कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेको हो।
चार भागमा विभाजित यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह र आत्मसम्मानजस्ता विषयमा आधारित ४० वटा कविता समावेश छन्। कार्यक्रममा बोल्दै कुलपति भूपाल राईले रिमा केसीका कवितालाई कानैछेउ भएर सुसेल्दै बग्ने हावाजस्तै मिठासपूर्ण भएको टिप्पणी गरे। कवितालाई मूलतः बोधका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उहाँले केसीका कविता पाठकीय दृष्टिले सक्षम रहेको बताए। सिद्धान्त, शास्त्र र व्याकरणको सीमाभन्दा माथि उठेर ‘बगावतनामा’ले पददलित वर्गको चित्कारलाई कवितामार्फत प्रस्तुत गरेको उनको भनाइ थियो।
राजनीतिक विश्लेषक आहुतिले संग्रहबारे आलोचनात्मक टिप्पणी गर्दै साहित्य समाजका लागि हुनुपर्ने र त्यसमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण अनिवार्य हुने बताउनुभयो। उहाँले मध्यमवर्गीय दृष्टिले अबको समयको वैचारिकी बोकेर अघि बढ्न नसक्ने भन्दै साहित्य श्रमिक वर्गको दृष्टिकोणबाट लेखिनुपर्ने धारणा राखेका थिए।
निबन्धकार तथा पत्रकार दीपक सापकोटाले रिमा केसीलाई समकालीन कविताको गम्भीर स्वरका रूपमा चिनाउँदै प्रेम सधैँ कोमल मात्र नहुने, कहिलेकाहीँ प्रश्न, अस्वीकार र प्रतिरोधसमेत हुने उल्लेख गरे। उनका अनुसार ‘बगावतनामा’ प्रेम र प्रतिरोधको द्वन्द्वात्मक भूमिमा उभिएको कवितासंग्रह हो, जसका कविता सरल भए पनि बोधगम्भीर छन्।
कवि लक्ष्मी मालीले रिमा केसीका कविताले समकालीन साहित्यमा बहस सिर्जना गर्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै समकालीन स्वरमार्फत समाजलाई सही दिशा देखाउने सामर्थ्य रहेको बताईन।
कार्यक्रममा कविहरू स्वप्निल स्मृति, अस्मिता केसी, प्रज्वल अधिकारी, सुरज राना र मीरा जिएमले ‘बगावतनामा’भित्रका कविता वाचन गरेका थिए। इन्डिगो इन्कले प्रकाशित गरेको यस कवितासंग्रहको मूल्य ५४९ रुपैयाँ रहेको छ।
कवी केसी प्युठानकी हुन् उनि लामो समय काठमाडौं बसेर साहित्य क्षेत्र योगदान दिदैं आएकी छिन।








