समय : १२:५७ am | बुधबार , फागुन २६ गते २०८२

माण्डवीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

पिडित परिवारसँग पालिकामा धर्ना कार्यक्रम पुगेको बेला सोही समयमा अध्यक्ष नमराज अधिकारीको निर्देशनमा संरचना भत्काएको ठेडीले बताए।

लव कुमार अधिकारी | पौष २४ गते २०८२

प्युठान।माण्डवी गाउँपालिकाको अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने अभियान अलपत्र परेको छ।गाउँपालिका भित्र बनेको अतिक्रमित संरचना खाली गर्न २०८० चैत्र १४ गते बसेको वैठकले १५ दिने पहिलो सूचना निकालेको थियो।

पुन:दोस्रो पटक गाउँपालिकाले २०८१ चैत्र १५ गते ३५ दिने सुचना प्रकाशन गर्यो।पालिकाको बैठकको निर्णयानुसार गाउँपालिकाको सिमाना लामाचौर देखि बागेखोला क्षेत्रभित्र पर्ने संरचनाहरुको नापजाँच गर्न कार्यालयबाट गत असार ४ गते टोली खटाएको थियो।खटिएका उक्त  अमिन सहितको टोलीले नापजाँच गर्दा ६८ ठाउँका जसमा पक्कि घर, कच्ची घर, टहरा, प्रहरी पोस्ट, बिद्यालय बाउन्ड्री तथा खाजा घर लगायतमा  निर्माण भएको भवनहरु हटाउनु नामावली सहित सुची सार्वजनिक गरेको थियो।  

सुचनामा तोकिएको समय सीमाभित्र समेत अटेर गरी संरचना नहटाएमा वा अतिक्रमित क्षेत्रवाट नहटेमा गाँउपालिकाले नै उक्त संरचनाहरु हटाउने र अतिक्रमित क्षेत्र खालि गर्ने साथै सोको लागि खर्च भएको रकम सम्बन्धित व्यक्ति/संस्थाबाट नै अशुल उपर गरिने व्यहोरा समेत उक्त सुचनामा उल्लेख गरेको थियो।तर अहिले करिव २ वर्ष हुँदा समेत अतिक्रमित जग्गा  खालि गर्ने अभियान अलपत्र परेको छ।

पालिकाले दुई वर्षमा दुई ठाउँको मात्रै अतिक्रमित संरचना हटायो  

पालिकाले करिव दुई वर्षमा दुई ठाउँको मात्र अतिक्रमित संरचना खाली गरेको छ।सोहि पालिकाको वडा–३ मा रहेको बुटवल पावर कम्पनी लिमिटेडको बाउन्ड्री र जस्पुर बजारमा रहेको रेशम बहादुर ठेडीको अतिक्रमित संरचना खालि गरेको  हो।  

गत साउन ४ गते आफुलाई जानकारी नगराई संरचना भत्काईएको पिडित रेशम बहादुर ठेडीले बताए।  

‘२०८० माघ २१ गते पालिकाको जेसिबीले किचेर सोहि पालिकाको वडा -१ तिराम स्थित देबिस्थानडाँडामा स्थानीय ठग बहादुर घर्तीको मृत्यु भएको थियो।’ उनले भने,‘पिडित परिवारलाई तत्काल क्षतिपूर्ति दिने गरि सम्झौता गरिदिए पनि १७ महिनासम्म न्याय पाएका थिएनन्।’ पिडित परिवारसँग पालिकामा धर्ना कार्यक्रम पुगेको बेला सोही समयमा अध्यक्ष नमराज अधिकारीको निर्देशनमा संरचना भत्काएको ठेडीले बताए।‘म उता पिडितलाई न्याएको लागि लड्दा अध्यक्ष अधिकारीले प्रतिशोत साँधेर ब्यतिगत रुपमा मेरो मात्र संरचना भत्काएको हो।’ पालिकाले सार्वजनिक गरेको ६८ जनाको अतिक्रमित संरचना मात्र नभई सबै वडामा बनेको सबैको अतिक्रमित संरचना हटाउनु उनको माग छ।तर मेरो मात्र हटाएको हुँदा न्यायिक प्रक्रियामा जाने समेत स्थानीय ठेडीको भनाई छ।  

सोहि वडाको -३ दारिमचौर स्थित रहेको बुटवल पावर कम्पनी लिमिटेडले २०४५ साल देखि उपभोग गर्दै आएको सार्वजनिक जग्गामा बनेको संरचना खालि गरिदिएको कम्पनीले जनाएको छ।गाउँपालिका र सामुदायिक बन समितिबाट लिखित र मौखिक रुपमा अनुरोध गरेपछी संस्थाले मापदण्ड अनुसार संरचना  हटाई दिएको कम्पनीले जानकारी दिएको छ।

उता माण्डवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले पालिका भित्र अतिक्रमित सार्वजनिक जग्गा पालिकाको निर्णयले मात्र खालि गर्न नसकिने बताए।‘जिल्ला प्रशासन कार्यालय,स्थानीयवासी,राजनीतिक दलका प्रमुख,   अतिक्रमित गरेका संस्था  र ब्यक्ति लगायत सरोकारवालाहरुसँग समन्यव गर्ने हो।’अधिकृत भण्डारीले भने,‘सर्वप्रथम पालिकाले अतिक्रमित जग्गा हटाउने कार्यविधि बनाउनु पर्ने हो।’ पालिका भित्र अतिक्रमित जग्गा र अनियन्त्रित रुपमा निर्माण गरिएको घरटहरो लगायत आगामी दिनमा छलफल र समन्यवको मध्यमबाट टुंगो लगाउने अधिकृत भण्डारी जानकारी दिए।

यो पनि पढ्नुहोस्