समय : १०:३७ pm | बिहिबार , असाेज ३ गते २०८१

रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै झण्डै १० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख १७ गते २०७९
काठमाण्डौ – रोजगारीको लागि दुबई पठाइदिन्छौँ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचोमा बस्दै आएका ३३ वर्षीय विकास तामाङ र त्यही ठाउँका ६० वर्षीय हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाण्डौ बस्ने पाँच जनालाई भिजिट भिसामा यूएई पठाइदिने प्रलोभनमा पारि उनीहरुले ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले प्रतिव्यक्ति एक लाख ९० हजारका दरले रकम उठाएर फरार भएका हुन् । वैदेशिक रोजगार विभागमा आएको उजुरीका आधारमा विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुमध्ये विकासलाई बिहीबार काठमाण्डौको चुच्चेपाटीबाट र हरिबहादुरलाई हिजो ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाइएको छ । पछिल्लो समय भिजिट भिसाको नाममा रोजगारी दिलाइदिने भन्दै ठूलो रकम लिएर एजेण्ट फरार हुने र ठगी गर्ने क्रम बढेको छ । राम्रोसँग बुझेर मात्र वैदेशिक रोजगारीमा जान र एजेण्टको भर नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । एजेण्टमार्फत वैदेशिक रोजगारीमा जानु गैर कानुनी मानिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्