समय : ०५:२७ pm | शनिबार , असार २८ गते २०८२

प्रधानमन्त्रीले स्पेन लगेका मान्छे नफर्किएको विषयमा पनि छानबिन हुनुपर्छ : रास्वपा

स्वर्गद्वारी अपडेट | असार २४ गते २०८२

काठमाडौँ – भिजिट भिषामार्फत मानव तस्करी भइरहेको भन्ने विषयमा छानबिनको माग गरिरहेको रास्वपाले प्रधानमन्त्रीको स्पेन भ्रमणमा समेत त्यस्तै भएको आरोप लगाएको छ।

मंगलबार प्रतिनिधिसभामा रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै हालसालै प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा पनि मान्छे छाडिएको दाबी गरेकी हुन्। सांसद गौतमले प्रधानमन्त्री ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानविन गर्न माग गरेकी हुन्।

ओली असार १६ गतेदेखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना गरेको विकास वित्तसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका थिए।

रास्वपाले उठाउँदै आएको भिजिट भिषा प्रकरणमा छानबिन गर्नका लागि सरकार गम्भिर नभएको भन्दै मंगलबार पनि संसद बहिस्कार गरेको छ।

सांसद गौतमले सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाइन्।

‘स्वयं प्रधानमन्त्रीज्यु जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागि हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन्। यसमा व्यक्ति विषेश हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भिर विषय हो, गौतमले अगाडि भनिन्,

‘सरकारले नेपाली जनताको ज्युधन र अन्तराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भिर विषयमा पनि उच्चस्तरीय छानविन समिति नबनाएर स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ ।’

रास्वपाले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

यो पनि पढ्नुहोस्