प्यूठान । ३० वर्षसम्म पार्टीको झोला बोकेर हिडेका गोविन्द गिरीले अन्तत पार्टी परित्याग गरी ‘राजनीतिमा शुद्धिकरणका लागि जनजागरण अभियान’ सुरु गरेका छन् । जनताका ऐजेण्डालाई पार्टीले स्थान नदिएपछि नेकपा एमाले जिल्ला कमिटि सदस्य पदबाट राजीनामा दिएर स्वतन्त्र नागरिकको रुपमा गिरीले अभियान सुरु गरेका हुन ।
व्यवस्था, संविधान, राजनीतिक दल, सरकार, जेनजी आन्दोलनको मर्म र भावना, निराशा, डरत्रास, पीडा अनि अन्योलमा रहेका जनताालाई शाहस, उत्साह, हौसला सहित देशको वर्तमान राजनीतिक अन्यौलताको अवस्थालाई राजनैतिक निकास दिन जनजागरण अभियान सुरु गरेको उनले बताए । प्यूठान नगरपालिका–४ जुम्रीमा पत्रकार सम्मेलन गर्दै प्यूठान जिल्लाका ९ वटा स्थानिय तह र ६४ वटै वडामा जनजागरण अभियान लगेर पुग्ने बताएका छन् । विद्यार्थीकाल देखि राजनैतिक झोला बोकेर हिडेको बताउदै राजनीतिक स्थिरताका लागि राजनीतिमा शुद्धिकरण अनिवार्य रहेको बताउछन् ।
‘आगामी संसदको मूल लक्ष्य साझा अवधारणको पहिचान गरी संविधान संशोधन नै हुनुपर्दछ ।’ उनले भने–‘भ्रष्ट, चरित्रमा दाग लागेका र धेरैपटक अवसर लिएका नेताहरुलाई तिरस्कार गर्दै नव युवाहरुलाई अवसर प्रदान गर्नुपर्छ ।’ नेकपा एमालेको जिल्ला कमिटि सदस्यसम्म पुगेका उनी पार्टी परित्याग गरेकोमा कुनै पश्याताप नभई सहि समय सही निर्णय लिएको बताएका छन् ।
झिमरुक गाउँपालिका–८ ढाँडमा स्थायी घर भएका गिरीले स्वतन्त्र रुपमा राजनैतिक यात्रा तय गरेका हुन ।