प्यूठान । प्यूठान नगरपालिका ४ टारी स्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयबाट प्यूठानमा एच.पि.भि. खोप अभियान शुभारम्भ गरिएको छ ।
सोही विद्यालयकी कक्षा १० अध्ययानरत कल्पना परियारलाई खोप लगाउदै अभियानको शुभारम्भ गरिएको हो । पाठेघरको मुखको क्यान्सर विरुद्धको राष्ट्रिय खोप अभियान भएकोले माघ २२ गते देखि देशभर शुभारम्भ भएको छ । प्यूठान जिल्लाका १ सय ५० वटा विद्यालय र ६५ वटा खोप केन्द्रबाट लक्षित वर्गका सबै किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानका नि. प्रमुख मधुसुदन खड्काले जानकारी दिए । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका गरी १३ हजार ७ सय ६३ जनालाई यो खोप लगाइने उनले बताए । खोप अभियान सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।
खोप अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक धरम बहादुर जि.सी.ले खोप अभियान सफल पार्न स्वास्थ्य स्वंयमसेविका, जनप्रतिनिधि, शिक्षक, अभिभावकको मुख्य भुमिका रहने बताए । स्वास्थ्य र शिक्षा भनेको मानव जीवनको मुख्य पाटो भएकाले कुनैपनि किशोरीहरु खोपबाट बञ्चित नहुनका लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
नेपालमा दैनिक ४ जना महिलाहरुले पाठेघर क्यान्सरकै कारण ज्यान गुमाउनु परेको तथ्यांक छ । क्यान्सर न्युनिकरणका लागि यो खोपले मुख्य भुमिका खेल्नुका साथै ३० वर्ष भन्दा माथिका महिलाहरुले स्वास्थ्य चौकीमा भि.आइ.ए. जाँच गरेर समयमै उपचार गर्न सकिन्छ । खोप अभियान शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष रेशम कार्की, जिल्ला अस्पताल प्यूठानका डा. ओम प्रसाद अर्याल, प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो ।