प्युठान।२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा पुराना दलका पुरानै अनुहार र नयाँ पुस्ताका युवा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।यस पटक लामो राजनीतिक अनुभव बोकेका पुराना नेता र पहिलो पटक टिकट पाएका उम्मेदवारबीचको भिडन्त रोचक हुने देखिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५ दलीय गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल र एमालेबाट सुर्य थापालाई उम्मेदवार उठाएको थियो।गठबन्धन संगै मुछिएका नेपाली कांग्रेस प्युठानले आफ्नो उम्मेदवार उठाउन पाएको थिएन।कांग्रेसका नेता तथा पुर्व योजना आयोगका उपाध्यक्ष डा.गोबिन्दराज पोखरेलको चरम असन्तुष्टि साथ बामगठबन्धन सहयोग नगरी सुर्य थापालाई सहयोग गरेको आरोप अहिलेसम्म खेपिरहेका छन्।
गठबन्धनका उम्मेदवारको सामना गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थापाले ०७९ मा पाँच दलीय गठबन्धनलाई तोडेर बिजयी भएका हुन्।उनले कुल ४१ हजार १ सय १८ मत प्राप्त गरेका गरेका थिए।उता जनमोर्चाकी दुर्गा पौडेललाई थापाले ५ हजार ३ सय ४ मतान्तरले पराजय गरि देशै भरका धेरै मत प्राप्त गर्ने एमाले उम्मेदवारको सुचिमा थापा थपिएका थिए।आत्मविश्वासका साथ यस पटक मेरो कुनै दलसँग प्रतिस्पर्धी छैनन् मलाई फेरी प्यूठानी जनताले जिताएर संसद बनाउने ढुक्क भएको उनी बताउछन।
यता २०७४ मा बामगठबन्धनलाई समेत चुनौती दिदै ३१ हजार २ सय ८६ मत प्राप्त गरि दोस्रो स्थान हासिल गरेका डा.गोविन्दराज पोखरेललाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ।वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्।पौडेलले ४७ हजार ५ सय १४ मत प्राप्त गरि बिजयी हासिल गरेको थिइन्।समग्र जेन-जी आन्दोलन पछी जुन युवाहरुको आकांक्षा नपुगेको निराशा छ।त्यो आकांक्षालाई पुरा गर्न चाहिने नीतिगत संरचना र सरकारी संरचनाहरुमा सुधार गर्ने कुरामा जोड दिन उम्मेदद्वारी दिएको पोखरेल बताउछन्।
राष्ट्रिय जनमोर्चाबाट २०७४ सालको स्थानीय तह झिमरुक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका तिलक जिसी यसपटक प्रतिनिधिसभामा पुग्ने लक्ष्यसहित प्रतिस्पर्धामा उभिएका छन्।२०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ जनमोर्चाले ९ हजार ९ सय ५९ मत प्राप्त गरि जिल्लाको चौथो दल बनेको थियो।२०३६ साल देखि बिद्यार्थी आन्दोलनबाट राजनीति यात्रा सुरु गरेको हुँदा जेन-जी आन्दोलनबाट उठेका बेथिति र भ्रष्टाचार अन्त्यको लागि मेरो उम्मेद्वारी दिएको जिसी बताउछन।
२०७० मा तत्कालिन नेकपा माओवादीबाट कृष्णध्वज खड्का प्रतिनिधि सभा चुनावमा पराजय भएपनि २०७४ मा बामगठबन्धनबाट प्युठान क्षेत्र.१मा २७ हजार ९ सय १० मत प्राप्त गरि बिजयी बनेका थिए। लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत बनेका खड्का यतिबेला प्रतिनिधि सभा सदस्यको लागि पुनः मैदानमा उत्रिएका छन्।जेन-जी आन्दोलनबाट त्यस्ता केहि नयाँ अपेक्षाहरु छन् जुन सुशासन, भ्रष्टाचारमुक्त र रोजगारीका निम्ति जुन आवाज उठाएका छन् मुख्यतःयी कुरालाई पुरा गर्ने साथ मेरो उम्मेद्वारी दिएको खड्का बताउछन्।
अघिल्लो निर्वाचनमा समानुपातिक मतको आधारमा जिल्लामा छोटो समयमै पाँचौ दलका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो पटक संघीय निर्वाचनमा सहभागी हुँदैछ।०७९ मा समानुपातिकतर्फ ५ हजार ८ सय ५१ मत प्राप्त गरेको थियो।प्रत्यक्ष तर्फ रास्वपाका उम्मेदवार कृष्ण पोखरेलले ३ हजार ३ सय ११ मत प्राप्त गरेका थिए।यसपटक रास्वपाले नयाँ अनुहारका रूपमा शुसान्त बैदिकलाई चुनावी मैदानमा उतारेको छ।बैदिकसँग लुम्बिनी प्रदेशको अर्थबिज्ञका रुपमा २ कार्यकाल मुख्यमन्त्रीसँग काम गरेको अनुभव पनि छ।बालेन समूहको टिम मार्फत उम्मेदवार बनेका बैदिक बलिया दाबेदारका रूपमा देखिएका छन्।राजनीति सुविधा होइन,जिम्मेवारी हो।पद होईन,सेवा हो।जनताको कर जनताकै हितमा प्रयोग होस् र भ्रष्टाचार,नाताबाद र जवाफदेहीता नहुने संस्कारको अन्त्य गर्न आफुले उम्मेद्वारी दिएको बैदिक बताउछन।
यस पटकको प्रतिनिधि सभामा विभिन्न १२ दल र दुई स्वतन्त्र गरी १३ जना चुनावी मैदानमा उत्रिएका १२ जना उम्मेदवार मध्ये १३ जना पुरुष छन्।जसमध्ये १३ पुरुषलाई चुनौती दिँदै तत्कालीन नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सिता वि.क(सम्झना) सासंदको दौडमा छिन।वि.क नेकपा माओवादीले नेतृत्व गरेको दश वर्षे सशस्त्र जनयुद्धको क्रममा जनमुक्ति सेनाकी बटालियन कमाण्डर थिइन्।यस पटक प्युठानबाट एक महिला उम्मेदवार उभिएकी छिन्।द्वन्द्व, त्याग र राजनीतिक यात्राको लामो अनुभव रहेकाले आफूले संसदमा महिला, दलित र पछाडि पारिएका समुदायको आवाज उठाउने उनि बताउछिन।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार दिएका गोविन्द गिरि यतिबेला सांसद बन्ने दौडमा छन्।करिव ३२ बर्ष नेकपा एमालेमा रहेर जिल्ला सदस्य समेत बनेका गिरि जेन-जी आन्दोलनपछी पार्टी परित्याग गरेका थिए।गिरी स्वतन्त्र उम्मेदवार बन्ने घोषणा सहित जिल्लाको कुना-कुनामा पुगेका छन्।रुपान्तरण, जनताको जनस्तर र श्रमलाई सम्मान गर्नेको लागि आफ्नो उम्मेद्वारी दिएको गिरी बताउछन्।
प्युठानको चुनावी प्रतिस्पर्धा यसपटक अनुभव र नयाँ अपेक्षाबीचको द्वन्द्वजस्तै देखिएको छ।पुराना राजनीतिक अनुहार संगठनात्मक बलसहित मैदानमा छन् भने नयाँ उम्मेदवार परिवर्तन र नयाँ अभ्यासको एजेन्डा लिएर मतदातामाझ पुगेका छन्।मनोनयन दर्तासँगै प्युठानमा चुनावी सरगर्मी बढेको छ।
नौ स्थानीयतह, दुई प्रदेश क्षेत्र र एक संघीय निर्वाचन रहेको प्युठान जिल्लामा १ लाख ६५ हजार ४ सय ६ कुल मतदाता रहेका छन् भने,१ सय ५८ मतदान स्थल र २ सय ३० मतदान केन्द्र रहेका छन्।








