प्युठान।स्थानीय तह फोहोर व्यवस्थापनमा कमजोर छन्।कर असुल्ने निकायले फोहोर भने उठाउदैनन्।
स्थानीय तहले फोहोर व्यवस्थापनमा चासो नदिँदा शहरोन्मुख क्षेत्रहरू कुरूप देखिएका छन्।शहर बन्दै गरेका पालिकाहरूमा फोहोर व्यवस्थापनको योजना नै छैन्।फोहोरकै नाममा कर उठाउने पालिकाले फोहोर भने नउठाउने गरेको नागरिकको गुनासो छ।यस्तै कुरुप बन्दै गइरहेको छ प्यूठानको जस्पुर बजार।
जनताले अपेक्षा गरेभन्दा बढी नै सेवा पाइन्छ भन्दै प्रचार गरिएको स्थानीय सरकार फोहोर व्यवस्थापनमा भने कमजोर देखिएका छन्।विभिन्न शिर्षकमा जनताको ढाड सेक्ने गरी कर असुल्दै आएका स्थानीय सरकारले फोहोर व्यवस्थापन गर्न सकेको छैनन्।
माण्डवी गाउँपालिका –३ जस्पुर बजारमै पालिकाको कार्यालय छ तर, बजार आसपासमा फोहोरले डङ्गुर बनेको छ।फोहोर व्यवस्थापनमा स्थानीय सरकारले कुनै चासो नदेखाउँदा बजारबासीले आफ्नो घरबाट निस्केको फोहोरलाई जथाभावी नदी, सडकको किनारमा फाल्न थालेपछि बजार कुरूप बन्दै गएको हो।
जस्पुर बजारको फोहोर व्यवस्थापन लागि पटक-पटक गाउँपालिकालाई अनुरोध गरेपनि पालिकाले बेवास्ता गरेको उद्योग वाणिज्य संघ माण्डवी बजारका अध्यक्ष तुल्सीराम केसीले बताए।फोहोरकै विषयलाई लिएर हामी धेरै पटक पालिकामा गयौ,' उनले भने-फोहोर व्यवस्थापनमा पालिका गम्भीर होला भनेको तर भएन।' जस्पुरबाट दैनिक करिव २ सय किलो फोहोर निस्कने गरेको बताउँदै डम्पीड साइटको व्यवस्था नहुँदा माडी नदीको किनारमै फोहोर फाल्न बाध्य भएको उनले बताए।जस्पुरमा चहलपहल बढ्दै गएको हुँदा जयाभावी फालिएको फोहोरले बजारको सौन्दर्यता कुरुप बन्दै गएको उनको भनाइ छ।पालिकाले करिव ३ महिना जति भयो फोहोर नउठाएको कर मात्र उठाउने फोहोर चाहिं नउठाउने भन्दै अध्यक्ष केसीले आक्रोश पोखेका थिए।
उता माण्डवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव पोखरेलले तिहार लगत्तै तुरुन्तै फोहोर व्यवस्थापन गर्ने बताए।'जस्पुरबासीको गुनासोलाई सम्बोधन गर्न ढिला भएकै हो,' नि.अधिकृत पोखरेल भने-'फोहोर फाल्ने स्थान छनौट नहुँदा समस्या भएको थियो अहिले सम्भावित ठाउँ भेटाइ सकेका छौं।' पालिकाले फोहोर व्यवस्थापन गर्नका लागि पाँच लाख बजेट समेत विनियोजन भएको उनले जानकारी दिए।








