समय : ०३:४६ am | शुक्रबार , असाेज ३० गते २०८२

आगजनी, तोडफोड र लुटपाट गर्ने जेन-जी होइननः मुख्यमन्त्री आचार्य

‘जेन-जीहरूले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य चाहेका हुन्।

स्वर्गद्वारी अपडेट | असाेज १० गते २०८२

नवलपरासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएर प्रभावित भएका कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उनले  अनुगमनलाई निरन्तरता दिएको हो।यसअघि अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देही जिल्लाका प्रभावित कार्यालयहरूको अनुगमन गरिसकेको मुख्यमन्त्री आचार्यले शुक्रबार पश्चिम नवलपरासीका विभिन्न प्रभावित कार्यालयहरूको निरीक्षण गरेको हो। जेन-जीहरूले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट नगरेको स्पष्ट गर्दै मुख्यमन्त्री आचार्यले जेन-जीको नाममा आपराधिक समूहहरूले त्यसको लाभ उठाएको ठहर गरेका  छन्।

विभिन्न कार्यालयहरूको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरेका छन्। ‘जेन-जीहरूले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य चाहेका हुन्।उनीहरूको प्रमुख मुद्दा यिनै थिए।तर जुन प्रकारले अराजकता फैलाउने काम भयो, त्यो जेन-जीको भावना विपरीतको कार्य हो’ मुख्यमन्त्री आचार्यले भने, ‘यो जुन ध्वंस पार्ने काम गरिएको छ, गराइएको छ, यसप्रति घोर आपत्ति छ।‘जेन-जी’को आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण यसअघि सार्वजनिक गरिएको थियो।

आन्दोलनका क्रममा ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा समेत आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्