प्यूठानमा चुनावका लागि ३ हजार सुरक्षाकर्मी परिचालन
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा पालिका चुनावका लागि ३ हजार ६ जना सुरक्षाकर्मी परिचालन भएका छन् । प्यूठानमा नेपाल प्रहरी ७७१ ,शसत्र प्रहरी२८१ ,नेपाली सेना ८०० र म्यादि प्रहरी १२१४ गरि ३ हजार ६ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले बताएको छ ।
जिल्लाका १५१ वटा मतदान स्थलका लागि र त्यसको वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन ।
सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले चुनाव आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाली सेना प्यूठानका १५१ वटै मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ ।
प्यूठानको दश पालिकामध्येमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको ठाउँ, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोबास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको ठाउँमा चुनाव विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।
चुनावलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। चुनावको हरेक मतदान स्थलमा पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।
प्यूठानमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले चुनावभरि पालो दिएर त्यो जनशक्ति पनि चुनावमा खटाइएको छ ।








