प्युठान।नजिकिँदै गरेका चाडपर्व दसैं, तिहार, छठलाई लक्षित गर्दै प्युठानका छ ‘स्थानमा यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सात स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो।
दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख शम्भु धितालले जानकारी दिए।
चाडबाडका बेलामा बसपार्कमा धेरै सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको ट्राफिक प्रमुख धितालले स्वर्गद्वारी अपडेटलाई बताए।
दर्भान, बडडाडा, जस्पुर, भिंग्री, जुम्री र बाग्दुलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा प्युठानमा ‘यात्रु सहायता कक्ष’स्थापना गरिएको हो।