरितालिका तीज नेपाली हिन्दू नारीहरुको मुख्य पर्व हो।तीज एक धार्मिक र सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण पर्वको रुपमा रहेको छ।तीजलाई एक मौलिक पर्वको रुपमा समेत हेर्ने गरिन्छ।यस पर्वको सामाजिक महत्वसमेत उत्तिकै रहेको छ।तीज पर्वलाई भगवान शिव–पार्वतीको आराधना गर्दै मनाइन्छ।परिवारको सुख,समृद्धि,शान्ति र दीर्घायुको कामना गरिन्छ।

तीज केवल धार्मिक पर्व मात्र होइन, महिलाहरूले आफ्नो पीडा, वेदना, खुसी र अनुभव आदानप्रदान गर्ने साझा अवसरसमेत हो। यसैले तीजलाई मौलिक परम्परा र संस्कृतिको धरोहरको रूपमा मानिन्छ।

हाम्रो देशमा विभिन्न रीतिरिवाज, संस्कार,धर्म संस्कृतिका मानिसहरू बसोबास गर्छन् । उनीहरुले आ–आफ्नो चलनअनुसार विभिन्न चाडपर्व सदियौंदेखि मनाउँदै आइरहेका छन् । तर,तीज भने मुख्यतया: नेपाली हिन्दू महिलाहरुले उत्सवकै रुपमा मनाउँदै आएका छन् ।

शाब्दिक रुपमा तीजको मौलिकता भन्नाले तीज पर्वको मूल स्वरुप,परम्परा र यसको सांस्कृतिक जड नै बुझ्ने गरिन्छ । पर्व एक,महत्त्व अनेक रहेको यस पर्वलाई नेपालीपन झल्काउने पर्वको रुपमा समेत बुझ्न सकिन्छ । यसको धार्मिक आस्थासँग जोडिएर महिलाहरुले वर्त बस्ने, शिव–पार्वतीको पुजा गर्दै आएका छन् । यतिमात्रै होइन तीज पारिवारिक मिलन र जमघटको बहनासमेत हो ।

जहाँ वषौदेखि बिछोडिएका विवाहित छोरीहरु माइती घर फर्किन्छन् । दिदीबहिनीहरुको भेटघाट हुँदा सुख र दुःख साट्छन् । देवी भक्ति र जीवनका अनुभव झल्काउने तीजका भजन गाउने तीजको सांगितिक र नृत्यको पाटो हो । दर खाने प्रथा तीजको विशिष्टतासँग जोडिएको छ । मुलतः दर खाने दिनबाट तीजको प्रारम्भ भएको मानिन्छ।तीज हाम्रो एक मौलिक परम्परासमेत हो । यस उत्सवका रुपमा मनाउनु हाम्रो कर्तव्य हो । यहाँ छोरी र चेलीहरुका कथा व्यथालाई विशेष स्थान दिइएको हुन्छ । तीज केवल मनोरञ्जन होईन यो संस्कृतिको रक्षा गर्ने अभियान हो।धर्म परम्परा र सामाजिक एकताको दरिलो पर्खाल हो।

गाउँको तीज : आत्मियता र रमाइलो

म गाउँमा जन्मिए,हुर्किए । हामी सानो हुँदा तीज आउँला र नयाँ लूगा लगाउन पाईएला भनेर प्रतीक्षा  गर्थेउ । साथीसँगीहरुसँग नाच्ने,गाउने र रमाउने त तीजको अपरिहार्य नै थियो । अरु बेलाभन्दा तीजको बेला गाउँघरमा अलि बढी चहलपहल हुन्थ्यो । नागपञ्चमी पश्चात गाउँघरमा तीजको नाच सुरु हुन्थ्यो।

गाउँमा घरहरु टाढा–टाढा हुन्थे । तर मान्छेका मन भने नजिक नजिक हुन्थे । टाढा टाढाबाट आएर एकै ठाउँमा बसेर नाचगान हुन्थ्यो । आज फलानो ठाउँमा नाच्ने है भनेर पहिले सबैसँग सल्लाह गरिन्थ्यो । दिनभर घाँस दाउरा मेला पातको काम सकेर बेलुका सबै जम्मा भएर गीत मादल र बाँसुरी सँगै तीजको नाच सुरु हुन्थ्यो । ठूलो आँगन वरिपरि धेरै मान्छेहरु कोही ताली बजाउने,कोही मादल बजाउने कोही गाउने त कोही नाच्ने गरिन्थ्यो । यत्तिकैमा सुरिलो स्वर निकालेर फुलमाया दिदीले गीत गाउँथिन्

अधेरी खोलामा बेलौती पाक्यो,

जुरेली चरीले खायो बरिलै!

नवै डाडा काटेर पठाए बाबैले,

माइतीको सम्झना आयो बरिलै!

यसैगरी तीजको दिनसम्म नाँचगान गरिन्थ्यो त्यो समय गाउँ नै रमाइलो भएको महशुस हुन्थ्यो । तीजको दिन आउनै लाग्दा नयाँ कपडा किन्ने र लगाउने गरिन्थ्यो । तीजको अघिल्लो दिन दर खाने दिनमा सबैले आ-आफ्नो चेलीलाई घरमा बोलाएर दर खुवाउने गरिन्थ्यो ।  तीजको दिन बिहान घरको कामहरु सकेर गाउँका सबै जना तीजको नाच नाच्न वर पिपल डाँडामा जम्मा भैइन्थ्यो । विभिन्न ठाउँमा गएका साथिहरु र चेली माइतिहरुको त्यही भेट हुन्थ्यो । भएकाहरुले नयाँ लुगा लगाएर आउँथे । नभएकाहरुले पुरानै लुगा लगाएर भएपनि नाच्न,गाउँन आउथे । त्यो दिन दिनभर नाच्ने गाउने र पिङ खेलेर बेलुका फेरि घर फर्किन्थ्यौँ । त्यसपछि फेरि बेलुका राती सबै एक ठाउँ जम्मा भएर तीजको दिन,साँझ र रातभरी नाच्ने गाउने गरिन्थ्यो । यसरी यो तीजले गरिरहेको दुःख बिर्साईदिन्थ्यो । यसरी तीजले सधैंजसो आत्मीयता थपेर जान्थ्यो । मन जोडेर जान्थ्यो । माया बढाएर जान्थ्यो । यसरी यो तीजले बाआमा दाजु भाइ दिदीबहिनी साथीसंगी सँगको सम्बन्धलाई बलियो गरि बाधिदिन्थ्यो ।

सहरको तीज : बदलिँदो स्वरुप

तर अब त्यो समय रहेन।मान्छेहरु अवसरको खोजीमा विदेशिन थाले,पुर्ख्यौली थातथलो छोड्न थाले । गाउँ त रित्तो त हुँदैछ । रित्तो गाउँमा तीजपनि रित्तै हुन्छ ।गाउँ छोडेर सहरमा बस्न थालेदेखि तीजको माहोल फरक देखिन थाले । मेरो अनुभव र भोगाईमा गाउँ र सहरको तीजमा आकाश र पातालको फरक छ । गाउँमा घर टाढा टाढा हुन्थे मान्छेका मन नजिक नजिक हुन्थे । सहरमा घर नजिक नजिक छन्,तर मान्छेका मन भने टाढा छ । असारबाटै तीजको नाममा दर खाने प्रतिस्पर्धा शुरु हुन्छ,कस्ले कति मुल्यको गहना र कपडा लायो?, कस्ले कुन रिसोर्ट र रेष्टुरेन्टमा कार्यक्रम गर्‍यो? यस्ता पुँजीवादी परम्पराले गाँजिरहेको छ।धनी गरिबको गहिरो खाडल स्पष्ट रुपमा देखिन्छ,तीजको बेला सहरमा । हुने खाने र हुँदा खानेबीचको दुरी आकाश झैँ छर्लङ देखिन्छ । गाउँमा तीजलाई दुःख सुख साट्ने अवसरको रुपमा हेरिन्थ्यो। सहरमा गहना प्रदर्शनको उपयुक्त समयको रुपमा लिइन्छ ।

मौलिक पर्व,संस्कृतिको धरोहर र बदलिदो स्वरुप

मौलिक पर्वको रुपमा रहेको तीज संस्कृतिको धरोहरसमेत हो । तर यसको बदलिदो स्वरुपले तीजको मौलिकता माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । उहिलेको तीज साधारण,धार्मिक र पराम्परागत हुन्थ्यो । महिलाहरु धार्मिक गीत गाउने, आफ्ना विरह पोख्ने र माइतीमा गएर आफ्नाहरुसँग रमाउने गर्दछे । सजावट र पहिरनमा धेरै भड्किलोपन हुँदैन थियो । रातो साडि र चुरा पोते लाउँथे । तर अहिले सांस्कृतिक पर्व भन्दापनि बढी मनोरञ्जनको रुपमा लिन थालिएको छ ।

मौलिकता हराउँदै गएको खतरा

पछिल्लो वर्षहरुमा यस पर्वमा केही विकृती देखा पर्न थालेका छन,जसलाई सुधार नगरे यस पर्वको मौलिकता नै हराउने खतरा छ। अहिले भड्किला तीज गीतहरुले प्राथमिकता पाउन थालेका छन् । फेसन र फोटो भिडियोमा बढी ध्यान जान थालेको छ । दर खाने चलनमा आधुनिकता घुसेको छ । होटल,पार्टी र सामूहिक भेट त तीजको अनिवार्यता जस्तै भएको छ । अहिले त तीजमा धेरै फरकपन देखिन थालेको छ । पहिले धार्मिक र मौलिकपन देखिने तीजमा अहिले आधुनिकता थपिएको छ ।  त्यसैले पहिले र अहिलेको तीजमा मौलिक पाटो हराउन थालेको छ । सटिक रुपमा भन्नुपर्दा उहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन भएको छ ।तर आजको समयमा एउटा प्रश्न उठ्छ? हाम्रो तीज वास्तवमै कस्तो भैरहेको छ? विगतमा कस्तो थियो? हाम्रो परम्परा कस्ले जोगाउने? आज यी प्रश्नहरु बारम्बार उठ्छन।तीजको नाममा देखिने विकृति र विसंगतिलाई स्थानीय तहहरुले आफ्ना क्षेत्रमा भएका मौलिक संस्कार र संस्कृतिलाई मञ्चका कार्यक्रमहरुमा प्रतिस्पर्धात्मक ढंगले प्रस्तुत गर्न लाग्नुपर्ने देखिन्छ।यसो त तीजलाई मौलिक संस्कृति,धार्मिक आस्था सामाजिक सद्भाव र आत्मियताको पर्वको रुपमा संरक्षण गर्नुपर्दछ।

तीज हाम्रो समाजको एक महत्वपूर्ण पर्व हो । यसको मौलिकता र महत्वलाई संरक्षण गर्नु हाम्रो मूल दायित्व हो ।

हाम्रो जिम्मेवारी

हामीले तीजलाई देखावटिपनमा होईन धर्म,संस्कृति र सामाजिक एकताको पर्वको रुपमा मनाउनै पर्छ।खासगरी यो पुस्ताको युवायुवतिहरुनै संस्कृति संरक्षणमा जुट्नुपर्छ। मौलिकता जोगाउनु नै हाम्रो पुस्ताको कर्तव्य हो। यो तीजले नयाँ पुस्तामा हाम्रो परम्परालाई जीवित राख्ने जिम्मेवारी बोकेको हुन्छ।

हाम्रो तीज देखावटी होईन,आत्मियताको तीज हो।

हाम्रो तीज फजुल खर्च होईन,संस्कृतिको रक्षा गर्ने तीज हो।

हाम्रो तीज अश्लील गीत होईन,भक्ती र भजनको तीज हो।

लेखक राष्ट्रिय दलित पत्रकार संघ,बाँके शाखाकी सचिव हुन्।

यो पनि पढ्नुहोस्