केशर सुनार
प्यूठान।प्युठानको पर्यटकीय क्षेत्र गौमुखीमा एक लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित गौमुखी भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
"पर्यटन र पूर्वाधार,समृद्धिको आधार" भन्ने मूल नारासहित गौमुखी भ्रमण वर्ष २०८२ को औपचारिक घोषणा समारोह भोलि जेठ १७ गते गाउँपालिकाको सभाहलबाट गर्ने गरी गौमुखी गाउँपालिकाले तयारी गरेको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताए ।
‘हामी भव्यरूपमा गौमुखी भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौ। भ्रमण वर्ष सफल बनाउनका लागि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहने छ,’गिरीले भने।घोषणा समारोहको तयारीका लागि पालिका अध्यक्ष गिरीको संयोजकत्वमा २३ सदस्यीय मुलआयोजक समिति गठन गरिएको छ।
यी समिति तथा उपसमितिमा गौमुखी गाउँपालिका क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।
पर्यटनको माध्यमबाट गौमुखीको आर्थिक एवं सामाजिक विकासका लागि वर्ष भरी गौमुखीको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । गौमुखी गाउँपालिकाको पहलमा पालिकाका ७ वटै वडाबाट पयापर्यटनको दस्तावेज निकालिने छ ।
गौमुखी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम गौमुखीका ७ वटै वडाको प्रतिनिधित्व हुने गरी भ्रमण वर्षको आयोजना हुने गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताए ।पर्यटनको विकाससँगै आर्थिक स्रोतको उपार्जनमा समेत टेवा पुग्ने उपाध्यक्ष रानाले बताए।
पालिका भित्र रहेका गौमुखी गुफा,बाइस मुल झरना,झाक्रिढुङ्गा,रानीताल,रजवारा अर्खा जाेड्ने अग्लाे र लामाे पुल,गाेद्रेचौर,टाेप्रे गुफा लगायतका पर्यटनकीय एवम् धार्मिक क्षेत्रले पर्यटनमा र्क उचाई चुमेसँगै स्थानीयहरुमा रोजगारी सिर्जना हुने र आन्तरिक आय वृद्धि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले बताए।
'गाैमुखी क्षेत्र काे प्रचारप्रसार गर्ने र पर्यापर्यटनकाे माध्यम वाट भ्रमण वर्ष समग्र गाैमुखी क्षेत्रकाे विकासमा काेशेढुङ्गा साबित हुनेछ,' पौडेलले भने।
सबै जातजातीका भेषभुषा ,रहनसहन धर्म संस्कृति र संस्कार,मगर जातीका पहिचान लगायत सबै जातजातीका संस्कृति र परम्परालाई भ्रमण वर्ष मार्फत जोड्दै समृद्ध पालिका निर्माणमा टेवा पुग्ने लक्ष्य राखिएको छ।