काठमाडौँ- विश्वकप लिग २ अन्तर्गतको २०२४-२६ सिरिजमा नेपालले आज अन्तिम घरेलु खेल खेल्दै छ।
नेपालले पछिल्ला दुई घरेलु ऋंखलामा राम्रो लय समाते पनि अघिल्ला ऋंखलाहरुको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय विश्वकप छनोट भने सकसपूर्ण अवस्थामा छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ९:३० देखी तालिकाको शीर्षस्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। यो ऋंखलामा नेपालले अमेरिका र स्कटल्यन्डलाई समान १-१ खेलमा हराएको छ। अमेरिकासँग लगातार दोस्रो जित निकाल्ने ध्याउनमा नेपाल रहेको छ।
विश्वकप लिग-२ को यो संस्करणमा नेपालले घरेलु मैदानमा ११ मध्ये ६ खेल जितेको छ। पछिल्लो पटक अमेरिकालाई नेपालले घरेलु मैदानमा हराएको हो। नेपालले सन् २०२३ को विश्वकप छनोटयता अमेरिकालाई पहिलो पटक पराजित गरेको थियो।
आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले कुल ३६ खेल खेल्दा त्यसमध्ये १२ घरेलु मैदान, १२ तटस्थ भूमि र १२ विपक्षीको भूमिमा खेल्ने प्रावधान रहेको थियो। अघिल्लो संस्करणमा भने नेपालले घरेलु मैदानमा खेलेका १२ मध्ये १० खेलमा जित निकाल्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो।
नेपालले जारी संस्करण शीर्ष स्थानमा रहेको अमेरिकालाइ हराएर अंक तालिका सुधारको प्रयास गर्ने छ।
अमेरिका भने नेपालमाथि जित हात पार्दै नेपाल बसाइको सखुद अन्त गर्ने प्रयास गर्ने छ। अमेरिकाको २७ खेलमा ३८ र स्कटल्यान्डको ३२ खेलमा ३८ अंक रहेको छ। तर नेट रनरेटका कारण अमेरिका अगाडि छ।
ओमान २८ खेलमा ३१, नेदरल्यान्ड्स २४ खेलमा २८, नेपाल २७ खेलमा २२ अंकका साथ तालिकामा रहेका छन्। त्यस्तै नेपाल समान नामिबिया २८ खेलमा २२ अंक रहँदा क्यानडा २४ खेलमा २१ र यूएई २४ खेलमा १४ अंक रहेको छ।








