समय : ०८:२८ am | शनिबार , श्रावण १२ गते २०८१

गैरकानुनीरुपमा ल्याईएका फोन आजबाट नचल्ने

स्वर्गद्वारी अपडेट | कार्तिक २० गते २०८०

विदेशबाट आफूखुसी ल्याइएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन्। अनौपचारिक रूपमा ल्याएका त्यस्ता मोबाइल सरकारले नेपालमा नचल्ने बनाउन लागेको हो। 

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ।

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो।सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो।

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्।

उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्।

मोबाइल दर्ता हुँदा चोरी, निकासी रोकिने सरकारको बुझाइ छ। अवैध रूपमा भित्रिने मोबाइलबाट राजस्व उठाउन सरकारले नयाँ नियम ल्याउन लागेको हो। लामो समयदेखि यस्तो सिस्टम ल्याउन सरकारको तयारी भए पनि कार्यान्वयन हुन सकिरहेको थिएन।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

अथवा ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page