प्युठान।आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्युठानमा ५१.१६९ प्रतिशत मतदान भएको छ।जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ मतदातामध्ये ८४ हजार ७३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकारी पदम डांगीका अनुसार खसेको मतमध्ये महिला ५१ हजार २४२, पुरुष ३३ हजार ३९३ र अन्य १ जना रहेका छन्।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५५.११ प्रतिशत मतदान भएको थियो। यसपटक अघिल्लो निर्वाचनको तुलनामा ३.९४१ प्रतिशत कम मत खसेको हो ।
जिल्लाका १५८ मतदान स्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईंले जानकारी दिए।उनका अनुसार जिल्लाभरका मतपेटिका आज राति ११ बजेसम्म जिल्ला सदरमुकाम खलंगा ल्याउने तयारी छ।








