दाङ।दाङको घोराहीमा वडाध्यक्ष र इन्जिनियरसहित नौ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही उपमहानगरपालिकामा कार्यरत इन्जिनियर प्रवीण रावतसहित नौ जनालाई गए राति काठेकोलस्थित एक होटेलबाट नियन्त्रणमा लिइएको हो।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र तीन गड्डी तास बरामद गरिएको छ।
पक्राउ पर्ने अन्यमा घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेज प्रसाद आचार्य रहेका छन्।








